कमरेड वीरजङ्ग ः विचार र व्यवहारका मिसाइल

प्रकाश सी २०८० असार २५ गते, सोमबार

हाम्रो पहिलो भेट २०७१ मा युवा सङ्गठनको थबाङ अभियान समापनमा बुटवलको रातो घरमा भएको थियो । त्यतिबेला अत्यधिक चर्चामा थियो रातोघर, त्यो यसकारण पनि कि हाम्रो पार्टीले संशोधनवादका विरुद्ध विद्रोह गरेको थियोे भने जडसूत्र र अकर्मण्यताका विरुद्ध आपूmलाई तयार गर्दै थियो । पश्चिम नेपालका अधिकाश राजनीति–वैचारिक प्रशिक्षणहरूको अगुवाई बुटवलस्थित यही रातोघर गरेको थियो, जसको नेतृत्व त्यतिबेलाको लुम्बिनी ब्युरोका आदरणीय नेता, पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी इन्चार्ज कमरेड वीरजङ्गले गर्नुभएको थियो । अभियान समापनका क्रममा पार्टी सचिव (वैद्यमा हुँदा) कमरेड विप्लवले भन्नुभएको थियो, “हाम्रो पार्टीले अब संशोधनवाद र अकर्मण्यताविरुद्ध विद्रोह गरी नेपालमा नयाँ क्रान्तिको सुरुआत गर्नेछ, जसको नेतृत्व नेपालका नयाँ पिंढी युवाहरू गर्नुपर्नेछ ।” दर्शन दीर्घाबाट जोडदार ताली बजेको थियो । हामी हौसिएका थियौँ । उक्त कार्यक्रमको अध्यक्षता कमरेड वीरजङ्गले गर्नुभएको थियो । उहाँ भन्नुहुन्थ्यो, “जनताको जीवन नबुझ्ने राजनीतिको काम छैन । त्यसैले पार्टीले जनताको जीवन बुझ्नुपर्छ । नेतृत्वले बोलीअनुसारको व्यवहार बनाउनुपर्छ । व्यवहारबाट कटेको राजनीति हाम्रो वर्गको राजनीति होइन, यसले भ्रम मात्र पैदा गर्दछ । यसमा विशेषतः युवापुस्ता सचेत हुने पर्छ ।” उहाँको कुरा सुनेर हामी प्रफुल्ल भएका थियौँ । ती दिनहरू आजै जस्तो लाग्छ । करिब ९ वर्ष भएछ, त्यो पहिलो भेट भएको पनि । त्यसो त वीरजङ्ग नाम हामीले जनयुद्धदेखि नै सुनेको लोकप्रिय नाम हो । जनयुद्ध–पूर्व गाविस अध्यक्ष भएकोलगायत उहाँका अनेक पहिचानबारे कुराहरू हुन्थे । भौतिक भेटघाटपछि भने हामी अझ नजिक हुने अवसर पाइयो । त्यसो त कमरेड वीरजङ्ग र हाम्रो घरको दूरी मात्र ४० किलोमिटरको फरक हो । उहाँ कपिलवस्तु हामी दाङको भालुबाङ, कामको सन्दर्भले पछिल्लोपटक हाम्रो भेट अलि धेरै नै हुन्थ्यो । सबै भेटघाट अति आत्मीय र प्रेरणादायी हुन्थे, विचार र व्यवहार सबै दृष्टिकोणले ।

विद्यार्थीको दाङ सम्मेलनपछि हामी नेतृत्वमा आयौँ । म सङ्गठनको महासचिव भएँ । हामी अध्यक्षसहित पदाधिकारी दोस्रो पूर्ण बैठक पहिलोपटक नवलपुरको गैंडाकोटमा बैठक बसेका थियौँ । आदरणीय कमरेड वीरजङ्गले हामीलाई समसामयिक वस्तुअवस्था र युवा–विद्यार्थीहरूको भूमिकाबारे निकै महत्त्वपूर्ण धारणासहित प्रशिक्षित गर्नुभएको थियो । मुख्यतः चितवन सम्मेलनपछि विभाजितजस्तो रहेको सङ्गठनको सेट दाङ सम्मेलनपछिको दोस्रो बैठकपछि केही व्यवस्थित भएको थियो । सङ्गठनमा यो किसिमको एकता आउनुमा पार्टी नेतृत्वको भूमिकाका साथै, लुम्बिनी ब्युरो र लुम्बिनी पार्टी नेतृत्व आदरणीय वीरजङ्गको अहम् भूमिका रह्यो, जसलाई हामी सदा स्मरण गर्नेछौँ । उहाँसँगका अनेक सन्दर्भ छन्, जसले हामीलाई हरेकपटक उत्साहित गरेको छ । अलि पहिले २०७२ को बेला हामी सङ्गठनको मेची–महाकाली अभियानमा नवलपरासीबाट जोडिएका थियौँ । उहाँले अभियानलाई नजिकबाट परिचालन र अनुगमन गर्नुभएको थियो । हाम्रा सकार र नकार पाटामा रचनात्मक आलोचना गर्नुहुन्थ्यो, जसले हामीलाई रूपान्तरणका लागि मद्दत गर्दथ्यो । हामीले उहाँबाट धेरै सिक्यौँ । त्यसकारण उहाँ हाम्रो असल अभिभावक हुनुहुन्थ्यो । नेता हुनुन्थ्यो । म उहाँलाई सम्मानसहित हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु । उहाँले अभियानको क्रममा हामीलाई दिनुभएको अभियान ड्रेस अहिले पनि सुरक्षित राखेको छु ।

सङ्गठनको दोस्रो बैठकको निर्णयअनुसार हामी देशव्यापी ब्युरोहरूको बैठकमा गएका थियौँ । हामी लुम्बिनीमै भएकाले पहिलो ब्युरो बैठक लुम्बिनीको ग¥यौँ । बैठकमा हामी देशव्यापी जाने योजनासहित पेश भएका थियौँ । हामीसँग प्रशस्त चुनौती थिए । केही अफ्ट्यारा पनि झेल्दै थियौँ । आदरणीय वीरजङ्गको प्रमुख आतिथ्यतामा बसेको बैठकले हामीलाई नयाँ मार्गनिर्देश गरेको थियो, जसले गर्दा हामीलाई आगामी बैठकहरूमा सबै हिसाबले सहज वातावरण बन्दै गएको थियो । उहाँ भन्नुहुन्थ्यो, “आज क्रान्तिकारीहरूको दुश्मन भनेको गतिहीनता हो, अकर्मण्यता हो । यसमा युवापुस्ता सचेत हुनुपर्छ । युवा–विद्यार्थीहरूले पार्टीलाई सबै क्षेत्रमा सहयोग गर्ने गरी सोच्नुपर्छ ।” उहाँमा बोली र व्यवहारको गज्जबको तालमेल देखिन्थ्यो । जनताको घर जाने जनताका सुखदुःखमा साथ दिने स्वभावका कारण लुम्बिनी क्षेत्रमा उहाँको लोकप्रियता असाधारण थियो । कैयौँपटक हामीले सँगै जनताका घर खाना खाएका छौँ । जनताको दैनिकीमा जनता जस्तै बनेर साथ दिन सक्ने कमरेड वीरजङ्गको बेजोडको विशेषता थियो । कपिलवस्तुका चुरेमुनि धेरै गाउँहरूमा प्रतिबन्धका बेलाहरू गएका थियौँ । सालघारीमा पाइने च्याउ र जिब्रेसागको उहाँ अत्यन्त पारखी हुनुन्थ्यो । फुर्सदको समयमा गाउँलेसँग जङ्गल गएर च्याउ जिब्रेसाग पनि खोज्नुहुन्थ्यो । बडा मिजास, खासमा जनताले कमरेड वीरजङ्गलाई आफ्नो नजिकको अभिभावक मान्दथे । हामीलाई पनि उहाँको उपस्थितिले एउटा छुट्टै किसिमको आत्मविश्वास पैदा गर्दथ्यो ।

