‘मधेसी नेता भारत परस्त छन्’

२०७३ श्रावण १८ गते, मंगलवार

काठमाडौं, १८ साउन । दुई दशकको अवधिमा भारतले बाँकेको सीमा क्षेत्रमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र ‘बाँधजस्तो’ सडक बनायो । लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण एक दशकभन्दा बढी समयदेखि राप्ती नदी आसपासका बासिन्दाले डुबान, कटान र पटान समस्या भोग्दै आएका छन् ।
हिरमिनिया, साइगाउँ र साधापुरमा दसगजासँगै सटाएर भारतले बाँधजस्तो सडक बनाउँदा नेपाली भूमि डुबान हुने समस्या निम्त्याएको छ ।
भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बाँध र सडक निर्माण गरेर नेपालको तराई क्षेत्रलाई डुबाउने नियत राखेको कुरा बाँकेका मधेसकेन्द्रीत दललाई राम्ररी थाहा छ । तर, उनीहरु भारतविरुद्ध खुलेर बोल्न चाहँदैनन् । मधेसी समुदायको हक अधिकारको कुरा गर्ने यी दलले भारतको ‘बलजफ्ती’ विरुद्ध खुलेर नबोल्दा बाढी र डुवानपीडित आश्चर्यमा छन् ।
‘मधेसी दलले मधेसी जनताका हक अधिकारलाई देखावटी मुद्दा मात्रै बनाए, जसले हामीलाई वर्षौदेखि डुबाएर राखेको छ, उसका विरुद्ध कहिल्यै बोल्ने आँट गरेनन्,’ हिरमिनिया–४ का डुवानपीडित गुरुदिन यादवले भने ।
भारतीय बाँधविरुद्ध अहिलेसम्म मधेसवादी दलका नेता कसैले पनि बोलेको उनले सुनेका छैनन् । यादवले थपे, ‘मधेसी नेता भारत परस्त छन्, भारतविरुद्ध बोल्नेवित्तीकै स्पष्टिकरण दिनु पर्दछ । त्यसकारण बाँधविरुद्ध उनीहरु बोल्न चाँहदैनन् ।’
भारतीय बाँधविरुद्ध प्रभावित क्षेत्रका स्थानीयले लक्ष्मणपुर बाँधपीडित संघर्ष समिति बनाएर ८÷९ वर्षदेखि संघर्ष गर्दै आएका छन् । समितिको अध्यक्ष नै संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जगदिशबहादुर सिंह हुन् । उनले डुबानको मुद्दालाई पार्टीसमक्ष अवगत गराए पनि नेतृत्व बोल्दैन । –नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु