शिक्षण अस्पतालको उपचार सेवा प्रभावित

२०७३ श्रावण ४ गते, मंगलवार

काठमाडौ, ४ साउन । त्रिवि शिक्षण अस्पतालको उपचार सेवा आजदेखि प्रभावित हुने भएको छ । रेजिडेन्ट चिकित्सकहरूले प्रा.डा.गोविन्द केसीको आमरण अनशनमा समर्थन जनाउँदै बहिरंग विभागमा काम नगर्ने बताएपछि आजदेखि उपचार सेवा प्रभावित हुन लागेको हो । शिक्षण अस्पतालका करिब दुई सय ५० रेजिडेन्ट चिकित्सकहरूले काम गरिरहेका छन् ।
अन्तरंग विभाग, इमर्जेन्सी र शल्यक्रियामा भने काम यथावत् जारी राख्ने उनीहरुले बताएका छन् । वीर अस्पतालका रेजिडेन्ट चिकित्सकले समेत आजदेखि कालोपट्टी बाँधेर काम गर्ने जनाएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकहरू विभिन्न विरोध कार्यक्रमसँगै कालोपट्टी बाँधेर काम गर्न थालेका छन् ।
डा. केसीको स्वास्थ्यस्थिति जटिलतातर्फ गइरहेको उल्लेख गर्दै उपचारमा संलग्न चिकित्सकहरूले उनलाई कुनै पनि समय आकस्मिक चिकित्सकीय सहयोग आवश्यक पर्ने बताएका छन् । हिजो संसदीय समितिले केसीको स्वास्थ्य अवस्था बुझेर माग पुरा गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रियाहरु