प्रदूषण जाँच पास नभएका गाडीलाई एक लाखसम्म जरिवाना !

२०७९ मंसिर २२ गते, बिहीबार


काठमाडौं । सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले आज सूचना जारी जरिवानाको चेतावनी दिएको हो ।
विभागले हाल काठमाडौं उपत्यकाभित्र सन्चालित सवारी साधनहरुमा छड्के जाँच गर्दै आएको छ । ती मध्ये अधिकांश सवारी साधनले प्रदूषण जाँचपास नगरेको पाइएको थियो । सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेको पाइएकालाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न भनिएको छ ।
अब २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सन्चालनमा ल्याउन दिने विभागले आज जारी गरेको सूचनामा उल्लेख छ । विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारी साधनमा पनि जुनसुकै बेला छड्के जाँच गर्ने र कारबाही गर्ने जनाएको छ । साथै आफ्नो टोल छिमेकमा कसैले खुल्ला रुपमा फोहोर जलाउने काम गरिरहेको भए पनि जानकारी दिन विभागले भनेको छ । त्यस्तो जानकारी दिनेको परिचय गोप्य राख्ने र खुल्ला रुपमा फोहोर जलाउनेलाई कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु