दसैँको टिकट बुकिङ शुक्रबारबाट

२०७३ आश्विन ४ गते, मंगलवार

काठमाडौँ, असोज ४ गते । दसैँ, तिहार र छठलाई लक्षित गरी राजधानीबाट सञ्चालन हुने लामो दूरीका सवारीसाधन बसको अग्रिम टिकट बुकिङ शुक्रबारबाट खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वारले नारायणघाट–मुग्लिन सडकखण्ड विस्तारका क्रममा जामको समस्या बढेपछि यस वर्ष अग्रिम टिकट बुकिङ सेवा ढिलो गरी सञ्चालन गरेको बताउनुभयो ।
सडक विस्तारका क्रममा मुग्लिनदेखि नारायणघाटसम्म करिब पाँचदेखि आठ घण्टासम्म जाम हुने गरेको छ । उहाँले भन्नुभयो, “यसपटक चाडबाडमा घर फर्किनेको सुविधाका लागि महिना दिनअगाडि नै बुकिङ खुला राख्ने योजना थियो तर सडकका कारण सम्भव भएन । ”
राजधानीबाट उपत्यका बाहिरिनेको सुविधा र सुरक्षित यात्राका लागि बसको सङ्ख्या दोब्बरभन्दा बढी बनाउने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो । बालाजु गोँगबुस्थित नयाँ बसपार्कबाट नियमितरूपमा दैनिक एक हजारदेखि एक हजार पाँच सय सार्वजनिक सवारी छुट्ने गर्छन् ।
चाडबाडमा नयाँ बसपार्कबाट छुट्ने सवारीसाधनको सङ्ख्या तीन हजार पाँच सयदेखि चार हजारसम्म पुग्ने उहाँले बताउनुभयो । महासङ्घले यात्रुको सुविधाका लागि एसी, सुपर डिलक्स र साधारण गरी तीन किसिमको सुविधा रहेका बसको व्यवस्था गरिएको जनाएको छ ।
बसको सुविधा अनुसार नै टिकट शुल्क पनि निर्धारण गरिएको छ । वरिष्ठ उपाध्यक्ष स्वारले भन्नुभयो, “यातायात सेवाको अभावमा टिकट नपाएर चाडबाड मान्न घर जान पइएन भन्नुपर्ने अवस्था आउन दिन्नौँ । समस्या सडकको दयनीय अवस्था र जामको छ । यसप्रति सरकार गम्भीर हुनुपर्छ । ”
त्यस्तै चाडबाडका नाममा दलाली र सर्वसाधारण ठगिने भएकाले टिकट बुकिङ गर्दा सम्बन्धित काउन्टर र परिचयपत्र लगाएको कर्मचारीसँग सम्पर्क राख्न महासङ्घले आग्रह गरेको छ । लामो दूरीका सबै बस नयाँ बसपार्कबाट नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
यसअघि राजधानीका चाबहिल, गौशाला, कोटेश्वर, तीनकुने, बल्खु, सातदोबाटो लगायतका क्षेत्रमा आफूखुसी बस पार्किङ गरी सोही स्थानबाट टिकट काट्न लगाई यात्रुलाई ठगी गर्ने र कलङ्कीमा कुर्न लगाउने जस्ता समस्या हटाइएको छ । विद्यार्थी परिचयपत्रका आधारमा एउटा बसमा दुईजनाले छुट पाउनेछन् तर टिकट बुकिङमा छुटको व्यवस्था भने गरिएको छैन । छुट पाउन सम्बन्धित विद्यार्थी परिचयपत्रसहित घर फर्किने दिनमा नै टिकट काट्नुपर्नेछ ।
गत वर्ष नाकाबन्दीका कारण इन्धन अभाव हुँदा धेरैजसो चाडबाडअगाडि नै गाउँ फर्किएकाले भीडभाड निकै कम थियो । तर, यस वर्ष काठमाडौँबाट करिब २० लाख घर फर्किने अनुमान व्यवसायीको छ । – देवबहादुर कुँवर, गोरखापत्र

प्रतिक्रियाहरु