अप्राकृतिक सत्ता समीकरणका प्राकृतिक रहस्य

२०७३ श्रावण २१ गते, शुक्रबार

काठमाडौ, २१ साउन । दक्षिण एसियामा राजनीतिक तरलता नौलो कुरा होइन । अझ नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको राजनीतिक अवस्थामा त दयनीय नै देखिँदै आएको छ । दक्षिण एसियामा भारत र उसको छायामा पश्चिमी देशहरूले खेल्दै आएको कुरालाई विभिन्न विश्लेषकहरूले चर्चा गर्दै आइरहेका छन् । दोस्रो विश्वयुद्धपछि मूलतः नाटो र वार्सा प्याक्टका देशहरूबिच शीतयुद्ध नै चलिरहेको छ । अमेरिका, इयु, बेलायतले खुलेरै नाटोको नेतृत्व गरिरहेको छ भने रुस, चिन, उत्तर कोरिया जस्ता मुलुकले कम्युस्निट शक्तिकेन्द्र स्थापनाको प्रयास गदै छन् ।
नेपालमा देखिरहने राजनीतिक सत्ताबाजी र समीकरण त्यही नाटो र कम्युनिस्ट शक्तिकेन्द्रहरूबिचको लडाइँ हो भन्ने कुरामा विद्वान्हरू सहमत देखिन्छन् । यो कुरालाई नेपालको राजनीतिक इतिहास वृत्त र वर्तमानको राजनीतिक प्रयासहरूले समेत पुष्टि गर्दछ ।
नेपालले उनन्चालिसौँ प्रधानमन्त्रीको रूपमा नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाएको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुमा भारत र पश्चिमी शक्तिकेन्द्रको महत्त्वपूर्ण भूमिका रहेको कुरा विश्लेषकहरूले बताउने गरेका छन् । नेपालमा पछिल्लो समय देखिँदै गएको कम्युनिस्ट राष्ट्रवादलाई देखिनसहने भारत, अमेरिका लगायतका देशहरू नेपालमा कम्युनिस्ट राष्ट्रवाद भत्काउन चाहन्छ । जुन काम वर्तमानमा नेकपा एमाले– माओवादी केन्द्र गठबन्धनको सरकार ढालेर एक हदसम्म अघि बढेको छ ।
अप्राकृतिक गठबन्धन र सत्ता समीकरण
यति बेला नेपालका उनन्चालिसौँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । वर्तमान संसदमा तेस्रो स्थान रहेको माओवादी केन्द्र र पहिलो स्थान रहेको नेपाली काङ्ग्रेसबिचको यो समीकरण सामान्य लागे तापनि शक्तिकेन्द्रका हिसाबमा अप्राकृतिक देखापर्दछ ।
माओवादी केन्द्र कम्युनिस्ट शक्तिकेन्द्र र काङ्ग्रेस भारत र पश्चिमी शक्तिकेन्द्रसँग नजिक रहेका पार्टीहरू हुन् । प्रचण्डले एकै शक्तिकेन्द्रबाट निर्देशित नेपाल कम्युनिस्ट पार्टी एमालेसँगको गठबन्धनलाई अविस्वास गरेर एकाएक काङ्ग्रेससँग घाँटी जोडाउन पुग्नु सामान्य कुरा होइन । विश्लेषकहरू यसलाई भारत र पश्चिमाको नयाँ नेपाली गोटी चालको रूपमा विश्लेषण गर्दछन् ।
किन गरे ओली सरकारलाई अविस्वास ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार हुँदै गर्दा प्रचण्ड लगायतका माओवादी शीर्ष नेताहरूलाई युद्ध अपराधसम्बन्धी मुद्दामा गिरफ्तार गर्ने गोप्य योजनाहरू भए । जुन कुराको भेउ पाएका प्रचण्डले आफूले गर्ने भनेको अस्ट्रेलिया भ्रमणसमेत स्थगित गर्नुप-यो । एनजिओमा राम्रो पहुँच भएको एमालेले आफ्ना विदशी सङ्घ सङ्गठनलाई प्रयोग गरेर अन्तर्राष्ट्रिय घेराबन्दीमा पार्न लागेको चाल पाएपछि ओलीलाई अन्धो समर्थन गरेका प्रचण्ड झस्किए । यता देशभित्र जिल्ला प्रशासन कार्यालयमार्फत् युद्धसम्बन्धी मुद्दा दर्ता गराउँदै स्थानीयदेखि केन्द्रसम्मका माओवादी नेतालाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको रिपोर्टिङ प्रचण्डसम्म पुग्यो ।
माओवादी एकीकरणको प्रयास पनि त्यसै गतिविधिपछि देखिएको परिणाम थियो । वर्तमानमा जसरी पनि माओवादी एकीकरण गरेर एमालेको ध्यान भङ्ग गर्ने प्रयासमा माओवादी केन्द्र लाग्यो, जसमा आंशिक सफलता मिल्यो । एमालेको घेराबन्दीलाई निस्तेज पार्न एकीकरणपछि पम्फा भुषाल, बादल, मात्रिका यादव जस्ता शीर्ष नेताहरूले माओवादी केन्द्रले तत्काल सरकारबाट समर्थन फिर्ता लिनुपर्ने कुरामा जोड दिए । प्रधानमन्त्रीसहित सरकारको अङ्ग भएर आफ्नो सरकारको समयावधिभित्र आफ्ना सम्पूर्ण मुद्दा टुङ्ग्याउने माओवादी केन्द्रको योजना बन्यो ।
माओवादी केन्द्रमा यसबाट नारायणकाजी श्रेष्ठलाई घाटा र बाँकी एकीकरणपछिका बादल, पम्फा, यादव लगायतका नेतालाई फाइदा थियो । बादल र पम्फालाई आफ्ना मान्छेलाई सरकारमा सेटिङ गराउन यो राम्रो अवसर थियो भने यादवलाई भारतीय एजेन्डा स्थापित गराई मधेसको मुद्दा सम्बोधन गराउन उपयुक्त अवसर थियो । जसले गर्दा माओवादी केन्द्रले ओली सरकारलाई अविस्वास गर्ने आधार बन्यो ।
काङ्ग्रेस र भारतको भित्री चासो
एक राजनीतिक विश्लेषकका अनुसार काङ्ग्रेस शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनाउन चाहन्थ्यो । प्रचण्ड अविश्वासी पात्र भएकाले प्रचण्डका चिल्ला कुरा र उधारो आश्वासनमा काङ्ग्रेस फँस्न नहुने तर्क काङ्ग्रेसभित्रकै नेता कार्यकर्ताले सुझाएका थिए । तर रातारात भारतीय राजदूताबासले यस पटक जसरी पनि प्रचण्डलाई सरकारको नेतृत्व सुम्पन रटान कसेपछि भने काङ्ग्रेस पछि हटेको थियो । भारत एमाले र माओवादीलाई एकसाथ आएको कदापि रुचाउँदैन । यदि यी शक्तिहरू एक भए नेपालमा कम्युनिस्ट सशक्त हुने र भारतीय प्रभाव कमजोर हुने आँकलन भारतको छ । अझ चिनिया राष्ट्रपति सि जिन पिङको भ्रमण भन्ने खबरले भारतीय राजदूताबासदेखि दिल्लीसम्मकै मुटुमा ढ्याङ्ग्रो बजेको छ ।
आफूले एकतर्फी नाकाबन्दी गर्दासम्म टसकोमस नभएको ओली नेतृत्वको सरकारलाई झापड हान्दै दीर्घकालसम्म प्रचण्डसँगको सहकार्य टार्ने भारतको दाउ रहेको छ । जुन कुरालाई काङ्ग्रेस–माओवादी केन्द्रको सत्ता समीकरणले सहयोग गर्ने उसको बुझाइ छ ।
सरकार प्रचण्डलाई बोकाको मुखमा कुबिन्डो
प्रचण्डलाई वर्तमान सरकार बोकाको मुखमा कुबिन्डो हुने छ । आफ्नो पार्टीभित्रकै शीर्ष नेताहरूको मन्त्री पद पड्काउने महत्त्वाकाङ्क्षा पुरा नहुँदा उत्पन्न हुने सकस र काङ्ग्रेसको रणनीतिक असहयोगले सरकारलाई गारो पार्ने छ । गृह, रक्षा, भौतिक योजना तथा यातायात, परराष्ट्र, शान्ति तथा पुनर्निर्माण जस्ता महत्त्वपूर्ण मन्त्रालय काङ्ग्रेसले पाएपछि प्रचण्डलार्ई प्रधानमन्त्री पद खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाउको अनुहार हुने छ ।
माओवादी केन्द्रका कार्यकर्ता पनि सिंहदरबारले आफ्नो काम नगरिदिएपछि चिढिने छन्, जसबाट पार्टीभित्रै प्रचण्ड र सरकार विरुद्ध आवाज उठ्ने छ । यसैबिच काङ्ग्रेस भने लोकप्रिय हुने, आफ्ना कार्यकर्तालाई सरकारी पदमा भर्तीको लर्कोमा लगाउने, सके यही सरकार नसके अब बन्ने आफ्नो नेतृत्वको सरकारमा तिनलाई भर्ना गर्न सफल पारेर कार्यकर्तालाई फकाउने र जनतालाई मुभ गराउने रणनीतिमा सफल बन्ने छ ।
चुनाव र एमालेलाई जनसमर्थन
यति बेला एमाले र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताको राम्रो समर्थन रहेको छ । ओलीको नेतृत्वमा रहँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाले विश्वसामु नेपालमाथि भारतले लगाएको नाकाबन्दीबारे जानकारी गराएर क्रेडिट लिने काम गरेभन्दा इतर एमालेबाहेक अन्य पार्टीले सकेनन । उता प्रतिपक्षमा बसेको काङ्ग्रेसको हालत त झन् चौपट छ । सुशील कोइराला प्रधानमन्त्री हुँदा भारतले एकतर्फी नाकाबन्दी गर्दा टुलुटुलु हेर्ने प्रधानमन्त्रीको रूपमा चित्रित भए । तत्कालीन सूचना तथा सञ्चार मन्त्री मीलेन्द्र रिजालको व्यवहार र केही मन्त्रीहरूको उदासीनताले जनता चिढिए ।
आन्तरिक राष्ट्रवादको नाममा ओली सरकारले जुन किसिमको काम गरेको छ, त्यो प्रशंसनीय छ । भारतले करिब आधा वर्ष नै नाकाबन्दी गर्दा पनि भारतसामु नझुकेको बिम्ब र महत्त्वाकाङ्क्षी योजना तथा बजेटले एमालेलाई हाईहाई बनाएको छ । स्थानीय स्तरमा अहिले ढुङ्गामाटो जे उठाए पनि चुनाव जित्न सक्ने अवस्थामा एमाले पुगेको छ । यस्तो अवस्थामा जनतासामु बिग्रिएको आफ्नो साख सुधार्न काङ्ग्रेस र माओवादी केन्द्रलाई हम्मेहम्मे पर्ने देखिन्छ । – नेत्रबहादुर कुँवर

प्रतिक्रियाहरु