वर्तमान सरकार दक्षिणपन्थी : वैद्य

२०७३ श्रावण २३ गते, आईतवार

काठमाडौँ, २३ साउन । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान कांग्रेस र माओवादी समीकरणमा बनेको नयाँ सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताएका छन । वर्तमान सरकार दक्षिणपन्थीको समर्थनमा बनेको बताउँदै देश र जनताको हितमा काम गर्न नसक्ने अध्यक्ष वैद्यको ठोकुवा छ । आज चितवनको भरतपुरमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले नयाँ सरकार भर्खरै बनेकाले यदि देश र जनताको पक्षमा काम गर्न सके पुष्पकमल दाहाल नेतृत्वको अहिलेको सरकारको आफूहरुले विरोध नगर्ने प्रस्ट्याए । अध्यक्ष वैद्यले संसदीय व्यवस्थामा सरकार बनाउनु र भत्काउनु सामान्य प्रक्रिया भएको भन्दै यस्तो व्यवस्थाले देशको विकास हुन नसक्ने बताए ।
आफूहरुले भन्दै आएको क्रान्ति अझै पुरा नभईसकेको कारण सरकारमा कोही जाँदैमा क्रान्ति पुरा नहुने वैद्यले बताए । उनले क्रान्ति पुरा गर्नको लागि संसदीय व्यवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । यसैगरी अध्यक्ष वैद्यले अब आफ्नो पार्टीले माथिल्लो कर्णाली आयोजना र सुकुम्बासी समस्या समाधानका लागि छिट्टै राष्ट्रव्यापी आन्दोलन गर्ने बताए । माथिल्लो कर्णाली आयोजना देशकै लगानीमा बन्नुपर्ने भन्दै भारतीय कम्पनीलाई दिएको विरोधमा असोज २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र सुकुम्बासी समस्या समाधानको माग गर्दै आउँदो भदौं १५ गते देशव्यापी आन्दोलन गर्ने वैद्यले जानकारी दिए ।
यस्तै नेता वैद्यले मधेसको जायज माग पूरा गर्नुपर्ने बताउँदै संविधान संशोधनले मात्रै देशको समस्या समाधान नहुनेदावी गरे ।

प्रतिक्रियाहरु