मानसपटलमा वीरजङ्ग

उमा सी ‘शिलु’ २०८० भाद्र ४ गते, सोमबार

कैयौँ मानिसको बारेमा लेख्नैपर्ने तर लेखेर पनि नसकिने हुन्छ, त्यसमध्येको एक हुनुहुन्छ वीरजङ्ग । माओवादी जनयुद्धको क्रममा नै हाम्रो भेट भएको थियो । उहाँँसँग एउटै समितिमा रहेर सहकार्य गरेका अनगिन्ती अनुभव र अनुभूति छन् । वीरजङ्ग मेरो मानसपटलमा अमीट छाप बनेर रहनुभएको छ । भौतिकरूपमा रहँदा पनि र नरहँदा पनि उही सम्मान र मूल्य रहेको छ । अरू भन्नुपर्दा, उहाँँको मृत्युपश्चात् उहाँँको आवश्यकता र मूल्यबोध गरेको छु । सायद पार्टी र आन्दोलनमा समेत पनि यो अनुभूति भएको हुनुपर्छ । जन्मनु अनि मर्नु स्वाभाविक प्रक्रिया हो तर भौतिकरूपमा नरहे पनि दुनियाँको लागि पाठ सिकाइरहनु उत्प्रेरित गरिरहनु, अनन्तः मरेर पनि बाँच्न सिकाइरहनु महान् विषय हो । उहाँँ त महान् हुनुहुन्छ । सबै नेता, कार्यकर्ता र जनताबीचमा इमानदार नैतिकवान र लक्ष्यप्रति दृढ भनेर चिनिनुभएको छ । हामी बाँच्नेहरू वीरजङ्ग, बन्न सकौँला कि नसकाँैला गम्भीर बनाएको छ, बन्नुपर्दछ । मैले बुझेको वीरजङ्ग ‘भौतिकरूपमा हट्टाकट्टा, गहुँगोरो वर्ण र अग्लो शरीर हेर्दै खाइलाग्दो, आकर्षक शरीर प्रस्तुति शैली सरल तर कडा झट्ट हेर्दा, रूपलाई हेरेर निष्कर्ष निकाल्दा मानिसहरू सामान्यतया डराउने गर्छन् तर जब उहाँँको वास्तविकता बुझ्छन्, तब उहाँँसँग घुलमिल हुन्छन् । उहाँँको सरलता, मिलनसार स्वभावले मानिसलाई प्रभावित पार्दछ । देखिँदा कडाजस्तो लाग्छ तर व्यवहारमा त्यति नै लचकता भेटिन्छ, जुन व्यवहारले सबैलाई प्रभावित तुल्याएको थियोे ।

म पनि सुरुमा उहाँँदेखि डराउने नै गर्दथेँ । एउटै समितिमा रहँदा पनि म उहाँँलाई सम्मान नै गर्थें, अभिभावक नै ठान्थेँ । उहाँँमा नेतामा हुने गुण थियो । नेता हुनु र नेता बन्नु फरक विषय हो । हुन त नेता हुनलाई नै पार्टीले नेता बनाउँछ तर त्यो मन सही हुँदैन रहेछ । नेता बनाउन चाहेर नेता बन्ने गुण भएन भने नेता नेता हुन नसक्दो रहेछ । वीरजङ्गमा सिक्नुपर्ने गुण विचारमा स्पष्टता, लक्ष्यप्रति दृढता र कार्यान्वयनमा जाँदा इमानदारिता नै हो । वीरजङ्गमा कहिल्यै पनि विचारमा अस्पष्टता मैले अनुभूति गरिनँ । धेरै मान्छे विचार र लक्ष्यबाट विचलित भए । बाटो नै गलत अपनाए । कैयौँले बाटो पत्ता लगाउन नसकेर अल्मलिइरहे, आन्दोलनबाट हराए । कैयौँ सही र गलतबीचको बाटो लिँदा मध्यमार्गी भूमिका पनि खेलिरहे । तर, वीरजङ्ग एउटा आदर्श पात्र हो, जसले विचारको लडाइँँमा कहिल्यै अस्पष्ट हुनुभएन । सही र गलतको लड़ाइँमा सम्झौता गर्नुभएन । प्रचण्ड, वैद्यसँगका सङ्घर्ष साथै, जनयुद्धमा नै पार्टीभित्र हुने विभिन्न प्रकारका सङ्घर्षमा जहिले पनि सहीको पहिचान गरी सहीको पक्षमा सही ढङ्गले उभिनुभयो । जहिले पनि वीरजङ्ग विचारलाई प्रधान बनाइरहनुभयो । जहिले पनि विचारको लडाइँँमा सही पहिचान गरी दृढतापूर्वक लड्ने र अगाडि बढ्ने वीरजङ्गबाट प्रभावित भइरहे । वीरजङ्गमा भएको यो मुख्य गुणले आज वीरजङ्ग वीरजङ्ग बन्नुभयो । आन्दोलनदेखि हिरासत मोर्चा हुँदै मृत्युको घटनासम्मका व्यवहारले यो पुष्टि गरिदिएको छ । ‘वीरजङ्ग’ बग्दै गरेको नदी हो, कञ्चन निश्चल पानीजस्तै हो । वीरजङ्ग सिद्धान्त र व्यवहारको राम्रो तालमेल हो । कैयौँ मानिस दर्शनका ठूला–ठूला विषय कुरा गर्छन् तर व्यवहारमा सामान्य पनि लागू गर्दैनन् । माक्र्सवाद व्याख्या गर्छन् तर व्यवहारमा लागू गर्न सक्दैन । कम्युनिस्टहरू कम्युनिस्ट बन्ने कुरा गर्छन् तर अलिकति पनि बन्न सक्दैन । कम्युनिस्ट हुन्छु भन्ने तर कम्युनिस्ट नहुने, हुन नसक्ने अन्तरविरोधलाई पनि हल गर्नुपर्छ । तर, वीरजङ्ग असल कम्युनिस्ट नेता भन्न म रूचाउछु । उहाँँ जे भन्नुहुन्छ, त्यही गर्नुहुन्छ । सिद्धान्त र व्यवहारबीच राम्रो तालमेल मिलाउनुहुन्थ्यो । सिद्धान्त, आदर्शका ठूला–ठूला गफ गर्ने व्यवहारमा लागू नगर्नेसँग उहाँँको मिलिराखेको हुँदैन थियो, उहाँँ मन पराउनुहुन्नथ्यो ।

उहाँँ कुरामा भन्दा काममा विश्वास गर्नुहुन्थ्यो । वीरजङ्गमा कुनै गुलिया, चिल्ला घुमाउरा लिपिपोती गर्ने स्वाभाव थिएन । कैयौँ यस्ता भेटिन्छन्, मुखले चिल्ला कुरा गर्ने, अगाडि मीठा कुरा गर्ने तर ती त्यस्ता मानिस उहाँँका कहिल्यै मित्र बनेनन् किनकि उहाँँ देखेको स्पष्ट बोल्ने, उसकै अगाडि बोल्ने, छलछाम र षड्यन्त्र नगर्ने हुँदा, छलछाम र षड्यन्त्र गर्ने, अगाडि चिल्ला कुरा गर्ने, पछाडि कुरा काट्ने प्रवृत्ति न त तिनीहरूले राम्रो माने, न त उहाँँले त्यो प्रवृत्ति नै राम्रो मान्नुभयो । त्यसैले वीरजङ्ग भन्नासाथ सिद्धान्त र व्यवहारले राम्रो तालमेल अनि असल नेताको रूपमा लिने गर्दछु । वीरजङ्गमा सिद्धान्त–विचारमा दृढता र व्यवहारमा लचकता थियो । उहाँँमा कडा अनुशासन र सरल प्रशासन थियो । वीरजङ्गलाई मैले धेरै नजिकबाट चिन्ने अवसर पाएँ । युद्ध मोर्चादेखि पार्टीभित्रका प्रायः समितिमा हामीसँगै रह्यौँ । नीति निर्माण गर्दा अहिले पनि जनताको हितमा देशको हितलाई केन्द्रित गर्ने, जनतामा विश्वास गर्ने र मेरो भन्ने विषय विश्वासप्रति तीव्र घृणा थियो । सामूहिक र सामूहिकताप्रति उहाँँलाई विश्वास थियो । उहाँँले त्यसमा निकै जोड दिनुहुन्थ्यो । विचार निर्माणदेखि पार्टी निर्माणका विषयमा वीरजङ्गले निकै जोड दिनुहुन्थ्यो । वीरजङ्गको कार्यशैली निकै सिक्नलायक थियो । पार्टीभित्र चल्ने आत्मालोचनामा पनि उहाँँ कडा ढङ्गले प्रस्तुत हुनुहुन्थ्यो । जनतासँग सम्बन्धमा पनि जनतासँग जोड्ने जोडिने पार्टी माछा जनता पानी हो, ‘पानीबिना माछा रहन सक्दैन’ भने मान्यतालाई जीवन–व्यवहारमा लागू हुन्थ्यो र लागू गर्न जोड दिनुहुन्थो । विचारअनुसार कार्यशैली निर्माण गर्न सधैँँ जोड दिनुहुन्थ्यो । जुन कारण कार्यकर्ता र नेतामा वीरजङ्ग आदर्श बन्नुभएको थियो भने दुश्मनको विरोधीको लागि वीरजङ्ग, आँखाको तारो बन्नुभएको थियो । विरोधीलाई उहाँँ मृत्युमा आफ्नो जीवन देखेको थियो, आज त्यही भएको छ । नेता, कार्यकर्ता र जनतामा उहाँँको अभाव खट्किएको छ, उहाँँको आवश्यकता खट्किएको छ र उहाँँको मूल्यबोध भएको छ ।

