आज उधौली पर्व

२०७३ मंसिर २८ गते, मंगलवार

काठमाडौं, २८ मंसिर । आज उधौली पर्व , किराँत समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन् । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसीयालीमा मनाइने चलन छ । प्रकृतिपूजक किरात समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभरका किरात समुदायले यो पर्व मनाउने गर्दछन् । विशेष गरी किरात राईको बसोबास रहेको पूर्वी पहाडि जिल्ला भोजपुर, धरान, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायत काठमाडौंमा यो पर्व मनाउने गरिन्छ । उधौलीका अवसरमा एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्क्याउने पोशाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर किसात समुदायका मानिस विभिन्न सोकवा साकेन्वा नाचेर यो पर्व मनाउने गर्दछन् ।
यसैबीच नेवार समुदायले आज योमरी पुन्हीका रुपमा मनाउँदै छन् । नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरीको अर्थ सबैलाई मनपर्ने रोटी भन्ने हो । नयाँबालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ । अण्डाकाररुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ । परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरुको अन्योन्याश्रित सम्बन्ध रहेको सन्दर्भ जोड्दै एक दशकअघि सरकारले ज्यापू दिवसको रुपमा पनि मान्यता दिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु