नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन भव्यताका साथ सफल होस्

२०७९ आश्विन २३ गते, आईतवार

नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन यही मंगलबार अर्थात् असोज २५ गतेदेखि कपिलवस्तुमा हुने भएको छ । उक्त महाधिवेशनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले गर्ने बताइएको छ । १० वर्षे जनयुद्ध गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी वैचारिक, राजनीतिक र सांगठानिकरुपले बिसर्जन भएपछि २०६९ सालमा मोहन वैद्य ‘किरण’ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको थियो । मोहन वैद्य ‘किरण’को नेतृत्वमा पुनर्गठन भएको उक्त पार्टी पनि वैचारिक, राजनीतिक र सांगठानिकरुपमा अलमलमा परी क्रान्तिको लागि बाधक बनेपछि २०७१ मंसिर ८ गते विप्लव र प्रकाण्डसहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको थियो । पार्टी पुनर्गठन भएपछि सो पार्टीले राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयलाई केन्द्रमा राख्दै संघर्षलाई अगाडि बढाउँदै आएको छ । सो पार्टीको आठौँ महाधिवेशनले ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा पारित गर्दै हाल सोही कार्यदिशाबमोजिम क्रान्ति सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । यतिबेला १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु नामेट भएका छन् । देश संसद्वादी भासमा डुबेको छ, राष्ट्रियता संकटमा परेको छ, भारतीय अतिक्रमणले सीमा नाघेको छ, जनजीविकाका दिनप्रतिदिन चौपट हुँदै गएको छ, भ्रष्टाचार, कालोबजारीले सीमा नाघेको छ । संविधान कागजको खोस्टोमा परिणत भएको छ । एमसीसी सम्झौता संसदबाट पारित भएको छ भने एसपीपीपी सम्झौता लागू गर्न विभिन्न प्रपन्चहरु भइरहेका छन । संसद्वादी दल र नेताका कारण वैदेशिक हस्तक्षेपले सीमा नाघेको छ, एकपछि अर्को राष्ट्रघात र जनघाती कार्य भइरहेका छन् । भ्रष्टाचार, अनियमितता, कालोबजारी, महँगीले सीमा नाघेको छ भने प्रहरी प्रशासन बेलगाम भएका छन् । नागरिकता विधेयक विवाद, सरकार, संसद्, अदालतका विवादलगायतका घटनाले सरकार, संसद्वादी दल र नेता मात्र नभई समग्र संसदीय व्यवस्था नै असफल भएको प्रमाणित गरेको छ । यहीबीचमा सरकारले आउँदो मङ्सिर ४ गते संघ र प्रदेशसभाको निर्वाचनको तयारी थालेको छ । तर, यो निर्वाचनबाट देश र जनताको मुक्ति सम्भव देखिँदैन किनकि संसदीय व्यवस्थामा जति निर्वाचन गराए पनि आउने पात्र र प्रवृत्ति यिनै हुन् । यो व्यवस्था रहुञ्जेल संसद्मा बहुमतको खेल चलिरहन्छ, जसका कारण देश र जनता संसद्वादी दल र तिनका नेताहरुको शिकार भइरहन्छन् । त्यसकारण देशलाई अग्रगमनतर्फ लैजान र जनतालाई समृद्ध बनाउन संसदीय व्यवस्थाको विकल्प खोज्नैपर्ने भएको छ ।

यस्तो अवस्थामा आमजनताको आशाको केन्द्र भनेको नेपाल कम्युनिस्ट पार्टी मात्रै हो । देश र जनतालाई वर्तमान विकराल स्थितिबाट पार लगाउन कम्मर कसेर संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी दिनप्रतिदिन जनताको प्यारो बन्दै गएको छ । उसलाई आमनेपाली जनताले साथ र सहयोग गर्न थालेका छन् । नेकपाप्रतिको यही जनलहर देखेर सरकारले उसमाथि प्रतिबन्धसमेत लगाएको थियो । तर, सरकारको प्रतिबन्धलाई खारेज गर्दै नेकपा देश र जनताको लागि खरोरुपमा संघर्षमा उत्रियो जसका कारण सरकार प्रतिबन्ध खारेज गर्न बाध्य भयो र नेकपासँग तीन बुँदे सहमतिसमेत भयो । नेकपाले उक्त तीन बुँदे सहमति अक्षरशः पालना गरे पनि सरकारले उक्त सहमति पालना गर्ने प्रतिबद्धता पटक–पटक जनाए पनि हालसम्म उक्त सहमति पूर्णरुपमा कार्यान्वयन गरेको छैन । सरकारले जबर्जस्त उक्त पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरे पनि नेकपाले धैर्यतापूर्वक उक्त तीन बुँदे सहमतिबमोजिम आफ्नो राजनीतिक गतिविधि अगाडि बढाइरहेको छ । नेकपा यही कार्यशैलीका कारण आमजनताको आशाको दियो बन्न पुगेको छ । संसद्वादी भ्रष्ट राजनीतिबाट वाक्कदिक्क भएका नेपाली जनता राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा नेकपाको काँधमा काँध मिलाउन तयार भएका छन् । यस्तो अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन हुँदैछ । नेकपाको यस नवौँ महाधिवेशनले राष्ट्र र जनताको मुक्तिको लागि नयाँ मार्ग चित्र कोर्ने र निकट भविष्यमै देशमा जनताले रोजेको र खोजेको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने नीति र नेतृत्व चयन गर्न सफल होस् । हाम्रोतर्फबाट नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन भव्यताका साथ सफल होस् र नेपाल कम्युनिस्ट पार्टी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सफल होस्, यही शुभकामना छ ।

प्रतिक्रियाहरु