जोखिममा रहेका बालबालिकालाई लक्षित गरी अक्षय कोष स्थापना

२०७३ भाद्र २५ गते, शनिबार

काठमाडौं, २५ भदौ । काभ्रेपलाञ्चोकमा जोखिममा रहेका बालबालिकालाई लक्षित गरेर रु एक करोड ६ लाख ५० हजार बराबरको अक्षय कोष स्थापना भएको छ । जिल्लाको पुरानोगाँउ, मेथिनकोट, पात्लेखेत, गैरीबिसौना देउपुर, उग्रचण्डीनाला, भिमखोरी, श्यामपाटीलगायत ३५ गाविसमा रु तीन लाखदेखि रु पाँच लाखसम्मको अक्षयकोष विभिन्न विद्यालयमा स्थापना भएको जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकले जनाएको छ ।
यसको उद्देश्य जोखिममा रहेका बालबालिकालाई शिक्षामा पहुँच बढाउनका लागि आर्थिक सहयोग गर्ने हो, जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकका अधिकृत विदुर गौतमले बताए ।
जिल्लाका विभिन्न गाविसमा रहेका विद्यालयमा तीन जनादेखि नौ जनासम्म विद्यार्थीलाई स्थापना भएको अक्षयकोषबाट प्राप्त हुने ब्याजमार्फत बर्सेनि रकम प्रदान गरिन्छ ।
जिल्लाका विभिन्न विद्यालयका ९३ जना बालबालिकामध्ये अधिकांश दलित, विपन्न समुदायका र अभिभावक गुमाएका छन् । विगत दुई वर्षदेखि सेभ ‘द’ चिल्ड्रेनको सहयोगमा जिल्ला विकास समिति, धुलिखेलमार्फत सञ्चालित बाल संवेदनशील सामाजिक परियोजनामार्फत गाँउ बाल अक्षयकोष स्थापना भएको हो । – रासस

प्रतिक्रियाहरु