औषधि पसलमा सिलबन्दी

२०७३ असार २६ गते, आईतवार

काठमाडौँ, २६ असार । सरकारी अनुगमन टोलीले क्षेत्रपाटीका दुई औषधि पसलमा सिलबन्दी गरेको छ । स्थलगत अनुगमनका क्रममा ति औषधि पसलले असहयोग गरेपछि सिलबन्दी गरिएको हो ।
व्यवस्थापिका–संसद्, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा सहयोग गर्नाको साटो उल्टै पसल नै बन्द गरेर हिँडेपछि विभागले बजगाईं मेडिसिन सप्लायर्स र इखापुखु मेडिसिन डिस्टिब्युटरलाई २४ घन्टाभित्र स्पष्टीकरण सहित विभागमा उपस्थित हुन निर्देशन दिएकोे विभागका अधिकृत श्रीप्रसाद अधिकारीले बताए ।
विभागले सो अवधिमा चित्तबुझ्दो कारण सहित स्पष्टीकरण नदिए कानुनअनुसार कारबाही गरिने व्यहोराका पत्रसहित सूचना टाँस गरेको अधिकारीले बताए । क्षेत्रपाटीस्थित अधिकांश औषधि पसल नवीकरण नगरिएको, आवश्यक सरसफाइमा नगरिएको र म्याद गुज्रेका औषधि बिक्री–वितरण गरेको पाइएको छ । उक्त क्षेत्रमा अनुगमनका क्रममा केहीबेर हल्लाखल्ला हुँदा व्यापारीले व्यवस्थित र भद्र अनुगमन गर्नुपर्ने माग समेत गरेका थिए ।
नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठले मर्यादित र भद्र तवरले अनुगमन गर्नुपर्ने र व्यापारीलाई आतङ्कित गर्न नहुने माग गरिएको बताए । आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, औषधि व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र उपभोक्ता अधिकारीकर्मीको संयुक्त टोलीले केही दिन पहिलेदेखि राजधानीका विभिन्न क्षेत्रमा स्थलगत अनुगमन गरिरहेको छ ।

प्रतिक्रियाहरु