पशुपतिमा पासको व्यवस्था खारेज

२०७३ भाद्र १८ गते, शनिबार

काठमाडौँ, १८ भदौ। तीजपर्वका अवसरमा भगवान् पशुपति मन्दिर प्रवेशका लागि प्रदान हुँदै आएको प्रवेश पासको व्यवस्था यसपल्ट खारेज गरिएको छ । आइतबार व्रत बसेका हिन्दु नारीहरू पशुपतिनाथको दर्शन गर्न बिहानैदेखि लाम बस्ने गर्छन् । मन्दिर परिसरमा स्वयम्सेवकका रूपमा महिला प्रहरीलाई मात्र प्रवेश अनुमति दिइएको छ । जयवागेश्वरी, दक्षिणामूर्ति भई उमाकुण्ड र तिलगङ्गाबाट मात्र मन्दिर प्रवेश व्यवस्था मिलाइएको छ । यी तीन स्थानमा पङ्क्तिबद्ध भक्तजनलाई आफू प्रवेश गरेकै ढोकाबाट बहिर्गमन व्यवस्था मिलाइएको छ ।
यसपल्ट सशुल्क दर्शन व्यवस्था पनि राखिएको छैन । मन्दिर परिसरमा दुई स्वास्थ्य शिविर रहनेछन् भने जुत्ता चप्पल खोल्ने स्थानलाई विभिन्न स्थानमा व्यवस्थित गरिएको छ । सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीका तीन हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा तैनाथ गरिने छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले सो जानकारी दिनुभएको हो । उप्रेतीका अनुसार, यसपल्ट सामाजिक संस्थाले स्वयम्सेवा गर्ने परिपाटी पनि हटाइएको छ । भक्तजनभन्दा स्वयम्सेवकको भीडभाड बढी हुने गरेकाले यो व्यवस्था हटाइएको हो । नाचगान गर्ने भक्तजनले पशुपति क्षेत्रको भित्री भागमा प्रवेश गर्न पाउने छैनन् । अशक्त, अपाङ्गता भएका ज्येष्ठ नागरिकले कोषको गौशालास्थित कार्यालयमा सम्पर्क राखेर ह्विलचेयरबाटै पशुपतिनाथको दर्शन गर्ने सहज व्यवस्था मिलाइएको छ । पङ्क्तिबद्ध सबै भक्तजनलाई चन्दन र फूलप्रसाद वितरण व्यवस्था मिलाइएको छ भक्तजनले भेटी व्यवस्थित रूपमा अर्पण गर्न दानपात्रको मन्दिर पटाङ्गिनीमा व्यवस्था गरिएको छ । आइतबार हरितालिका पर्व परेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु