थरुहट–थारुवान संयुक्त संघर्ष समितिद्वारा कैलाली र कञ्चनपुर बन्द

२०७३ मंसिर २४ गते, शुक्रबार

काठमाडौं, २४ मंसिर । थरुहट–थारुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको आमहड्तालका कारण कञ्चनपुर र कैलालीको जनजीवन प्रभावित भएको छ ।
सरकारले केही दिनअघि संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा कैलाली र कञ्चनपुरलाई उल्लेख नगरेको भन्दै संघर्ष समितिले आमहड्ताल आह्वान गरेको हो । समितिले कञ्चनपुर–कैलालीसहित नवलपरासीसम्मका तराईका जिल्लालाई एक प्रदेश र पूर्वी तराईको झापा, मोरङ, सुनसरीसहितको अर्को प्रदेश हुने गरी संशोधन प्रस्ताव ल्याउन माग गरेको छ ।
त्यसैगरी संघर्ष समितिले आन्दोलनका क्रममा थरुहट–थारुवानका कार्यकर्तामाथि कैलालीको टीकापुर घटनाको अभियोगसहित लगाइएका सबै मुद्दा निःशर्त खारेज गरिनुपर्ने मागसमेत गरेको छ । आमहड्तालका कारण कैलाली र कञ्चनपुरका यातायात र शैक्षिक संस्था ठप्प भएका छन् भने सरकारी, गैरसरकारी संस्था तथा व्यापार व्यवसाय र उद्योगधन्दामासमेत आंशिक प्रभाव परेको छ ।

प्रतिक्रियाहरु