प्रहरीमा सरुवा बढुवा सकस

२०७३ मंसिर २६ गते, आईतवार

काठमाडौँ, २६ मंसिर । नेपाल प्रहरीका एसएसपीहरुको सरुवा नभएको १६ महिना पुगेको छ । केही अञ्चल प्रहरी कार्यलय र तालिम केन्द्र बाहेकका एसएसपीको सरुवा नभएको १६ महिना बितेको हो । विषेश गरेर काठमाडौँ प्रहरी परिसर, अपराध महाशाखा र ललितपुर परिसरमा आउन खोज्नेहरु धेरै देखिएपछि एसएसपीको सरुवा रोकिएको हो । प्रहरी स्रोतका अनुसार केही दिनभित्रै एसएसपीको सरुवा निकाल्ने तयार भैरहेको छ । पछिल्लो तयारीअनुसार काठमाडौँ परिसरमा छविलाल जोशी, अपराध महाशाखामा केदार रिजाल र ललितपुर परिसरमा दिनेश अमात्यलाई लैजाने तयारी भैरहेको स्रोतको दावी छ ।
यता डीआइजी बढुवामा पनि प्रहरीभित्र निकै सकस देखिएको छ । तीन महिना अघि डीआइजी गोपाल भण्डारीले अवकाश पाएपछि नेपाल प्रहरीमा एउटा डीआइजी पद खाली छ । तर, त्यसमा आकांक्षीहरु धेरै देखिएपछि बढुवा रोकिएको हो । नवराज सिलवालका ब्याजी गणेश केसी डीआइजी बढुवाका लागि एक नम्बरमा थिए । उनीभन्दा पछाडि रहेका केदारमानसिंह भण्डारी र लव विष्टले पनि डीआइजी बढुवाका लागि कसरत गरेपछि बढुवा नै रोकिएको बताइन्छ । त्यसो त लोकसेवा आयोगले समेत पदपूर्तिका लागि अनुमति नदिँदा प्रहरीभित्र सयौं कर्मचारीहरुमाथि अन्याय भैरहेको प्रहरीप्रधान कार्यलयका अधिकृतहरु बताउँछन् । ‘एक डीआइजीसहित खाली भएका पदहरुमा पदपूर्ति गर्ने स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालयले चारपटक पत्र पठाइसकेको छ । तर, लोकसेवा आयोगको के इच्छा हो, बढुवा प्रक्रिया राकिएको छ’ प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने । यदि अबको केही दिनभित्रै डीआइजीमा बढुवाका लागि सिफारिस भएन भने एसएसपी केसीले पुस १५ गते ६ वर्षे पदावधिका कारण अवकाश पाउँदैछन् ।
आगामी पुस २ गते आइजीपी अर्यालकै ब्याजी डीआइजीहरु हेमन्त मल्ल र केशव अधिकारीले पाँच वर्षे पदावधिका कारण अवकाश पाउँदैछन् । त्यसपछि तीनजना डीआइजीको पद रिक्त हुनेछ ।
प्रहरी स्रोतका अनुसार अझै केही दिन बढुवा रोकिने हो भने सर्वेन्द्र खनालको ब्याजका अधिकृतहरुलाई डीआइजी बन्न बाटो खुल्नेछ । त्यसो त अपराध महाशाखामा उत्कृष्ट काम गरेको भन्दै गृहमन्त्रालय पनि सर्वेन्द्र खनाललाई डीआइजी बनाउने पक्षमा देखिएको स्रोतको दावी छ । तर, त्यसले अवकाशको मुखमा रहेका गणेश केसीहरुलाई अन्याय हुने आइजीपीको अडान छ ।
०६९ सालमा कुवेर सिंह रानाले पनि उपेन्द्रकान्त अर्यालका ब्याजका एसएसपीहरु श्याम खडका र पूर्णसिंह खडाकालाई मात्रै बढुवा दिएर कार्वाहीमा परेका अन्य चार जनालाई घर पठाइएका थिए ।
त्यसको ठाउँमा उत्कृष्ट ब्याज भन्दै नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई डिआइजी बनाएका थिए । तर, त्यसको विरुद्धमा परेको उजुरी अदालतले समेत खारेज गरेको थियो ।
यदि आगामी पुसमा खाली हुने डीआइजी पदमा सर्वेन्द्र खनाल बढुवा भए भने नवराज सिलवालको ब्याजपछि उनलाई आइजीपी हुने बाटो खुल्ने छ । मंसिर ३० गतेपछि चारजना एसएसपीको पद पनि खाली हुनेछ । अहिले १३ जना एसपीको समेत पदपूर्ति हुन सकेको छैन । – क्षेप्यास्त्र साप्ताहिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु