आफू मातहत शान्तिसेना पठाउन भारतको पहल

२०७३ पुष ८ गते, शुक्रबार

काठमाडौँ, ८ पुस । भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरूलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिइङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ । उच्च स्रोतका अनुसार भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआईएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको ‘कमान्ड’अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाएपछि जंगी अड्डाले त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको हो । सुरुवातमा सार्कमार्फत राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जानुपर्ने उल्लेख गर्दै आएको भारतले पाकिस्तानसँगको दूरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको हो । भारतले नेपालको राजनीतिक तहमा लबिइङ गरेपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न अनुरोध गरेको उच्च स्रोतको दाबी छ ।
परराष्ट्रमन्त्री प्रकाशशरण महत भारत भ्रमणमा निस्कनुअघि सेनाले आफ्नो सरोकार सरकारसमक्ष राखेको बुझिएको छ । परराष्ट्रमन्त्री महतले भने नेपालले शान्ति सेनामा पठाउने विषयमा हालको संरचनामा कुनै परिवर्तन नहुने बताए । ‘मैले यूएनको भ्रमण गर्ने क्रममा महासचिवलाई नेपाललाई दिँदै आएको कोटा बढाउन र अधिकृतहरूलाई पनि कोटा दिन भनेको छु ।’
भारतले नेपाली सेनालाई भारतीय सेना नेतृत्वको क्षेत्रीय संरचनामातहत लैजाने प्रस्ताव बेलाबखत राख्दै आएको छ । भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह कात्तिक २६ देखि २८ सम्म नेपाल भ्रमणमा आउँदा पनि भारतीय पक्षबाट उक्त विषय अप्रत्यक्ष ढंगबाट उठाइएको स्रोतको भनाइ छ ।
त्यसअघि गत वर्ष काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले भारत, नेपाल लगायतका देशले सार्कमार्फत शान्ति सेना पठाउनुपर्ने कुरा राखेका थिए । लैनचौरस्थित मल्ल होटलमा भारतीय पक्षले आयोजना गरेको उक्त कार्यक्रममा मेहता दुई जर्नेल र केही कर्मचारीसहित आएका थिए भने दक्षिण एसियाका आठ राष्ट्र र यूएनका प्रतिनिधि पनि सहभागी थिए । नेपालका केही पूर्वजर्नेल उपस्थित रहे पनि त्यो कार्यक्रममा सेनाले भने कसैलाई पठाएको थिएन, बरु कार्यक्रमको उद्देश्यमाथि सन्देह जाहेर गरेको थियो । उक्त कार्यक्रमले यूएन मिसनमा साझा क्षेत्रीय सहभागिताका सम्बन्धमा कार्ययोजना तयार पारी त्यस सम्बन्धी पत्र राष्ट्रसंघीय मुख्यालयमा समेत पठाएको स्रोतले उल्लेख गर्‍यो । उक्त पत्रअनुरूप शान्ति सेनामा साझा सहभागिताका लागि भारतले नेपालसँग कुनै किसिमको सम्झौता गर्न अहिले पहल गरिरहेको हो । दुई देशबीच राजनीतिक तहमा यस्तो कुनै सम्झौता गरिएला कि भन्नेमा नेपाली सेनाले सरकारसमक्ष सरोकार राखेको छ ।
भारतले पछिल्लो समय सार्कमा पाकिस्तान रूष्ट भएपछि बीबीआईएनलाई आधार मानेर यस सम्बन्धी रणनीति चाल्दै छ । ‘अफ्रिकी राष्ट्रहरूको संयुक्त सेना भएसँगै बीबीआईएनको पनि संयुक्त सेना हुनुपर्ने प्रस्ताव भारतको छ,’ स्रोतले भन्यो, ‘जसलाई नेपालले स्वीकार गर्नु आत्मघाती हुनेछ ।’
नेपाली सैनिक विश्वभरि नै शान्ति स्थापनामा अब्बल मानिन्छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सबभन्दा महत्त्वपूर्ण पक्षका रूपमा ‘तटस्थता’लाई लिइन्छ । त्यसले गर्दा नै द्वन्द्वग्रस्त मुलुकको रोजाइमा नेपाल पर्दै आइरहेको छ । नेपालले ५८ वर्षदेखि निरन्तर शान्ति मिसनमा सहभागिता जनाउँदै हालसम्म १ लाख १४ हजार ७ सय ९४ सैनिकलाई यूएनको शान्ति मिसनमा पठाइसकेको छ । – जगदीश्वर पाण्डे, कान्तिपुर दैनिक

प्रतिक्रियाहरु