जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि

२०८० भाद्र ६ गते, बुधबार

काठमाडौँ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले ‘जनवादी’ गायक जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा टुहुरेलाई ‘जनगायक’ उपाधि दिने निर्णय भएको जानकारी दिइन् । विभिन्न राजनीतिक आन्दोलनहरूमा गीतसंगीतका माध्यमबाट सेवा गरेकाले टुहुरेलाई उक्त उपाधि दिइएको मन्त्री शर्माले बताइन् ।
प्रगतिशील, जनवादी, क्रान्तिकारी गायकका रूपमा परिचिति जेबी टुहुरेले न्याय समानता र परिवर्तनको पक्षमा उभिँदै जनमत निर्माणका लागि आफ्नो आवाज दिए । माले भूमिगत हुँदा सांस्कृतिक कार्यक्रममार्फत उनले पार्टीका कुरालाई आमजनता माझ पुर्‍याए । जेबीको पूरा नाम जुठबहादुर खड्गी हो। २०२१ मा बुवाको निधनपछि उनी टुहुरो बने । त्यतिबेला उनले आफूलाई वास्तवमै टुहुरो अनुभव गरे । त्यतिखेर ‘निक नेम’ राख्ने चलन पनि थियो । उनले आफ्नो नामको पछाडि ‘टुहुरे’ थपे । त्यसयता प्रगतिशील गायन क्षेत्रमा उनी टुहुरेकै नामैले चिनिए ।
२०२० को दशकदेखि कम्युनिस्ट पार्टीको निकटमा रहेर पार्टी निर्माणका लागि गीत गाउँदै हिँडे उनी । २०६६ मा उनी माओवादीमा प्रवेश गरे । त्यसयता माओवादीका लागि उनले आफ्नो स्वर दिँदै आएका थिए । २०७० मा उनी संविधानसभा सदस्य समेत भएका थिए । क्रान्तिकारी गीत गाएकै कारण उनी कयौंपटक जेल जानुपर्‍यो । उनी तत्कालीन मालेका नेता मात्रै नभई सांस्कृतिक टोलीका नेता पनि थिए । उनले पार्टीको लागि गाउँदै हिँड्दा जीवन गुजाराका लागि कपडा पसलदेखि साग बेच्नेसम्म र किताब पसल तथा होटलसमेत चलाए ।
२०४६ सम्म विराटनगरमा रहेर पार्टीका लागि गाउँदै हिँडेका टुहुरे २०४७ पछि भने काठमाडौं आएका थिए । पाँच दशक प्रगतिशील सांस्कृतिक क्षेत्रमा सक्रिय रहेका टुहुरेका ‘आमा दिदी बहिनी’, ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘आँधी खोलैले’, ‘चौंरी चर्ने ठाउँमा’, ‘छोराहरू हो’, ‘जुनीभरी मुटु’, ‘दु:खको बोझ’, ‘रातको अनिँदो’लगायतका थुप्रै गीत चर्चित छन् ।

२००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे) को २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रियाहरु