एक हजार घरधनीको नियम विपरीत घर निर्माण

२०७३ पुष १३ गते, बुधबार

काठमाडौँ, १३ पुस । काठमाडौँ महानगरपालिकामा निर्माण भएका करिब एक हजार घरधनीले नियम विपरीत घर निर्माण भएको जनाउँदै निवेदन दिएका छन् । नियम विपरीत निर्माण भएका घरलाई करको दायरामा ल्याउनका लागि कामपाले चालेको अभियानमा अहिलेसम्म करिब एक हजार घरधनीले निवेदन दिएको कामपा, राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए । कामपाले एक महिनाअघि ३५ वटै वडामा नियम विपरीत निर्माण भएका घरलाई निवेदन दिनका लागि सूचना दिएको थियो । नक्सा पास नभएको तर नियम विपरीत निर्माण भएको घरका लागि नक्सा पास गराउन, नक्सा पास भएर पनि सोही अनुरुप निर्माण नभएकाको तथ्याङ्क राख्न र कति नक्साअनुसार निर्माण भएका छन् भन्ने कुराको जानकारी राख्नका लागि कामपाले यस्तो अभियान ल्याएको प्रमुख काफ्लेको भनाइ छ ।
यही पुस मसान्तसम्म घरधनीले कामपामा निवेदन पेस गर्न पाउनेछन् । निवेदनसँगै नागरिकले करको लालपुर्जा, कर बुझाइएको बिल तथा घरबहालमा दिएको भए त्यसको कागजपत्रसमेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
सहरी विकास विभाग प्रमुख इन्जिनियर राम थापाले डिल्लीबजार, बागबजार र घट्टेकुलो क्षेत्रबाट निवेदन आए पनि असन, भोटाहिटी र कान्तिपथ क्षेत्रमा बढी घर नियम विपरीतको भएको बताउनुभयो । यस्तो तथ्याङ्कले भत्काउनुपर्ने घरलाई भत्काउन र आवश्यकता परे कानुनको तर्जुमा गर्नसमेत सहयोग पुग्ने कामपाले जनाएको छ ।
सामान्य नियम उल्लङ्घन गरेका बाहेक सार्वजनिक स्थानमा निर्माण भएका र छिमेकीलाई असर पुग्ने गरी बनेका घर तथ्याङ्कका आधारमा कामपाले भत्काउनेछ । कामपाले ३५ वटै वडामा निर्माण भएका घरमध्ये ८० प्रतिशत नियम विपरीत निर्माण भएको हुन सक्ने अनुमान गरेको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार