क्यासिनो नेपालका सन्चालक वाद्वालाई पक्रन निर्देशन

२०७३ आश्विन ४ गते, मंगलवार

काठमाडौं, ४ असोज । व्यवस्थापिका संसद, सामाजिक न्याय तथा मानवअधिकार समितिले क्यासिनो नेपाल/नेपाल रिक्रिएसन सेन्टरका पूर्वकर्मचारीका उजुरीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, होटल सोल्टी, गृह मन्त्रालय र नेपाल प्रहरीलाई छलफलका लागि समितिमा बोलाएको छ । सो विषयमा अध्यययन गर्न गठित उपसमितिले समितिसमक्ष दिएको प्रतिवेदनका आधारमा थप छलफल गरी निष्कर्षमा पुग्न ती निकायलाई बोलाउने निर्णय गरेको हो । समितिका सभापति सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले तत्कालीन क्यासिनो नेपाल/नेपाल रिक्रिएसन सेन्टरका फरार सन्चालक राकेश वाद्वालाई पक्राउ गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।
होटल सोल्टीको प्रांगणमा रहेको सो क्यासिनो वि.सं. २०६९ साउन महिनादेखि बन्द छ । आर डी टटल र राकेश वाद्वाबीचको विवादले क्यासिनो बन्द भएपछि त्यहाँ कार्यरत् करिब एक हजार ६८ मजदुर बिचल्लीमा परेका छन् । ती मजदुरले आफूलाई तलब उपलब्ध गराइदिन निवेदन दिएकाले समिति सदस्य नरबहादुर थापामगरको संयोजकत्वमा ओङ्दी शेर्पा, कमला दोङ, कौशर शाह र खड्बहादुर बस्यालको सदस्य रहेको उपसमिति गठन गरेको थियो । सो उपसमितिले २०७३ भदौ ३१ गते समितिसमक्ष आफ्नो प्रतिवेदन पेस गरेको थियो । सो प्रतिवेदनमा पर्यटन मन्त्रालयलाई क्यासिनो नेपालको समस्या समाधानका लागि पहल गर्न भनिएको छ ।
बैठकमा समितिका सदस्य अष्टलक्ष्मी शाक्यले ‘क्यासिनो बन्द हुँदा मजदुरले रोजीरोटी गुमाउनु परेको हुँदा सरकारले तुरुन्त समस्याको समाधान निकाल्नुपर्छ’–भनिन् ।
समितिका अर्का सदस्य कमला दोङले क्यासिनो बन्द हुँदा सोल्टी होटलले मजदुरलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिन् । बैठकमा समितिका सदस्य उषा यादव, कमलाकुमारी घिमिरे,उषा यादव र कमला दोङ्ले उपसमितिले दिएको प्रतिवेदनका सुझाव र सरकारी धारणा बुझेर समितिले निर्णय गर्न सुझाव दिएका थिए । समितिको अर्काे बैठक असोज ९ गते बिहान ८ बजे बस्नेछ ।- रासस

प्रतिक्रियाहरु