मन्त्रिपरिषद् विस्तार हुँदै

२०७३ श्रावण २६ गते, बुधबार

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो दलका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन । सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउन समय लाग्ने बताएपछि प्रधानमन्त्री प्रचण्डले आज आफ्नो दलका नेताहरूलाई मात्र समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
नेकपा (माओवदी केन्द्र)को सचिवालय बैठकले मङ्गलबार पार्टीको तर्फबाट बन्ने मन्त्रीहरूको अन्तिम टुङ्गो लगाउन अध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेपछि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना देखिएको हो । माओवादी केन्द्रका एक नेताका अनुसार नयाँ मन्त्रीहरूमा हितराज पाण्डेले स्थानीय विकास, सुरेन्द्र (राम) कार्कीले सूचना तथा सञ्चार, जनार्दन शर्माले ऊर्जा, धनीराम (डिआर) पौडेलले शिक्षा र प्रभु शाहले कानुन तथा न्याय मन्त्रालयको जिम्मेवारी लिने तय भएको छ । यद्यपि यसको अन्तिम निर्णय गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।
प्रस्तावित सबै नामहरूलाई नै अध्यक्ष प्रचण्डले अन्तिम टुङ्गो लगाएमा यसपटक माओवादी केन्द्रबाट महिला मन्त्री नबन्ने देखिएको छ । पार्टीभित्र यसबारे आलोचना सुरु भएको छ । यद्यपि नेताहरूले अर्को पटक मन्त्रिपरिषद् विस्तार गर्दा राज्यमन्त्रीमा केही महिला तथा जनजातिको तर्फबाट समेट्ने योजना रहेको बताइएको छ ।
माओवादीले यसअघि अर्थ, कृषि र युवा तथा खेलकुद मन्त्री पठाइसकेको छ । सत्ता साझेदारलाई दुई ठूला दलबीच प्रधानमन्त्रीको पार्टीले ८ वटा र काँग्रेसले १३ वटा मन्त्रालय लिने सहमति भएको छ । माओवादीले आफ्नो मन्त्रीहरू नियुक्त गरेपछि काँग्रेसको भागमा परराष्ट्र, स्वास्थ्य, पर्यटन तथा नागरिक उडान, रक्षालगायतका मन्त्रालयहरू पर्ने देखिएको छ । सरकारमा सहभागी नेकपा (संयुक्त)ले एक र राप्रपाले दुई मन्त्री पठाइसकेको छ । उनिहरू अहिले विना विभागीय मन्त्रीको रूपमा काम गरिरहेका छन ।
माओवादी केन्द्रको बैठकले २ गते गर्ने भनेको महाधिवेशन आयोजक समितिको बैठक पनि सार्ने निर्णय गरेको छ । बैठकलाई राष्ट्रिय भेलाको रूप दिएर ११ गते गर्ने तय भएको बताइएको छ ।

प्रतिक्रियाहरु