महानिरीक्षक चन्दबिरुद्ध अर्को अन्तरिम आदेश

२०७३ फाल्गुन २ गते, सोमबार

काठमाडौं, २ फागुन । प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले पुन: अर्को अन्तरिम आदेश जारी गरेको छ । महानिरीक्षक पदका अर्का दावेदार डिआइजी नवराज सिलवालले आइतबार दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले सोमबार यस्तो आदेश दिएको हो ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मन्त्रिपरिषद्ले आइतबार चन्दलाई महानिरीक्षकमा गरेको नियुक्ति अनुसारको पदस्थापनलगायतका कामकारबाही नगर्न नगराउन आदेश जारी गरेको हो । अधिवक्ता कपिलदेव ढकालले दिएको रीटमा भने आइतबार नै सर्वोच्च अदालतले फागुन ८ गतेसम्म चन्दको नियुक्ति सपथ लगायतका काम कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । दुबै रिट सँगै राखेर ८ गते रिटका दुबैपक्षको बहस सुनेपछि मात्रै अन्तरिम आदेश निरन्तर गर्ने वा नगर्ने भन्ने सर्वोच्चले टुंगो लगाउने छ । अधिवक्ता ढकालको रिटमै चन्दलाई महानिरीक्षक बनाउँदाको कार्यसम्पादन मूल्यांकन र मन्त्रिपरिषद्ले निर्णयको फाइल पनि सर्वोच्चले मगाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु