क्रान्तीप्रति घात गर्नेहरुलाई दरिलो खबरदारी र क्रान्तिकारीहरुलाई उर्जा दिने गित – “ओ हितसङ्गी “

नारायण शर्मा २०८० असार २४ गते, आईतवार


क्रान्तिको मार्ग सजिलो हुदैन तर त्यो मार्गमा यात्रारत रहदाको आनन्द छुट्टै र बिशिस्ट हुन्छ । क्रान्ती भित्रको आनन्द एक सच्चा क्रान्तियात्रीले मात्र महसुस गर्न सक्छ । वर्गबिहिन समाज निर्माणको महायात्रा सटिक हुदैन , त्यो निकै लामो र कठिनतम हुन्छ । यो यात्रा अघि बढ्दै जादा जब चुनौतिका अजङ्ग पहाडहरु अगाडी खडा हुन्छ्न क्रान्तिकारी योद्धाहरुको वास्तविक परिक्षण त्यो बेलामा मात्र हुने गर्छ । कृतिम क्रान्तिकारीहरु चुनौतिका अगाडी घुडा टेक्न पुग्छ्न , उनिहरु गल्छन, लत्रिन्छन र बाटो मोड्न पुग्छ्न । तर सच्चा क्रान्तिकारीहरुले भने चुनौतिहरुको दृढतापुर्वक सामना गर्छन र आफ्नो लक्ष्य तर्फ निरन्तर अगाडी बढ्छ्न । क्रान्तिको यो महायात्रामा यस्तो पनि देखिने गरेको छ – हिजो प्रतिक्रियावादी दुश्मन शक्तिको जेल नेल र असहिय यातानामा नगलेको, नढलेको योद्धा आर्थिक प्रलोभनको जालमा सजिलै फस्न पनि सक्दोरहेछ । अर्थात “गन को अगाडी नढलेको योद्धा धनका अगाडी ढलेका ” दृष्टान्तहरु पनि हाम्रा सामु प्रसस्तै छन । क्रान्तियात्राका तिनै दुई खाले पात्रहरुको सजिब चित्रण सहित क्रान्तिकारीभाव बोकेको नयाँ गित बजारमा आएको छ – ” ओ हितसङ्गी ” ।

         गितमा  शब्द र सङ्गीत , जनबादी गितकार / सङ्गितकार  चिरन सिको रहेको छ । ससस्त्र संघर्ष अर्थात  जनयुद्धमा प्रत्यक्ष सहभागी  भएर आएका अर्का चर्चित  जनबादी गितकार / सङ्गितकार तथा गायक कर्ण  गौतम  "बिद्रोही "को स्वरमा सजिएको यस गितमा सङ्गीत संयोजन  नारायण दङ्गालको रहेको छ । गितको भिडियो निर्देशन  रबिन डोङले गरेका छन । गितको भिडियोमा सर्जक स्वम चिरन सि , गायक कर्ण बिद्रोही  र कलाकारहरु  सरल सि , लक्ष्मण पाख्रिन , अनु शर्मा , र कुशल गौतम लगायतको अभिनय रहेको छ । गितका शब्दहरुले यथार्थ  क्रान्तिकारी भाव  बोकेका छन :- 


   हिजो धिक्कारेका खुनी  उनका काखहरुमा
   लडिबुडि  गर्छौ रे भन्छन 
   हिजो  ललकारेका ज्यानी दुस्मन बर्गहरु सङ्ग
    मन्द मुस्कान हास्छौ रे भन्छन
   ओ हितसङ्गी तिमी कहाँ छौ
   खोज्दैछु तिम्रो मुस्कान जहाँ हामी
   सड्ढट पर्दा सङ्गै हासेको
  ओ भन प्रिय  तिमी कहाँ छौ
  खोज्दैछु तिम्रो आँसु जहाँ कमरेड
 सहिद हुदा सङ्गै रोएको
 सुन्दैछु तिमिले त साथ छड्यौ अरे
 भन्दैछन तिमिले त बासै सार्यौ अरे

ओ हितसङ्गी ,,,,,,

वर्ग शत्रुको राज्य सत्ता उल्टाउन हिजो उनिहरु सङ्गै हिडेका थिए । त्यति बेला उनिहरु दुबैको मन मस्तिष्क वर्ग शत्रु प्रतिको घृणाले भरिएको थियो । उनिहरु दुबैको मनमा देशमा न्याय र समानतामुलक समाज स्थापना गर्ने समान सपना सजिएको थियो । दुश्मनका सिपाहिले लखेटिरहेका ती सङ्कटपुर्ण काला पलहरुमा पनि उनिहरु एक अर्कालाइ हेरेर मुस्कुराइरहेका हुन्थ्ये । तर सहृदयी भावको त्यही सङ्गी अहिले उस्को साथमा छैन । कस्तो आश्चर्य र बिडम्बनाको कुरा ! हिजो जसलाइ वर्ग शत्रु घोषणा गरेर , जसका बिरुद्धमा लडाइ केन्द्रित गरिएको थियो आज उसैको काखमा मन्दमुस्कान साटासाट गर्दै त्यो हितसङ्गी लडिबुडी खेलिरहेको छ । क्रान्तिपथ बाट बिचलित त्यही पुरानो हितसङ्गीलाई सम्झदै एक सच्चा क्रान्तिकारी योद्दाको मनमा खेलेका भावहरुलाइ सजिब ढङ्गबाट उतारिएको छ यस गितमा ।

           गित   " ओ हितसङ्गी " ले बर्तमान कम्युनिस्ट  आन्दोलन भित्रका भिन्न भिन्न प्रवृतीहरुको यथार्थ  अवस्था उजागर गरेको छ । नेपालको वाम आन्दोलन भित्र त्यस्ता  क्रान्तिपथ बाट बिचलित भएर वर्ग शत्रुको काखमा लम्पसार परिरहेका पात्रहरु छरप्रस्ट रुपमा देख्न पाइन्छ । कम्युनिस्ट  आन्दोलन  वर्गबिहिन समाज निर्माण  नहुदा सम्म निरन्तर चलिरहने  महाअभियान हो । राज्यसत्ता  भनेकै एउटा वर्गले अर्को वर्ग माथी  शासन गर्न  अपनाउने एक उच्चतम  थलो  हो ।  बाघ  र बाख्रा  कहिल्यै  पनि एउटै खोर भित्र अटाउन सक्दैनन । शोषक र शोषित वर्गका बिचमा पनि कहिल्यै  मेल हुन सक्दैन । शोषकको हातमा रहेको राज्यसत्ता छिनेर शोषित वर्गले  आफ्नो हातमा लिनका लागि नै शोषित उत्पीडित र दमितजनहरु कम्युनिस्ट  आन्दोलनमा सङ्गठित  हुनु पर्दछ । एउटा सच्चा कम्युनिस्ट योद्धाको  मन  वर्ग  शत्रु प्रती सधै तिब्र घृणा र आक्रोशले  भरिएको हुनुपर्दछ ।  - हिजो त्यही पाठ पढाउने  सिकाउने कतिपय कम्युनिस्ट गुरुहरु  नै आज आफै  वर्ग शत्रुको  खुनी काखमा लडिबुडी खेल्नु , उनिहरु सङ्गै हातेमालो गर्दै मन्दमुस्कान साटासाट गरिरहेको हामी सबैले देखिरहेकै छौ । गित  " ओ हितसङ्गी " मा नेपालको कम्युनिस्ट  आन्दोलन भित्रको त्यही दारुणिक अवस्था र प्रवृतीको  उजागर  गरिएको छ ।


 गित  "ओ हितसङ्गी " मा  क्रान्तिपथ बाट बिचल्लित भएकाहरुको अवस्थालाइ चित्रण मात्र  गरिएको छैन । वर्ग कित्ता परिवर्तन  गरेर बसाइ सर्ने भुपु कामरेडहरुलाइ  उनिहरुको वर्ग धरातल  र कर्तब्य  सम्झाउने प्रयास पनि गरिएको छ  :-


      ,,,,,,,,,,ओ हितसङ्गी तिमी कहाँ छौ
      बाकी छ शिखर चुम्ने,
      सङ्गसङ्गै स्विकारेका यात्रा बाकी छ
      ओ भन प्रिय  तिमी कहाँ छौ
      बाकी छ लक्ष्य भेट्ने, 
      बर्गभेद मिल्काउने क्रान्ति  बाकी छ
      भन्दैछन तिमिले त घात  गरेउ अरे
      सुन्दैछु तिमिले त बर्गै  फेर्यौ अरे

ओ भन प्रिय ,,,,,,,,,,,

     हो  क्रान्ती  अझै  बाकी नै छ , पूरा भएको छैन । हाम्रो  लक्ष्यको  ब्यवस्था अझै आएको छैन । श्रम गरेर खानेहरुको राज्य सत्ता देशमा अझै स्थापित भैसकेको छैन । अहिले पनि  देशको राज्य सत्ता बसिखाने शोषक वर्गकै हात भित्र कैद छ । समाजमा  विभेद , असमानता, ज्यादती ,  घुसखोरी , भ्रस्टाचार , अनियमितता , अशान्ती , बेरोजगारी , राष्ट्रघात अहिले पनि ब्याप्त  छ । त्यसकारण  देशमा क्रान्ती अहिले पनि आवस्यक  छ । आफुलाइ  कम्युनिस्ट  बताउने  कुनै पनि नेता र पार्टिलाइ वर्गघात  गर्ने छुट छैन । वर्गशत्रु  सङ्ग  अङ्कमाल गरेर वर्गबिहिन समाज निर्माणको  लक्ष्य  भेटाउन सकिँदैन । बर्तमान राज्य ब्यवस्था मुलतः  प्रतिक्रियाबादी ब्यवस्थानै हो । मात्र हिजोको  तानाशाही  राजतन्त्रात्मक ब्यवस्था  भन्दा यो ब्यवस्था केही प्रगतिशिल हो । तर सम्पुर्ण  शोषितजनहरुको हितकारी ब्यवस्था हो होइन । कम्युनिस्ट  क्रान्तिकारीहरुले त यो  गणतान्त्रिक संसदिय ब्यवस्थालाइ  श्रमजिबी वर्गको पक्षमा उपयोग गर्ने  अधिकतम प्रयास गर्ने हो , आफै  यै ब्यवस्था बाट उपयोग हुने  होइन ।  तर  बिडम्बना ! अहिले सम्म भैरहेको छ त्यही । यो ब्यवस्थालाइ उपयोग गर्छु  भन्दै संसद र सरकारमा पुगेका कम्युनिस्ट पार्टिहरुलाइ  प्रतिक्रियावादी , साम्राज्यवादि , बिस्तारबादी र बिषेशत दलाल पुजिवादी शक्तीहरुले नै उपयोग गर्दै आइरहेका छन । कम्युनिस्ट  भनिने ती पार्टी र नेताहरुले  कम्युनिस्ट  आन्दोलनको लक्ष्य र मर्म भुल्दै गैरहेका छन ।  वर्गबैरिहरुको काखमै रमाइरहेका छन उनिहरु । गित  " ओ हितसङ्गी " ले  क्रान्ती प्रती घात गर्नेहरुलाइ , आफ्नो वर्गिय धरातल भुल्दै र कुल्चदै जानेहरुलाइ दरिलो खबरदारी गरेको छ । उनिहरुलाइ  आफ्नो वर्ग धरातल नबिर्सन , क्रान्ती प्रती घात नगर्न   , फर्किएर क्रान्तिपथमै आउन  आवहान गरेको छ । क्रान्तिकारी  कम्युनिस्ट नैतिकता र  आचरणमा ह्रास  आउन नदिइ निरन्तर  क्रान्तियात्रामा डटिरहेका  महासमरका अभियात्रीहरुलाइ थप उर्जा र प्रेरणा प्रदान गरेको छ यो गितले ।


      गितका शब्दहरु सरल छन तर त्यस भित्र गम्भीर भावअन्तर्निहित  रहेका छन । सर्जक आफैले सङ्गीत भरेका कारणनै हुनु पर्छ गितका शब्दहरुले न्यायपुर्ण  सङ्गीत पाएका छन ।  प्रगतिशील  गित/ सङ्गीत सङ्ग सुपरिचित र अभ्यस्त रहेका नारायण  दङ्गालले  सङ्गीत संयोजन कुशलता पुर्वक गरेका छन । सबै भन्दा महत्त्वपूर्ण  कुरा त शब्द र सङ्गित भित्र अन्तरनिहित  भावमाथी पुर्ण न्याय दिन सक्ने गायक पाएको छ यो गितले । जनगायक  कर्ण गौतम " बिद्रोही " आफै  वर्गसंघर्षको  भट्टिमा खारिएर आएका  एक स्पातिला  सास्कृतिक योद्धा हुन । उनी आफै गितकार र सङ्गितकार समेत हुन ।  प्रगतिशील सास्कृतिक आन्दोलनको एक अमुल्य निधीका रुपमा रहेको  " टुटफुट खण्डित कुरा नगर " बोलको चर्चित गितका सर्जक , सङ्गितकार र  गायक समेत हुन  कर्ण बिद्रोही । यस्तै दर्जनौ क्रान्तिकारी  जनगितहरुमा आफै शब्द सृजना गरेर सङ्गीत भरेका छन उनले । रक्तिम  सास्कृतिक अभियान बाट आफ्नो जनसाङ्गितिक यात्रा सुरु गरेका जनगायक बिद्रोही पछि माओबादी जनयुद्धमै समाहित   हुँदै जनसाङ्गितिक यात्रालाइ निरन्तरता  दिएका थिए । एक काधमा बन्दुक र अर्को काधमा हार्मोनियम बोक्दै जनमुक्तिको माहायात्रामा निरन्तर  डटिरहेका सास्कृतिक योद्धा हुन बिद्रोही । कर्णप्रिय  स्वरका धनी उनै कर्णलाई यो गितका लागि गायक छनौट गर्नु सर्जकको बुद्दिमतापुर्ण सहि निर्णय थियो भन्न सकिन्छ  । जनगायक बिद्रोहिले गितको शब्दभाव प्रती  पुर्ण न्याय गरेर स्वर दिएका छन । गित सुन्दा बिद्रोहिले शब्दभावलाइ आत्मसाथ गरि गाएको प्रस्ट बुझ्न सकिन्छ । 


