भ्युटावर निर्माण कार्य अलपत्र

२०७३ पुष २१ गते, बिहीबार

काठमाडौँ, २१ पुस । काठमाडौँ महानगरपालिकाले निजी कम्पनीसँगको साझेदारीमा काठमाडौँको पुरानो बसपार्कमा बनाउने निर्णय गरेको भ्युटावर निर्माणको काम अलपत्र परेको छ । उपत्यकामा चल्ने बसहरूको केन्द्रीय टर्मिनलका रूपमा रहेको बसपार्कबाट खुलामञ्चमा बस सारेर गत वर्ष कात्तिकमा टावरको शिलान्यास गरिएको भए पनि निर्माण कम्पनी नै फरार रहेका कारण करिब एक वर्षदेखि निर्माण कार्य अलपत्र परेको हो ।
काठमाडौँ महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिबीच २०७२ सालको सुरुमै तीन वर्षभित्र बसपार्कमा २९ तले भ्युटावर निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने सम्झौता भएको थियो तर सम्झौता भएको २०/२१ महीनासम्म काम नै सुरु भएको छैन ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ भ्युटावर निर्माणको जिम्मा लिएको कम्पनी भर्खर सम्पर्कमा आएको र छिट्टै निर्माण सुरु गर्न निर्देशन गरिसकिएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘लामो समयसम्म सम्पर्कविहीन भएको निर्माण कम्पनी पुनःसम्पर्कमा आएको छ, निर्माणको अन्तिम मौका दिएका छौँ, अब पनि अटेर गरे सम्झौता रद्द गर्छौँ । ’
विसं २०७५ फागुनसम्म निर्माण सम्पन्न गर्नुपर्ने टावरको शिलान्यास उपराष्ट्रपति नन्दबहादुर पुनले गरेखा थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु