चतुराले पहिलो पूर्ण खोप सुनिश्चित गाविस

२०७३ श्रावण १ गते, शनिबार

काठमाडौँ, १ साउन । नुवाकोट जिल्लाको चतुराले गाविस जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित गाविस बन्न सफल भएको छ । यहाँका खोप लगाउन आवश्यक जन्मेदेखि २३ महिनाभित्रका सबै बालबालिकालाई पूर्णरुपमा खोपको सुनिश्चिता भएपछि सो गाविसलाई पूर्ण खोपको सुनिश्चित गाविस घोषणा गरिएको हो ।
स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा खोप कार्यक्रम रहेको छ । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवम् प्राविधिक सहयोगमा सबै बालबालिकालाई आवश्यक खोपको मात्रा पूरा गराउने उद्देश्यका साथ पूर्ण खोप सुनिश्चित गाविस घोषणा अभियान सञ्चालन गरिरहेको हो । साथै सन् २०१७ भित्रमा नेपाललाई पूर्ण खोप सुनिश्चित मुलुक घोषणा गर्ने तयारी गरिरहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको सहयोगमा चतुरालेले गाविसलाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित गाविस घोषणा गरेको हो ।
रेडक्रस सोसाइटी नुवाकोट शाखाले पूर्ण खोपका अभियान सञ्चालनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलसित सहकार्य गरिराखेको छ । नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालन भएका आफ्ना आठ वटा गाविस (चतुराले, सुर्यमती, लच्याङ, उर्लेनी, हल्देकालिका, मनकामना, काहुले, भाल्चे) लाई पूर्ण खोप सुनिश्चित गाविस घोषणा गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई सहयोग गर्ने छ ।
जिल्लाका बाँकी गाविसलाई पूर्ण खोप गाविस घोषणा गर्न प्राथमिकताका साथ काम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विश्वराम श्रेष्ठले बताउए ।

प्रतिक्रियाहरु