के हाम्रो देशको शिक्षा प्रणाली ठिक छ ? – डा.छवि पन्थी [पृथक]

२०७३ भाद्र १५ गते, बुधबार

आजको दुनियाँमा संसार भरी नै हिमवत श्रिंखलाको वैदिक शिक्षा प्रणाली दिनानु दिन प्रशंसनीय बन्दै गैरहेको छ । हाम्रा वैदिक ज्ञान, ज्योतिष, भूगोल, खगोल, ध्यान,योगा र उपचार पद्दतीहरुको बढ्दो आकर्षणलाई अझै पनि वेबास्ता गरेर पश्चिमी,पाश्चात्य, पाखण्डी र ढोंगी बाइवलमा आधारित शिक्षालाई अंगाल्नु के यहाँको माटो र यसले सृजना गरेको मौलिकताका अनगिन्ती उपलब्धिहरुलाई अन्नाय न होला र ? केही नगन्य सँख्याका बिध्यार्थीहरु विभिन्न बिधाहरुमा संसारभर उत्कृष्ट भईरहेका छन । बिदेशमा गएर डाक्टर, ईन्जिनिएर, पाइलट, बैज्ञानिक लगायत कैयौंन क्षेत्रमा उच्च दक्षता र योग्यता हासिल गरेता पनि कुल उत्पादनको औसतलाई गहिरो अध्ययन गर्ने हो भने पंक्तिकारले यो लेखमा उठान गर्न खोजेका कुराहरुलाई नजर अन्दाज गर्न मिल्छ र ? यो आँशिक सफलता केवल बँशाणुमा मात्र सिमित हुनु मेकाले शिक्षा पद्धतिको असफलता होईन र ?
आज भन्दा करिब दुई सय बर्ष पूर्व सन् १८३५ तिर लर्ड मेकाले र सन् १८५६मा पादरी काल्डवेलले सम्पूर्ण महाभारतमा आफ्नो साम्राज्य स्थापना गर्नको लागि हात हतियार प्रयोग गरेर क्रिस्चियन धर्मको विकास गर्न र वैदिक सनातनी संस्कृतिलाई छिन्नभिन्न पार्ने कार्य गर्यो । जतिबेला सम्पूर्ण महाभारतको हिमवत र द्रविड खण्डमा गुरुकुल शिक्षा पद्धती थियो जहाँ शिक्षाको साथ साथ संस्कारमा जोड दिईन्थ्यो र त्यही संस्कारको बलमा वैदिक सनातन आर्य समाज बिश्वको शैक्षिक केन्द्र बनेको थियो तर जब अंग्रेज भारतमा आए र उनीहरुले यहाँको सुन्दर संयुक्त्त परिवारका चरित्रहरु संस्कारवान पुरुष र शिलवती नारीलाई देखे, उनीहरुहरुले कल्पना नै नगरेको अबस्था पाए जहाँ कोही पुरुष र महिला जीवन भरी एकै जोडिमा बस्न सक्छन, कुनै बालक आफ्नो माता पितालाई बुढेशकालमा काँधमा बोकेर तीर्थ डुलाउँछ, यी र यस्तै अनेकौ चरित्रहरुले अन्त्यमा फिरंगीहरुको ध्यान आकर्षण गर्यो तदअनुरुप अंग्रेज भाइ सराय विलियम एडमले टी.बी.मेकालेलाई पुरै महाभारतको सर्भे गर्न लगाएर ब्रिटिश संसदमा एक रिपोर्ट पेस गर्यो, त्यो रिपोर्टमा मेकालेले भनेको थियो कि आर्य समाजको सम्पन्नताको आधार भनेको यहाँको गुरुकुल र सु-संस्कृत समाज हो । यदि यो गुरुकुल र संस्कार नष्ट गर्न सकियो भने हामी सजिलै सँग यो भूमीलाई हाम्रो गुलाम बनाउन सक्छौं भन्ने निचोडको साथ मेकालेको रिपोर्ट अनुसार नै ब्रिटिश संसदले कानुन बनायो र सम्पूर्ण गुरुकुलहरुलाई अबैध घोषणा गर्यो । यहि समय देखि मेकालेको शिक्षा नीतिले हालको दक्षिण एसियामा नैतिक र चारित्रिक स्तरलाई अहिलेको अबस्था सम्म ल्याई पुर्यायो ।
यसरी उनीहरु तत्कालीन महाभारतमा ब्रिटिश साम्राज्यको विस्तार हुनुभन्दा अघि ब्रिटिश शासन कसरी फैलाउन र बलियो बनाउन सकिन्छ भन्ने बारेमा अध्ययन गर्न आएका थिए। उनीहरुले यहाँको बौद्धिक, वैदिक शिक्षा पद्धती, आचरण, जीवन शैली,पारिवारिक एकता र यथार्थ बस्तुस्थितीको अध्ययन गरेर ब्रिटिश सरकारलाई प्रतिवेदन दिएका थिए ।उनीहरुको प्रतिवेदनमा मुख्य धारणा के थियो भने शिक्षा पद्धतिमा आमूल परिर्वतन गरी यहाँको भाषा, संस्कृति र आचरणमा परिवर्तन नगरेसम्म ब्रिटश साम्राज्य बलियो हुँदैन र बनाउन सकिदैन भन्ने थियो । त्यसै अनुसार यहाँ पश्चिमी, पाखण्डी र ढोंगी शिक्षा पद्धति लागू गरियो । बौद्धिक, वैदिक शिक्षा, भाषा संस्कृति र नैतिक शिक्षालाई बिस्थापन गरियो । यो घटनाक्रमले नेपालमा पनि मेकाले को शिक्षा पद्धति भित्राउन सहज भयो । यसको परिणाम स्वरुप अहिले नेपाल र भारतमा समेत वैदिक शिक्षा र संस्कृत भाषा प्राय लोप हुने अवस्थामा पुगेका छन् । अहिले पश्चिमी भाषा संस्कृति, शिक्षा प्रणाली र खराब फेसनहरुले नराम्ररी जरो गाडिरहेका छन्। त्यस कारण यो शिक्षा पद्धतिले सनातन धर्मलाई लोप गराउन त मूल चुनौती दिएको नै छ भने यहाँको माटो सुहाउँदो सृजनशीलतालाई निमीट्यान्न पारेको छ ।
यसरी गुरूकुल शिक्षा प्रणाली पत्तासाफ हुन जाँदा मेकाले शिक्षाले विचारक, सर्जक होइन कारिन्दा मात्र उत्पादन गरिरहेको छ, मालिक होईन नोकर उत्पादन गरी अन्तराष्ट्रीय श्रम बजारमा रोजीरोटीको लागि मानव तस्करी गरिरहेको छ । जसको परिणाम संसारलाई ज्ञान, बिज्ञानको र धर्मद्वारा पोषित गर्ने मुलुक अहिले नाम मात्रका शैक्षिक बेरोजगारहरु उत्पादन गर्दा वैचारिक विचलनता र सिर्जनशीलतामा पछाडि पर्न गई मानवीय जीवन क्रमश यान्त्रिक बन्दै गईरहेको छ । यो दुखद क्षणमा पश्चिमबाट पढेर आएका विद्वानहरूले साम्राज्यवादी शोषणका मनगढन्ते फुस्रा साहित्य अनि गणितको नाफा-घाटाका प्रविधिहरू सिकाईरहेका छन्। जसको परिणाम स्वरुप यहाँको एउटा उच्च वर्ग पश्चिमी सभ्यता र आधुनिकताको सिको गर्दै देश छोडेर दिनानु दिन पलायन भईरहेका छन जुन बढो दुर्भाग्यपूर्ण छ ।
यदि समय मै यो मेकालेको शिक्षा प्रणालीबाट हाम्रो पवित्र भुमी नेपाललाई बचाएनौ र हाम्रो शिक्षा नीति लागू गरेनौ भने नेपाल र नेपालको मौलिक अस्तित्वलाई कसैगरी जोगाउन सकिन्न । त्यसैले हालको शिक्षा नीतिमा परिर्वर्तन हुनु जरुरी छ। आधारभूत पाठ्यक्रममा श्रुति र स्मृतिका पाँचै धर्मग्रन्थ सहितको वैदिक शिक्षा, नैतिक शिक्षा,संस्कृत भाषा र यहाँको मौलिक संस्कृति समेत समावेश गरिनु आवश्यक छ कि कसो ?
( राष्ट्रीय जागरण अभियानका लागि चिनको बेईजिंगबाट)

प्रतिक्रियाहरु