सरकरले तीन काम गर्न नसके माओवादी केन्द्रको अस्तित्व खोज्नुपर्नेः बादल

२०७३ श्रावण २१ गते, शुक्रबार

काठमाडौँ , २० साउन । नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय सदस्य रामबहादुर थापा ‘बादल’ ले आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारले स्थायी शान्ति स्थापना, उत्पीडित समुदायको अधिकारको संरक्षण, र भूकम्पीडितलाई राहत पुनर्निर्माणलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
‘ओली जीको नेतृत्वको सरकारले उत्पीडित जातिको अधिकारको संरक्षण, स्थायी शान्ति, पुनर्निर्माणको कामलाई टुंगोमा पुर्याउन नसकेका कारण त्यसलाई ढालिएको हो’ बादलले भने ।
बिहीबार संवाद डबलीमा फाल्गुनन्द लिङ्देन फिल्मस्को प्रथम अवार्डको मनोनयनपत्र वितरण कार्यक्रममा बोल्दै बादलले माओवादी केन्द्रको नेतृत्वमा बन्नु अबसर र चुनौती दुबै भएको बताए । उनले जनताले गरेको अपेक्षअनुसार पार्टी अध्यक्ष प्रचण्डले सरकारले काम गर्न नसके माओवादी केन्द्रको स्थान खोज्नु पर्ने अवस्था आउने बताए । ‘हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको छ । यो अवसर र चुनौती दुबै हो । उत्पीडित समुदायले उठाएका माग र जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधन गर्न सकिएन भने माओवादी केन्द्रको अहिलेकै स्थानमा हुने छैन’ बादलले भने ।
माओवादी केन्द्रका संगठन विभाग प्रमुख समेत रहेका बादलले संविधानका केही बुँदाहरु प्रतिगामी रहेको बताउँदै नयाँ सरकारले त्यसको संशोधन गरेर सबैको अधिकार सुनिश्चित गर्ने बताए । उनले नेपाली काँग्रेससँग भएको सात बुँदे र मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति नै नयाँ सरकारका अधार भएको बताए ।
कार्यक्रममा बोल्दै बादलले फाल्गुनन्द फिल्मस् प्रा.लि.ले आयोजना गर्न लागेको अवार्डले उत्पीडित र पछाडि पारिएको समुदायको संस्कृतिको संरक्ष गर्दै कला र प्रतिभाको सम्मान गरेको बताए ।
‘एफएलएफ अवार्ड २०७३’ को लागि चलचित्रको कथा, निर्देशन, नायक, नायीका, गायक गायीका गरी १८ विधा र म्युजिक भिडियो अन्तरगत ९ विधा समेटिएका छन् । मनोनयनमा थत्थामा, खापुङ्ना, अंलारी फुङ्गलगायत छन् । कलाकारहरुमा प्रेम सुब्बा, शोभा खजुम, बबिता फाम्बो, राजकुमार आङदेम्बे, पुष्पा लिम्बु, राजकुमार लिङ्देन आदि रहेका छन् । त्यसैगरी दुर्गा नेम्वाङ्ग, किशोर सुब्बा, सागर सुब्बा, लोकन साँबा निर्देशक र गायक गायीकाहरुमा सुशन साम्सुहाङ्ग, पवित्र सुव्वा, मनु नेम्वाङ्ग मनोनयनमा परेका छन् ।
फाल्गुनन्द लिङ्देन फिल्मस प्रालिका निर्देशक दिनेश लिङ्देनको संयोजकत्वमा लिम्बु भाषविद् येहाङ् लावती, निर्देशक उदय सुब्बा र गायक तथा संगीतकार कुल्बा सुव्वाको छनौट समितिले सो मनोनयन गरेको हो ।
मूल आयोजक कमिटीका संयोजक तथा निर्देशक दिनेश लिङ्देनका अनुसार यही साउन ३२ गते प्रज्ञा भवन कमलादीमा अवार्ड वितरण गरिनेछ ।
उदय सुब्बा, किशोर सब्बा, निदेश लिङ्देन, अनुप लिङ्देन, येहाङलगायतले एफएलएफ अवार्डबारे चर्चा गरेका थिए । बक्ताहरुले अवार्ड वितरण राखेर फाल्गुनन्द फिल्मस प्रा.लिले राम्रो कामको सुरुवात गरेको बताएका थिए ।

प्रतिक्रियाहरु