वीरजङ्ग क्रान्तिकारी नेता–कार्यकर्ता र जनताको मनमा गुञ्जिएको नाम हो । वीरजङ्ग एक आदर्श हो । क्रान्ति र क्रान्तिकारीहरूले प्रेरणाको स्रोत हो । वीरजङ्गको सारतत्त्व के भन्ने कुरा माओको भनाइले पुष्टि गर्दछ । क. माओ भन्नुहुन्छ, “एकजना कम्युनिस्टले क्रान्तिको हितलाई आफ्नै जीवनसरह भन्ने र आफ्नो व्यक्तिगत स्वार्थलाई क्रान्तिका अधीनमा राख्ने विशाल हृदयको हुनुपर्छ । हृदय एवम् सक्रिय हुनुपर्छ, उसले सधैँँ सिद्धान्तको पालना गर्नुपर्दछ र गलत विचार तथा कार्यहरूका विरुद्ध अथक सङ्घर्ष चलाउनुपर्छ ।” वीरजङ्ग पनि माओको भनाइसँग मिल्दोजुल्दो रहेको छ । वीरजङ्गको मृत्युले नेपाली क्रान्तिकारी जनता र पार्टीमा अपुरणीय क्षति पु¥याएको छ । हामी मर्माहत छौँ तर हामीले हार खाएका छैनौँ । माओ भन्नुहुन्छ, “आखिरमा गएर समाजवादी व्यवस्थाले पँुजीवादी व्यवस्थाको ठाउँ ओगट्नेछ, यो मान्छेको इच्छाभन्दा बाहिरको वस्तुगत नियम हो । प्रतिक्रियावादी इतिहासका पाङ्ग्रालाई पछाडि घचेट्न जतिसुकै कोसिस गरून्, छिटो वा ढिलो क्रान्ति भइछाड्छ र यसले विजय पनि पाइहाल्छ ।” हामी पनि विश्वस्त छौँ । हामीसँग सही विचार, सही नेतृत्व र कार्यनीति छ । दलाल संसदीय व्यवस्था अन्त्य हुन्छ र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुन्छ । हजारौँ वीर सहिद, बेपत्ताले देखेको सपना साथै, वीरजङ्गले यस धर्तीमा बगाएको रगत–पसिनाको लक्ष्य पूरा हुनेछ । क. वीरजङ्गप्रति भावपूर्ण श्रद्धाञ्जली, उहाँँले दिएका विचारहरूलाई आत्मासात् गर्दै निरन्तर क्रान्तिको मैदानमा डटिरहने प्रतिबद्धता जाहेर गर्दछु ।

प्रतिक्रियाहरु