कर्मचारीकै मिलेमतोमा तस्करी !

२०७३ पुष ९ गते, शनिबार

काठमाडौँ, ९ पुस । वीरगन्ज भन्सार कार्यालयका कर्मचारीकै मिलेमतोमा मूख्य नाकाबाटै तस्करी भइरहेको खुलासा भएको छ । वीरगन्ज भन्सार कार्यालयबाट गेटपास नै नभएको कपडा बोकेकोे ना २ ख ९३५३ नम्बरको ट्रकलाई शुक्रबार अपराह्न जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएपछि भन्सार कर्मचारीकै मिलोमतोमा मूख्य नाकाबाट तस्करी भएको खुलेको हो । राजश्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको ट्रकबाट दश लाखभन्दा बढीको अवैध लत्ताकपडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले जानकारी दिए ।
यसैबीच कोइलाको भन्सार गरी औद्योगिक रसायन भित्र्याएको एक भारतीय ट्रकलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गर्नु परेको छ ।भारतबाट नेपाल भित्र्याएको उक्त ट्रकलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिन खोज्दा ट्रक चालकले सात वटा प्रहरी विट भत्काई भाग्न खोज्दा गोली प्रहार गर्नुपरेको साहले जानकारी दिए । कर्मचारीकै मिलेमतोमा मूलनाकाबाटै दिनानुदिन तस्करी बढेको प्रहरीले जनाएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु