घुस्याहा इन्जिनियर प्रहरीको फन्दामा

२०७३ माघ २४ गते, सोमबार

काठमाडौ २४ माघ । भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा खटिएका इन्जिनियर प्रविणकुमार श्रीवास्तव दुई हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । नुवाकोटको बेलकोटमा खटिएका इन्जिनियर श्रीवास्तव दुई हजार रुपैयाँ घुससहित आज पक्राउ परेका हुन् । सहरी तथा भवन निर्माण डिभिजन कार्यालय नुवाकोटका करार सेवामा कार्यरत इन्जिनियर श्रीवास्तवले बेलकोट ३ का बद्री तिवारीसँग दुई हजार रुपैयाँ घुस लिएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
तिवारीको निर्माणाधिन घर निजी आवास अनुदान कार्यविधि अनुसार नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले पाँच हजार रुपैयाँ घुस मागेकोमा तिवारीले दुई हजार रुपैयाँ मात्र दिएका थिए । गाउँमा निर्माण हुने अधिकांश घर मापदण्ड अनुसार निर्माण नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले सोही वडामा निर्माण भइरहेका केही घरधनीहरुसँग पनि रकम मागेको गाउँलेको दाबी छ ।
बेलकोटकै रामशरण ओलीले घर निर्माणको क्रममा जग खन्ने बेलादेखि इन्जिनियर श्रीवास्तवसँग सल्लाह गरेर अघि बढाइएको भएपनि अन्तिम पटक मापदण्ड नपुगेको बताउँदै आफूसँग पनि पाँच हजार रुपैयाँ घुस मागेको दाबी गरे । टोलभरी निर्माण भइरहेका घरधनीसँग जनही पाँच हजारको दरले रकम माग गरेपछि आज गाउँ पुगेका इन्जिनियर श्रीवास्तवलाई गाउँलेहरुले समातेर प्रहरीको जिम्मा लगाएका हुन् । पक्राउ परेका श्रीवास्तवलाई कारवाहीको माग गर्दै बेलकोट गाविसका एक सयभन्दा धेरै बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु