वीरजङ्ग : अविचलित क्रान्तिकारी नेता

शरद ओली २०८० श्रावण १५ गते, सोमबार

नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको नेतृत्वमा सहभागी हुँदै अनवरतरूपमा क्रान्तिमा आफ्नो सम्पूर्ण जीवनलाई समर्पित गर्ने, अथक क्रान्तिकारी नेता एवम् कुशल अभिभावक चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ कम्युनिस्ट आन्दोलनका एउटा स्थापित नाम हो । २०१७ फाल्गुन ७ गते कम्युनिस्ट भूमि रोल्पाको ग्रामीण भेगमा भएको हो । वीरजङ्ग सम्पन्न परिवारमा जन्मिनुभएको थियो । पारिवारिक हिसाबले सम्पन्न परिवारमा जन्मे पनि उहाँँमा क्रान्तिकारी विचार र भावनाले प्रेरित थियोे । आफ्नो सिङ्गो परिवारलाई १० वर्षको महान् जनयुद्धमा सहभागी बनाउँदै, ३ दाजु भाइ नै वर्गीय मुक्ति आन्दोलनमा समर्पित हुनुभयो । क. वीरजङ्गको कान्छा भाइ हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको महासचिव क. विप्लव हुनुहुन्छ । हाल महासचिव क. विप्लव पार्टी, क्रान्ति, देश र जनताको पक्षमा निरन्तर एकीकृत जनकान्तिको नेतृत्व गरिरहनुभएको छ ।

क. वीरजङ्गसँग मेरो पहिलो प्रत्यक्ष भेटघाट २०५७ सालको चैतमा नेकपा (माओवादी) को ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भइसकेपछि पार्टी केन्द्रीय समितिले नयाँ नीति योजना पारित गरेको थियो, जसमा जनयुद्धलाई व्यापक विस्तार गर्न बनेका आधार इलाका प्रचार इलाका, श्वेत–इलाकाहरू थिए । पार्टी केन्द्रीय समितिले आधार इलाकाबाट जनयुद्ध विस्तार गर्न सङ्गठन र जनसेनाहरू पूर्व–पश्चिम फैलाउने योजना बनाएको थियोे, जसमा आधार इलाकाबाट सेना सङ्गठन स्थानान्तरण हुने योजना थियो । २०५७ सालमा नेकपा (माओवादी) को दोस्रो राष्ट्रिय सम्मेलन ‘महान् अग्रगामी छलाङ र इतिहासको अपरिहार्य आवश्यकता’ नामक दस्ताबेज पारित भएको थियो । २०५७ साल चैतमा आधार क्षेत्र रुकुम जिल्लाबाट हामी सङ्गठन र सेना गरी ४२ जना कमरेडहरू विशेष क्षेत्र आधार इलाकासँग जोडिएको जिल्लाहरू बाग्लुङ, म्यादी, मुस्ताङ जसमा ३ जिल्ला जोडिएर एउटै ६ नं. जिल्ला बनेको थियो । हामी धौलागिरी क्षेत्रमा २०५७ सालमा स्थानान्तरण भएर आउँदा क. वीरजङ्ग उक्त ६ नं. जिल्लाको सेकेटरी हुनुहुन्थ्यो । २०५७ को राष्ट्रिय सम्मेलनको भाव सम्प्रेषण कार्यक्रम अगाडि बाग्लुङ जिल्लाको पश्चिमक्षेत्र बोबाङमा कमरेड वीरजङ्गसँग स्वागत तथा परिचय कार्यक्रममा भेट भएको थियो । क. वीरजङ्गको जोशजागर, फुर्तिलो र हँसिलो सबैलाई कन्भिन्स गर्न सक्ने दृढता र क्रियाशीलताले हाम्रो टिमलाई उत्साहित र आकर्षित गरेको थियोे ।

जनयुद्ध र वीरजङ्ग

‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी क्रान्तिको बाटोमा अघि बढौँ’ भन्ने मूल नाराका साथ नेपालमा सामन्ती राजतन्त्रात्मक संसदीय व्यस्थाको अन्त्य गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न दुई विचार, दुई सत्ता, दुई सेनाको अवधारणासहित प्रतिक्रियावादीका राज्यसत्ताको अङ्गमा हमला गर्दै २०५२ साल फागुन १ गते नेकपा ( माओवादी ) ले जनयुद्धको सुरुआत ग¥यो । यद्यपि कमरेड वीरजङ्गले जनयुद्ध हुनुपूर्व नै पुरानो सत्ताको हिरासत, जेल, यातना र धरपकड व्यहोरिसक्नुभएको थियो । साथै, एक दलीय पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षमा पनि महत्त्वपूर्ण भूमिका निभाउनुभएको थियो । वीरजङ्गले आफ्नो जीवनको दौरानमा सरकारी जागिर पनि दुईपटक खानुभएको थियो । क. वीरजङ्गकै भनाइअनुसार काठमाडौँमा नापतौल गुणस्तर विभाग र पछि गाविसको सचिव पनि भएर काम गर्नुभयो । एकातिर सरकारी जागिर, अर्कोतिर देश जनताको क्रान्तिको पक्षमा सधैँ निष्ठावान् भएर अविचलित भएर काम गर्नुभएको थियोे । २०४३ सालमा रोल्पाबाट कपिलवस्तु शिवगढीमा बसाइँ सराइ गरेर सबै परिवार आइसकेपछि पनि शिवगढीमा पार्टीको नेतृत्वमा रहेर जनताको नेतृत्व गर्नुभयो । पार्टी नीतिअनुसार २०४७ मा जनताको मतबाट संयुक्त जनमोर्चाको तर्फबाट शिवगढीको गाविसको अध्यक्षमा निर्वाचित हुनुभयो । अध्यक्ष हुँदा पनि पार्टी, देश, जनता र क्रान्तिप्रति प्रतिबद्ध रहेर निरन्तर क्रियाशील हुँदै अगाडि बढ्नुभयो । कपिलवस्तुका स्थानीय जाली–फटाहाका विरुद्ध आन्दोलनका नेतृत्व गरिरहनुभयो । स्थानीयरूपमा वर्गसङ्घर्षको नेतृत्व गर्दै झुट्टा मुद्दा र गिरफ्तारीको कुनै पर्वाह नगरी दृढतापूर्वक जनताको काममा खटिरहनुभयो । पार्टीले वर्गसङ्घर्षको तयारी पूरा गरिसकेपछि जनयुद्धको सुरुआत भयो । पार्टीको निर्णयअनुसार जनयुद्धको विस्तार गर्न पार्टी काममा सक्रिय हुनुभयो ।

१० बर्से जनयुद्धमा लामो समय धौलागिरीको बाग्लुङ, म्याग्दी र मुस्ताङमा जिम्मेवारी वहन गर्नुभयो, अहिले पनि क. वीरजङ्गलाई धौलागिरीबासी जनता, सहिद परिवार, घाइते कार्यकर्ता सबैले जनताको प्रिय नेता भनेर सम्झन्छन् । क. वीरजङ्गले जनयुद्धको बेला बाग्लुङ, म्याग्दीको जिल्ला पार्टीमा जिल्ला सेक्रेटरी हुँदा उत्पादन गरेका कार्यकर्ता अहिले कोही मन्त्रीदेखि सांसदलगायतका विभिन्न निकायमा पुगेका छन् भने केही कमरेडहरू सहिद हुनुभएको छ त केही कमरेडहरू घाइते हुनुहुन्छ । कतिपय चर्चित कलाकारसमेत छन् भने कतिपय अहिले पनि निरन्तर क्रान्तिका पक्षमा पूर्णकालीन भएर लागिपरेका छन् । जनताको घर–घरमा पुग्ने जनताको मन–मनमा रहने वीरजङ्ग धौलागिरीमा जनयुद्धको नेतृत्व गर्ने र विस्तार गर्ने एउटा कुशल नेतृत्व, कुशल कमान्डरको रूपमा परिचित हुनुहुन्छ । राजनीतिक क्षेत्रमा पनि विशिष्ट क्षमता राख्नुका साथै, फौजी क्षेत्रमा पनि एउटा कुशल कमान्डरको नेतृत्व गर्ने क्रान्तिकारी नेता वीरजङ्गलाई सबैले साहसी, कुशल, निष्ठावान्, इमानदार नेताको रूपमा बुझ्थे । खासगरी, धौलागिरी क्षेत्रलाई जनयुद्धको त्यो उचाइमा पु¥याउने राजनीतिक क्षेत्र र फौजी क्षेत्र दुवैबाट सफल बनाउने नेतृत्व क. वीरजङ्ग हो । स्थानीय जाली फटाहा, सीआईडी, सूदखोरहरू वीरजङ्गको नाम सुन्दा नै थर्कमान हुन्थे । वीरजङ्ग फौजी कारबाहीको पनि नेतृत्व गर्नुभएको थियोे । म्यादीको बाबियाचौर, बाग्लुङको ग्वालिचौर, भिवाखोला, म्याग्दीको बेनी र पाल्पाको तानसेनलगायतका दर्जनौँ ठाउँमा सफलता प्राप्त गराउने कुशल कमान्डर पनि हो । उहाँँ कैयौँपटक घाइते पनि हुनुप¥यो ।

बेनी लडाइँको मोर्चामा २०५९ चैत १९ मा सरकारी फौजको हेलिकप्टरबाट हानेको गोली खुट्टामा लागेको थियो । गोली पचाउँदै त्यसको पर्वाह नगरी भिडन्तमा गम्भीर घाइते कमरेडहरूको उपचार र व्यवस्थापनमा खट्नुभएको थियोे । बेनी भिडन्तबाट फर्कनेक्रममा बाटोका विभिन्न ठाउँमा भिडन्त भइरहेका थिए । कमरेड वीरजङ्ग बेनी भिडन्तमा बटालियन कमिसारको जिम्मेवारीमा हुनुहुन्थ्यो भने म बाग्लुङ जिल्ला पार्टीमा कार्यरत थिएँ । पछि गण्डकका सम्पूर्ण बिरामी कमरेडहरूलाई १ महिना उपचार गराउन म व्यवस्थापनमै खटेको थिएँ । बेनीबाट फर्कनेक्रममा भएको भिडन्तमा हाम्रा केही होनाहार कमरेडहरू सहिद हुनुप¥यो । वीरजङ्ग घाइते हुनुहुन्थ्यो तर आपूm घाइते हुँदा पनि अभिभावकको जिम्मेवारी निर्वाह गरिरहनुभएको थियो । पार्टी केन्द्रको ढाडमा टेकेर टाउकोमा हान्ने केन्द्रीय योजनाअनुसार ८० प्रतिशत भूगोल, जनसत्ता र जनसेनाको नियन्त्रणमा थियोे भने बाँकी २० प्रतिशत सहर र सदरमुकाम प्रतिक्रियावादी सत्ताको थियो । बाँकी २० प्रतिशत भूगोललाई समेत नियन्त्रणमा लिन काठमाडौँको केन्द्रीय सत्ता कब्जा गर्न सहरमा केन्द्रित हुने र विस्तार हुने योजना आयो । क. वीरजङ्ग सेनाको जिम्मेवारीबाट २०६१ सालमा रूपन्देहीको जिल्ला इन्चार्जको जिम्मेवारीमा सरुवा हुनुभयो र म पनि बाग्लुङबाट स्थानान्तरण भएर पाल्पा, रूपन्देही आएसँगै फेरि राजनीतिक मोर्चा र फौजी मोर्चामा झनै नजिकबाट सहकार्य गर्ने अवसर मलाई प्राप्त भएको थियोे । लगत्तै, शान्ति सम्झौता भइसकेपछि म पनि रूपन्देहीमै स्थानान्तरण भएर जिल्ला समितिमा कार्यरत थिएँ । क. वीरजङ्ग रूपन्देही इन्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो । १० वर्षको जनयुद्धको राजनीतिक मोर्चा र फौजी मोर्चामा लामो सहकार्य र धेरै कुरा क. वीरजङ्गबाट मैले सिक्ने अवसर प्राप्त गरेको थिएँ ।

राजनीति तथा वैचारिक नेता

माक्र्सवाद–लेनिनवाद–माओवादको सिद्धान्तलाई आत्मासात् गर्ने र मालेमावादलाई नेपाली मौलिकतामा प्रयोग गर्नुपर्छ र नेपालमा तथा जनवादी राज्यसत्ता वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्छ भन्ने अडान क. वीरजङ्गमा थियो । वैचारिक र राजनीतिक दृष्टिकोण स्पष्ट हुनुहुन्थ्यो । २०५९ मा धौलागिरीबाट स्थानान्तण भई जनमुक्ति सेनाको बटालियन कमिसार हुनुभयो । जनमुक्ति सेनामा करिब तीन वर्ष कमिसार भइसकेपछि २०६१ सालमा रूपन्देहीको इन्चार्जका जिम्मेवारीमा हुनुहुन्थ्यो । लगत्तै पार्टीले राज्य समितिको अवधारणा ल्याएपछि अवध राज्य बनेपछि कपिलवस्तुको जिल्ला इन्चार्च हुँदै पहिलो सविधानसभा २०६४ मा कपिलवस्तुबाट उम्मेदवार भई चुनाव लड्नुभएको थियो । निर्वाचनमा उहाँँ थोरै मतान्तरले पराजित हुनुभएको थियो । कपिलवस्तुको जिम्मेवारीमा रहँदै २०६९ मा अवध राज्यको तर्फबाट नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्यो । जतिबेला नेकपा माओवादी थियोे । २०७१ नयाँ पार्टी नेकपा माओवादी बनेपछि एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि बढिसकेपछि लुम्बिनी ब्युरोको इन्चार्ज हुँदै पीबीएम तथा पश्चिम कमाड इन्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

राजनीतिक क्षेत्र र फौजी क्षेत्र दुवैबाट जिम्मेवारी पूरा गर्दा राप्ती, धौलागिरी, लुम्बिनी र गण्डकीका जिल्लालगायत विभिन्न जिल्लामा कार्यक्षेत्रमा भएर महत्वपूर्ण भूमिका निभाउनुभयो । क. वीरजङ्ग कुशल सङ्गठकको रूपमा परिचित हुनुहुन्थ्यो । नरम जनशैली, लचक, व्यवहार, चुस्त कार्यशैली, जनसेवा, जनश्रममा सहभागी हुने प्रतिबद्ध नेता हुनुहुन्थ्यो । जनता, कार्यकर्ता, विद्यार्थी, शिक्षक, बुद्धिजीवी विभिन्न तह र तप्काका जनताको मानिसलाई प्रभाव पार्ने क्षमता थियो । पार्टीबाट आएको योजनाहरू, नीतिहरू, बैठकहरू, भेला, सम्मेलनहरू जनसभाहरूमा पार्टीको धारणाहरूलाई व्यक्त गर्न सक्ने कुशलता पनि थियो । वर्गप्रति इमानदार हुनुहुन्थ्यो । नेपाल कम्युनिस्ट आन्दोलनमा धोका, गद्दारी, विसर्जन, दक्षिणपन्थी संशोधनविरुद्ध खरो उत्रिनुहुन्थ्यो । उहाँँले वर्तमान दलाल पुँजीवाद संसदीय व्यवस्थाका अन्त्य सङ्घर्षबाट एकीकृत जनक्रान्तिबाट भएर छाड्छ भन्नुहुन्थ्यो । सुधारवादी बाटोबाट होइन भनेर सधैँँ हामीलाई प्रशिक्षित गरिरहनुहुन्थ्यो ।

अन्तरसङ्घर्ष र पार्टी निर्माणमा वीरजङ्ग

२०६२ मा चुनबाङ बैठक सम्पन्न भइसकेपछि पार्टीले अन्तरिम सरकार, संविधान र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अगाडि बढ्ने निर्णय भयो । प्रचण्डको दस्ताबेजमा हामी लोकतान्त्रिक गणतन्त्रमा टेकेर जनवादी गणतन्त्रमा जान्छौँ, बुर्जुवाहरू बुजुर्वा गणतन्त्रतिर लैजान चाहन्छन् भन्ने थियो । अन्ततः जनवादी गणतन्त्रतिर नगएर पुरानै नाम भएको संसदीय बुर्जुवा गणतन्त्र र संविधानसभाबाट जनताको जनसंविधान निर्माण पनि पनि भएन । झन् पार्टी शान्तिप्रक्रियामा २०६३ मा समावेश भई १२ बुँदे, ८ बुँदे शान्ति सम्झौता र सेना समायोजनसहितको गलत कदम प्रचण्डले चालिसकेपछि क. वीरजङ्गले उक्त प्रक्रियाको विरोध र हामीलगायतले प्रचण्डको जनयुद्ध विसर्जन गर्ने आत्मसमर्पणवादी प्रवृत्तिका विरुद्ध लड्यौँ । खासगरी, २०६५ को खरीपाटी भेलाबाट पार्टीभित्रको अन्तर्सङ्घर्षको सुरुआत भएको थियो । प्रचण्डको राजनीतिक–वैचारिक विचलनविरुद्ध सङ्घर्ष सुरु भयो । साथै, बालाजुको पाँचौँ विस्तारित बैठकसम्म आउँदा सङ्घर्ष चर्कंदै गएको थियो । २०६६ सालमा पालुङटारमा भएको छैटौँ विस्तारित बैठकमा ३ वटा दस्ताबेज आएका थिए । कमरेड प्रचण्ड, कमरेड किरण र बाबुरामको ३ दस्ताबेजमध्ये क. वीरजङ्गलगायत अवध राज्यको बहुसङ्ख्यक नेता–कार्यकर्ताले कमरेड किरणको दस्ताबेजलाई समर्थन गरेका थियौँ ।

पार्टीभित्रको अन्तर्सङ्घर्ष उत्कर्षमा पुगेको थियोे । प्रचण्ड–बाबुरामले जनमुक्ति सेनाको विघटन गरेपछि २०६९ असार २ गते एमाओवादीबाट सम्बन्ध–विच्छेद गर्दै किरणले नेतृत्व गरेको नेकपा–माओवादी गठन गरिएको थियोे । अन्तर्सङ्घर्षको र पार्टी निर्माणमा क. वीरजङ्ग खरो रूपमा उत्रिनुभएको थियो । २०६९ पुसमा ७ औँ महाधिवेशन सम्पन्न भयो । क. किरणको नेतृत्वमा २ वर्ष पार्टी चल्यो । यो अवधिभरमा पनि पार्टीभित्र चरम अन्तर्सङ्घर्ष चलिरह्यो । क. किरणको नेतृत्व भइसकेपछि क्रान्तिको नेतृत्व र क्रान्तिको पहलकद्मी, क्रान्तिको ठोस तयारी नभई सकेपछि मूल नेतृत्व नै अन्योल र अकर्मण्यतामा फसिसकेपछि २०७१ मङ्सिरमा क. किरणसँग सम्बन्ध–विच्छेद गरी पार्टी अलग भएको घोषणा भयो । २०७१ पुसमा सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अगाडि बढ्यो । कमरेड वीरजङ्गले विप्लवको नेतृत्वमा अगाडि बढेको एकीकृत जनक्रान्तिभित्र देखिएको अवसरवाद, संसद्वाद, दक्षिणपन्थी संशोधनवाद र दलाल पुँजीवादविरुद्ध सशक्तरूपमा प्रस्तुत हुने नेता हुनुहुन्थ्यो ।

कमरेड वीरजङ्गबाट सिक्नुपर्ने विशिस्ट गुणहरू

वैचारिक तथा राजनीतिक दृष्टिकोणमा प्रस्ट माक्र्सवाद लेनिनवाद–माओवाद र विचार सिद्धान्तप्रति दृढ कुशल सङ्गठक, निणर्यमा दृढता, व्यवहारमा लचकता साहसी सहीलाई सही र गलतलाई गलत भन्ने प्रस्ट वक्ता सहनशील, धैर्यता, सम्झौताहीन सङ्घर्ष गर्ने एक कुशल अभिभावक, सादा जीवन, उच्च विचार वर्गदुश्मनप्रति घृणा गर्ने, वर्गसङ्घर्षमा प्रतिबद्ध हुने इमानदारिता, सरलता, पारदर्शी, निःस्वार्थी, सहयोगी र सामूहिकतामा खुसी हुने ठोस परिस्थितिको ठोस विश्लेषण गरी वस्तुवादी योजना निर्माण गर्ने र कार्यान्वयनमा जाने र परिणाम ल्याउने पार्टी, क्रान्ति, देश, जनताप्रति सधैँँ वफादार र निष्ठावान् निरन्तर सक्रियता, क्रियाशीलता, जुझारु, लडाकुपन भइरहनु असल कम्युनिस्टमा हुनुपर्ने गुणहरू– नैतिकतावान्, आदर्शवान्, धैर्यता, सहनशीलता र नम्र बोल्ने जनप्रिय नेता

संवाद र अन्तिम भेट

क. वीरजङ्गसँग २०५७ सालमा भौतिक रूपमा चिनजान भएपछि राजनीतिक यात्रामा करिब २१ वर्ष सहकार्य भयो । मैले वीरजङ्गलाई बाग्लुङ हुँदै पार्टी नेताका साथै, हाम्रो अभिभावकको रूपमा बुझेपछि १० वर्षको जनयुद्धमा राजनीतिक मोर्चा र फौजी मोर्चामा उहाँँसँग लामो सहकार्य झनै सहजै जस्तो भयो । शान्तिप्रक्रिया पार्टीभित्रको अन्तरसङ्घर्षमा उहाँकै सल्लाहमा सहयोगी भइयो । सधैँँ अवसरवाद, पलायनवाद, हीनता, निरार्थ र संशोधनवाद, विभिन्न र क्रान्तिविरोधी प्रवृत्तिविरुद्ध लड्न सधैँँ प्रेरित गर्नुहुन्थ्यो । हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाइसकेपछि पश्चिम कमान्ड इन्चार्ज हुँदा राप्ती ब्युरोको बैठकमा सहभागी भएको बेला केपी आली नेतृत्वको सरकारले गिरफ्तार ग¥यो । पहिलेदेखि नै मुटुको समस्याले नियमित औषधी खाइरहनुहुन्थ्यो । धेरै पटक अस्पतालमा उपचारका लागि उहाँँसँग सहयोगी बनेर गएको छु । दाङको पक्राउपछि विभिन्न जिल्लामा घुमाएर काठमाडौँ, चितवन, परासीलगायत दर्जनौँ जिल्लाका जेल–हिरासतमा राखियो । कोभिड महामारीमा उहाँँलाई कोभिडको बिरामी पनि हुनुभयो तर राज्यले उपचारमा कुनै वास्ता गरेन । स्वास्थ्य अवस्था झनै बिग्रिँदै गयो ।

मैले २०७८ चैत ४ गते चितवन कारागारमा गएर भेटेको थिएँ । स्वास्थ्यमा सुधार भएको कुरा राख्नुभएको थियोे । मैले पार्टीको स्थिति, ३ बुँदे सहमतिलगायतको अवस्थाको बारेमा जानकारी गराएँ र स्वास्थ्यलाभको कामना र विशेष ख्याल गर्न अनुरोध पनि गरेको थिएँ । वीरजङ्ग केही दिनपछि परासी कारागारबाट छुट्नुभयो । लगत्तै, म उहाँँको घर कपिलवस्तु शिवगढी भेटघाट गरी रिहाइको लागि बधाई दिएँ । उहाँँले त्यो भेटघाटमा स्वास्थ्य अवस्था धेरै सुधार नभएको कुरा गर्नुभएको थियो । आदरणीय नेता वीरजङ्ग आफ्नो जीवनकालमा दर्जनौँपटक गिरफ्तार, जेलनेल भोगेर पनि नझुक्ने बलियो अडान भएका व्यक्तित्व हो । पछि उहाँँकै निवास शिवगढीमा भेट्दा “बुटवलमा उपचारमा जानुपर्ला शरदजी” भन्नुहुन्थ्यो । पछिल्लोपटक चेकअपमा आउँदा उहाँँको ज्वरो रोकिएको थिएन । मैले नै क्रिमसन अस्पताल मणिग्राममा मुटुरोग विशेषज्ञसँग चेकअपका लागि लिएर गएको थिएँ । डाक्टरले मुटुका नली बन्द भएको छिट्टै अप्रेसन गर्नुपर्छ भनेर सल्लाह दिएको थियो । त्यसलगत्तै मेरो घरमै (बुटवल ६) मा ३ दिनसँगै बस्यौँ । राजनीतिक, पारिवारिक छलफल तथा कुराकानी भए । बाग्लुङका कार्यक्षेत्र हुँदा प्रायः धेरै सेल्टर हुने घर मेरो ससुराली घर सासु, ससुरासँग फोनमा बाग्लुङ जिल्लाका स्थापित नेता भीम घर्ती ‘कमरेड दारुण’ मेरो साहिँला जेठान हुनुहुन्थ्यो, जो बेनी लडाइँँमा सहिद हुनुभयो । हामी दुईबिच स्वास्थ्य सुधार भएपछि बाग्लुङ जाने सल्लाह पनि भयो । मैले उपचारलाई छिटो अगाडि बढाउनुपर्ने सुझाव दिएँ र, “छिट्टै उपचारमा जानुहोस् वीरजङ्ग सर” भनेको थिएँ ।

तेस्रो दिनमा कपिलवस्तु घर जानुभयो । घरतिर गएर सर–सल्लाह गरेर काठमाडौँ उपचारका लागि जाने सल्लाह भयो । पछि उपचारको लागि काठमाडौँ हस्पिटलमा झन्डै एक महिना उपचारमा लाग्नुभयो तर मैले फोनमा कुरा गर्दा सुधार नभएको खबर गर्नुभयो । मैले “सुधार हुन्छ सर, निको हुन्छ, नआत्तिनु होला सर” भनेको थिएँ । पछि थप उपचारको क्रममा दिल्ली जाने सल्लाह भयो । भीडीओ कलमा कुरा भइरहन्थ्यो । पछि दिल्लीस्थित म्याक्स हस्पिटल जानुभयो । त्यहीँबाट भीडीओ कलमा कुरा भइरहन्थ्यो । मुटुको अप्रेसन भइसकेपछि पनि उहाँको स्वास्थ्य सुधार हुन सकेन । उपचारकै क्रममा २०७८ असोज २८ गते उहाँको अकल्पनीय निधन भयो । हामी सबै स्तब्ध भयौँ ! मनमनै भन्यौँ– तपाईंका बाँकी र अधुरा कार्य पूरा गर्नेछौं ।

प्रतिक्रियाहरु