लाखौं डलर लगेजबाटै पठाइन्थ्यो विदेश !

२०७३ माघ २६ गते, बुधबार

काठमाडौं, २६ माघ । सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्‍याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन किन्ने पैसा आफूहरूले नेपालबाटै लगेजमा लैजाने गरेको बताएका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा ठूलो परिमाणमा डलर लगेजमै विदेश लगिने गरेको र त्यस अतिरिक्त विदेशमा काम गर्ने नेपालीले हुन्डीमार्फत नेपाल पठाएको रकम थप संकलन गरी सुन खरिदमा प्रयोग गर्ने गरेको तथ्य फेलापारेको हो । करिब १५ करोड रुपैयाँ मूल्यबराबरको सुन किन्न चाहिने करिब १५ लाख डलर विदेशी बजारमा कसरी जाने गरेको थियो भन्नेबारे अनुसन्धानका क्रममा यो तथ्य फेलापरेको हो । ‘१५ करोड नेपाली रुपैयाँको सुन किन्न करिब १५ लाख डलर चाहिन्छ जब कि विदेश जानेले एक हजार डलरभन्दा बढी पैसा बोक्न पाउँदैन । एलसी खोलेरै पैसा लिएर जाँदा पनि निकै ठूलो प्रश्न उठ्ने विषय भएकाले हामीले खरिद विषयमा अनुसन्धान बढाएका हौं,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन्, ‘कि हुन्डीमार्फत सुन किन्ने कुरा हुन्छ कि त यतैबाट पैसा लिएर जाने कुरा हुन्छ । अनुसन्धान गर्दा भरियाले यतैबाट लगेजमा पैसा लिएर जाने गरेको बताएका छन् ।’ तस्करले पहिलोपटक आफूले सुन ल्याएको बताए पनि यस विषयमा सीआईबीले अध्यागमन विभागसँग विस्तृत विवरण माग गरेको छ । ‘तस्करहरू नियमित रूपमा विदेश जानेआउने गरेको हुनसक्ने भएकाले हामीले अध्यागमन विभागसँग उनीहरूको विवरण माग गरेका छौं,’ सीआईबी स्रोत भन्छ । – अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु