‘एकीकृत जनक्रान्तिमा प्रचण्डले प्रयोग गरेका विधि हुँदैनन्’

२०७३ श्रावण २३ गते, आईतवार

काठमाडौं, २३ साउन । नेकपा माओवादीका पोलिटब्युरो सदस्य एवं केन्द्रीय जनपरिषद प्रमुख सन्तोष बुढाले अबको नेपाली क्रान्ति प्रचण्डले थाहा नपाउने विधिबाट हुने बताएका छन् । शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल जनसाँस्कृतिक महासंघले ‘कवितामा राष्ट्रियताका स्वरहरु’ विषयक कवि गोष्ठीमा बोल्दै बुढाले सो धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाले अहिले माओवादी पार्टीलाई फेरि जनयुद्धको बाटोमा जाने भयो, हतियार उठाउन पुरानै बाटोमा लग्दैछ भनेर गरिरहेको प्रचार झुठा भएको बताए । बुढाले भने, ‘दश वर्षे जनयुद्ध जनताको सफल युद्ध भएपनि त्यसका नाइके प्रचण्ड स्वयम प्रतिक्रियावादी कित्तामा उभिन पुगेपछि पहिलेको विधिको अब काम छैन । बरु, उनले थाहा नपाउने विधिबाट क्रान्ति अगाडि बढ्छ ।’
नेपाली भूमिमा जनयुद्धको राप र तापले प्राप्त गणतन्त्रात्मक व्यवस्थालगायतका विषयलाई जनपक्षीय व्यवस्थामा ल्याउन ठूलो लडाई लड्न बाँकी रहेको बताए । ‘जनयुद्धमा माओवादीले दुस्मनको काँडेतार छिचोल्ने र हवाई आक्रमणलाई प्रतिरोध गर्न सक्ने प्रविधिको विकासमा तत्कालीन नेतृत्व लागेको भए अहिले देश माओवादीमय भइसक्थ्यो’ उनले भने । तर व्यक्तिगत स्वार्थमा लाग्दा प्रचण्ड–बाबुराम बुजुर्वाको क्याम्पा छिरेको उनको भनाई थियो ।
महासंघ केन्द्रीय कार्यालय टिमका सदस्य एवम् प्रगतिवादी समालोचक अशोक सुवेदीले कवितामा राष्ट्रियताका स्वरहरु, नेपालमा राष्ट्रियता पक्षधर साहित्यको इतिहास, वर्तमान र भविष्यका बारेमा अवधारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ प्रगतिवादी कवि पूर्ण बिराम, सरला रेग्मी, अमृता स्मृति, चिरन पुन, निभा शाह, अशोक कुँवर ‘नेत्र’, मोहनलाल घिसिङ, केशव सिलवाल, गणेश बोहोरा, रघु अधिकारी, पुण्य गौतम ‘विश्वास’, ढुण्डीराज अधिकारी, आरोह नेपाली, दिनेश संग्रौला, केवल विनावी, अर्जुन कटुवाल, राजु स्याङ्तान, ज्ञानबहादुर खड्का, जीवन हमाल, मुक्तान थेवा, झनक श्रेष्ठ, सन्तोष बुढा, टेक बलम्पाकीलगायतले कविता र गीतका माध्यमबाट राष्ट्रियताको पक्षपोषण गरेका थिए ।
कार्यक्रममा सहिद कृष्ण सेन ‘इच्छुक’, चुनु गुरुङलगायतका कविता पनि वाचन गरिएको थियो । महासंघ संयोजक एवम् नेकपा माओवादीका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन महासंघका कुशल बोगटीले गरेका थिए ।

प्रतिक्रियाहरु