डा. केसीको माग सम्बोधन र जीवनरक्षा गर्न निर्देशन

२०७३ श्रावण ३ गते, सोमबार

काठमाडौं, ३ साउन । व्यवस्थापिका–संसद सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकार र डा. गोविन्द केसीबीच विगतमा भएको सहमति कार्यान्वयन गर्न र उनको जीवनरक्षा गर्न सरकारलाई निर्देशन दिएको छ । अनशनरत् डा. केसीको स्वास्थ्यस्थिति नाजुक बन्दै गएको भन्दै समितिले तत्काल उनले अहिले उठान गरेको चारबुँदे माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो । समितिका सभापति सुशीलकुमार श्रेष्ठको नेतृत्वमा समितिका सदस्यहरुले सोमबार डा. केसीलाई अनशनस्थल महाराजगन्जमा भेटघाट गरेपछि डा. केसीको जीवनरक्षाको माग गरेका हुन् ।चारबुँदे माग राखी डा. केसी असार २६ गतेदेखि त्रिविवि शिक्षण अस्पताल परिसरमा अनशनमा बस्दै आएका छन् ।अहिले उनको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएको डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।
हाल उनले उठान गरेका मागमा चिकित्साशिक्षा ऐनका केही मस्यौदा चालु अधिवेशनबाट पारित गरिनुपर्ने, माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने र आफूसँग सरकारले गरेका सहमति पूरा गरिनुपर्नेलगायतका छन् । समितिले डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै अविलम्ब माग पूरा गर्न सरकारलाई आग्रहसमेत गरेको छ ।
भेटपछि सभापति श्रेष्ठले सन्चारकर्मीसित कुरा गर्दै समितिले सरकारलाई माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, चिकित्सा क्षेत्रका विकृति र विसंगति अन्त्य गर्न पटक–पटक ध्यानाकर्षण गराएको बताए । उनले भने–‘मैले डा. केसीलाई अघिल्लो अनशनको समयमै भनेको थिएँ धोका होला है डाक्टर सा’ब, नभन्दै धोका भयो ।’
डा. केसीले सभापति श्रेष्ठलाई अबको अनशनचाहिँ आफ्नो माग पूरा नभइ नछाडिने बताएको सभापति श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रियाहरु