    गितको  भिजुअल पनि राम्रो  बनेको छ ।  गितको दृस्याङ्कन कुनै   नाट्यघरको हलमा गरिएको छ ।  सर्जक, सर्जकै भुमिकामा , गायक गायककै भुमिकामा , सङ्गीत संयोजक  किबोर्ड बजाउदै गरेको भुमिकामा , अनु शर्मा  र कुशल गौतम गितार बादकको भुमिकामा र सरल सि ड्रम बाधकको भुमिकामा देखिएका छन । भिजुअलको पृष्ठभुमिमा क्रान्तिकारी आन्दोलनमा  बिगतको  समयका झल्को दिने दृश्यहरु पनि देखाइएको छ । ती सबै भुमिका र दृश्यहरुमा अभिनय गर्ने कलाकारहरुको  अभिनय उत्कृष्ट नै  देखिन्छ ।  रबिन डोङको  निर्देसकिय कौसलता अब्बल  रहेको यो गितमा पनि प्रस्ट झल्किएको छ । यद्यपि  गितको शब्द भावले हिजो संघर्षरत रहदाका गाउघर र बनपाखाका दृश्यहरु र क्रान्तिपथ बाट बिचल्लित  भएको कमरेड  वर्गबैरी सङ्ग रमाउदै गरेको  शहर बजारका दृश्यहरुको  पनि माग  गरेको देखिन्छ  ।  भिडियोका ती दृष्यहरु आउटडोर सुटिङ गरेको भए अझ सुनमा सुगन्ध थपिन्थ्यो भन्ने  जोकोहिको मनमा पनि लाग्न सक्छ ।


 प्रगतिशील  र क्रान्तिकारी गितहरुको तुलना अन्य ब्यवसायिक गितहरु सङ्ग गर्न सकिँदैन । ती दुइलाइ तौलने तराजु नै अलग अलग हुन । तसर्थ गितले ब्यवसायिक रुपमा कति मुनाफा आर्जन गर्छ त्यसका आधारमा प्रगतिशील , क्रान्तिकारी तथा जनगितहरुको सफलता वा असफलता मापन गर्नु हुदैन ।  जनगितहरुमा बिचारपक्ष र त्यो गितले प्रवाह गर्न खोजेको सन्देस प्रधान हुन्छ । गित "ओ हितसङ्गी " भित्र अन्तरनिहित  बिचार र त्यसले दिएको सन्देस  सुन्दर छ ।  यो  गितले  क्रान्तिपथ बाट बिचल्लित भएकाहरुलाइ खबरदारी  गरेको छ भने  क्रान्तिकारी नैतिकता सहित इमान्दारीताका साथ क्रान्तिपथमा डटिरहेका योद्धाहरुलाइ उर्जा प्रदान गरेको छ । यसर्थ  प्रगतिशील  सास्कृतिक आन्दोलन र  कम्युनिस्ट  आन्दोलनमा कृयासिल हरेक अभियात्रीहरुले यो गित सुन्दा र हेर्दा त्यो उनिहरुका लागि नै लाभदायक हुनेछ ।  जनबादी सर्जक तथा सङ्गितकार चिरन सि ले  बिगत केही समय यता जनगित तथा क्रान्तिकारी गितहरुको प्रकासनलाइ निकै तिब्रता दिइरहेका छन । यो निकै खुशिको कुरा हो ।  उनका  गितहरु बढी नाराबादी र पार्टिगत स्वार्थ मिश्रित भए भन्ने आरोप पनि बेला बेलामा लाग्ने गरेको छ ।  तर  अहिले आएको  " ओ हितसङ्गी " त्यो आरोप बाट पुर्ण रुपमा मुक्त छ । आगामी दिनमा पनि  त्यस्ता आरोप बाट बच्दै , यस्तै स्वच्छ र उत्कृष्ट  क्रान्तिकारी भाव बोकेका सृजनाहरुलाइ सर्जक  चिरनले निरन्तरता  दिदै जाउन ।  सर्जक एवं सङ्गितकार चिरन सि सहित  " ओ हितसङ्गी " गित निर्माण युनिटका  सम्पुर्ण  सदस्यहरुलाइ हार्दिक बधाईका साथ  यो गित सफलताको हार्दिक शुभकामना ।

(लेखक शर्मा रक्तिम सास्कृतिक अभियानका अध्यक्ष हुन । )

प्रतिक्रियाहरु