थुप्रैपटक उहाँसँग दाङका पहाडहरूमा हामीसँगै हिंडेको छु । यात्रा गर्दा उहाँ कथाहरू सुनाउनुहुन्थ्यो । आफ्नै परिवेश र अनुभवका धेरै हाँसोमजाक गर्न रुचाउने स्वभाव कारण उहाँका धेरै गतिविधिलाई कतिपय कार्यकर्ता कमरेडहरू किस्साजस्तो बनाएर सुनाउनुहुन्थ्यो । माछा मासु भनेपछि साह्रै हुरुक्क हुने आदरणीय वीरजङ्गलाई बिरामी परेको बेला डाक्टरले धेरै माछा मासु नखानू, खानै परे एक–दुई पिस मात्र खाए हुन्छ भने छ, उहाँलाई त्यो ठिकै लाग्यो । सायद मासुपसल गएर पसलेलाई एक केजी मासु अलि ठूला पिस बनाइदिन भन्नुभएछ । त्यो दुई पिस मात्र खाएको भनेर बेला–बेला रमाइलो गर्नुहुन्थ्यो । उमेरले ६० कटे पनि जोश युवाहरूको जस्तो थियो । बिहानै उठेर नियमित व्यायाम गर्नु दैनिकी थियो । हामी समग्रमा कमरेड वीरजङ्गबाट पार्टी आन्दोलन धेरै काम सिक्यौँ । उहाँका विचारबाट निरन्तर प्रशिक्षित भयौँ । उहाँको सङ्गतले जनतासँग पार्टी र नेताको कस्तो व्यवहार हुनुपर्छ भन्ने कुरा बुझ्यौ । प्रतिबन्धकै बेला कमान्डस्तरीय प्रशिक्षणमा सहभागी हुने अवसर मिलेको थियो । पार्टी महासचिवदेखि सचिवालयका कमरेड कञ्चन र विषमलगायत नेताहरू उपस्थितिमा भएको भव्य प्रशिक्षणमा आदरणीय नेता वीरजङ्गले गम्भीरतापूर्वक भन्नुभएका विषय मैले नोट गरेको छु । उहाँ भन्नुहुन्थ्यो, “क्रान्तिमा निर्माण र ध्वंस अनिवार्य छ । यो एउटा प्रक्रिया अगाडि बढिरहन्छ । हामी वर्गसङ्घर्षमा मात्र दृढ भएर हुँदैन, आम सङ्घर्षमा पनि दृढ हुनुपर्दछ । जिवन्त रिपोर्टहरूले योजना निर्माणमा सहयोग पुग्दछ । निस्फिक्री हाम्रो जीवनको दुश्मन हो, पार्टी निर्माणको कामलाई प्राथमिकतामा राख्नुपर्दछ । पार्टीले खटाएको ठाउँमा नजानेलाई एक तह घटाएर काममा लगाउनुपर्दछ । सङ्घर्षबिनाको सङ्गठनको काम हुँदैन ।” यी हेर्दा सामान्य लाग्ने वाक्यहरूमा पार्टी, आन्दोलन र हाम्रो भविष्य लुकेको छ । यसबाट युवाहरू धेरै सिक्नुपर्ने देखिन्छ । राप्ती ब्युरोको बैठकको बेला गिरफ्तार परेपछि दलाल राज्यका शासकहरू उहाँलाई निर्मम यातनासहित देशभर घुमाए । उच्च रक्तचापका बिरामी आदरणीय नेता वीरजङ्ग पछिल्लो समय केही अस्वस्थ हुँदै जानुभयो । आदरणीय पार्टी महासचिवको आफ्नै दाजु भएकाले पनि होला, राज्य कमरेड वीरजङ्ग यातना दिएर महासचिवलाई दबाब दिन चाहन्थ्यो तर क्रान्ति निरन्तर अगाडि बढ्दै गयो । राज्य आफ्नै आन्तरिक अन्तरविरोधका कारण सङ्कटग्रस्त भयो र आफ्नो बाध्यता र हाम्रो देशव्यापी प्रभावका कारण हाम्रो पार्टी र सरकारबीच ३ बुँदे सम्झौता भयो तर राज्य सम्झौतामा इमानदार नभएका कारण अदालती प्रक्रियाबाट कमरेड वीरजङ्ग जेलमुक्त हुनुभयो ।

बिरामी अवस्थामा जेलबाट निस्कनुभएका उहाँलाई बाहिर ज्वरोले लामो समय थाला पा¥यो । उपचारका लागि काठमाडौँ आएपछि हामी ग्रान्डी हस्पिटलमा भेट्न गयौँ । सबै चेकहरू गर्दा सामान्य देखिए पनि उहाँलाई पुनः ज्वरो बल्झियो । उहाँलाई फेरि सिभिल हस्पिटल, बानेश्वरमा भर्ना गरियो । लामो उपचार गर्दा पनि के भएको जानकारी हुन सकेन । हामी उहाँकै उपचारका लागि परामर्शमा चिकित्सा प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका डाक्टरहरूसँग सल्लाह लियौँ तर बिरामीलाई २० को १९ भएन । पुनः ग्रान्डी हस्पिटलपछि भारत लैजाने पार्टी निर्णयपछि त्रिभुवन विमानस्थल गएर बिदाइ गरेको भेट नै अन्तिम भयो । भारतको उपचारपछि थाहा भयो कि उहाँलाई मुटुको समस्या भएको रहेछ । शल्यक्रियापछि अवस्था सामान्य हुँदैछ भन्ने साथीहरू सुनाउनुहुन्थ्यो तर एकाएक मृत्युको खबरले सिङ्गो पार्टीपङ्क्तिलाई स्तब्ध बनायो । दसैँको माहोल भएकाले हामी दाङमा थियौँ । त्यसपछि हामी कपिलवस्तु आयौँ । हजारौँ मान्छेको भीडमा कमरेड वीरजङ्ग अब कहिले नबिउँझिने चिरनिद्रमा हुनुन्थ्यो धेरै कुरा सपनाजस्ता लागे तर यो यथार्थ थियो । आदरणीय महासचिवलगायत हामीले बिदाइको अन्तिम मुट्ठी उठायौँ । उच्च सम्मानसहित उहाँको भव्य शवयात्रा निस्कियो । पार्टी महासचिव, प्रवक्ता, सचिवालयका नेताहरूलगायत देशभरबाट आएका नेता–कार्यकर्ता र कपिलवस्तुका अन्य पार्टी नेताहरूले श्रद्धाञ्जलीसहित दाहसंस्कार गरी बिदा गरियो । एउटा जीवन–व्यवहारसहितको इतिहास हामीले बिदा ग¥यौँ । भारतको अस्पतालमा रहँदा उहाँले नेपाली क्रान्ति र नेपाली जनताप्रति अन्तिमसम्म देखाएको प्रतिबद्धता नै हाम्रो लागि मार्गदर्शन बन्नुपर्दछ । उहाँबाट हाम्रो पुस्ताले सिक्ने भनेको आफ्नो मूल्य–मान्यतामा निष्ठापूर्वक उभिनु र आफ्नो वर्गका खातिर निरन्तर सङ्घर्षमा होमिनु हो । आदरणीय कमरेड वीरजङ्गलगायत हाम्रा हजारौँ सहिद–बेपत्ताहरूले देखाएको मुक्तिको बाटोमा हामी अविचल लाग्ने प्रण गर्दछाँै । तपाईंले देख्नुभएको मानव मुक्तिको सपना एकदिन पूरा हुनेछ ।

प्रतिक्रियाहरु