खाद्य संस्थानले दसैंका लागि खसीबोका भित्र्याउने

२०७३ भाद्र १६ गते, बिहीबार

काठमाडौँ, १५ भदौ । नेपाल खाद्य संस्थानले दसैंमा काठमाडौँका उपत्यकामा मासुको आपूर्तिका लागि तीन हजार खसीबोका र च्याङ्ग्रा खरिद गर्ने भएको छ ।
संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले एक हजार ५०० खसीबोका र एक हजार ५०० च्याङ्ग्रा खरिद गर्ने बताए । संस्थानले खसीबोका सिरहाको लहानस्थित अञ्चल कार्यालयबाट ६००, दाङको तुलसीपुरस्थित अञ्चल कार्यालयबाट २००, नेपालगन्जस्थित अञ्चल कार्यालयबाट १५० र वीरगन्ज शाखा कार्यालयबाट ५५० खरिद गर्ने भएको छ ।
यसैगरी, खाद्य संस्थानको मुस्ताङ शाखाबाट एक हजार ५०० च्याङ्ग्रा खरिद गरिने छ । संस्थानले खसीबोका र च्याङ्ग्राको खरिदका लागि रु चार करोड ६७ लाख विनियोजन गरेको छ । घटस्थापनाभन्दा दुई दिनअघि ती खसीबोका र च्याङ्ग्रा काठमाडौँ ल्याउने बताइएको छ ।
गत वर्ष मधेस आन्दोलन, नाकाबन्दीले गर्दा संस्थानले माग गरेकोभन्दा आधा कम आएको थियो । खसीबोका बजारमूल्यभन्दा प्रतिकिलो रु १० देखि २० कम मूल्यमा बेचिने बताइएको छ । कार्कीका अनुसार जिल्लाबाट आएका खसीबोकाको मूल्य ढुवानी खर्च कटाएर तोकिनेछ ।

प्रतिक्रियाहरु