नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घन्टा बन्द हुने

२०७३ पुष १ गते, शुक्रबार

काठमाडौँ, १ पुस । नारायणगढ–मुग्लिन सडक निर्माणका लागि पुस ७ गतेदेखि प्रत्येक दिन चार घण्टा बन्द हुने भएको छ । सडक निर्माणलाई तीब्रता दिन बाटो बन्द गर्ने निर्णय गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाका अनुसार प्रत्येक दिन ११ बजेदेखि ३ बजेसम्म यो सडकखण्ड बन्द हुनेछ । ठेक्का दिँदा ०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता थियो तर भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी ०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ ।
यही समयभित्र निर्माणसक्न बाटो बन्द गरेर काम अघि बढाउने तयारी भएको आयोजनाले जनाएको छ । अहिलेसम्म करिब ४० प्रतिशत मात्रै काम भएको छ । सो सडकखण्डको ३२ किलोमिटरमध्ये १९ दशमलब पाँच किलोमिटर क्षेत्रमा भित्तो काटेर सडक फराकिलो बनाउनुपर्नेछ । आयोजनाका अनुसार, पुसको दोस्रो साताबाट केही स्थानमा कालोपत्रे थालिंदै छ । सो सडकको आँपटारी, रामनगर, दासढुङ्गा, घुमाउनेलगायतका ठाउँमा कालोपत्रे हुनेछ । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ । विश्व बैंकको दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु