आफ्नै विद्यार्थीको हत्या गर्ने शिक्षक हतियारसहित पक्राउ

२०७३ असार ७ गते, मंगलवार

काठमाडौँ, ७ असार । डोटीको मीना साउदको हत्यामा संलग्न रहेको आशङ्कामा पक्राउ परेका पचनाली गाविसस्थित हरिहर उमाविका शिक्षक लालबहादुर चन्दलाई पक्राउ गरिएको छ । उनीबाट एक एक थान पेस्तोल र रिभल्भर तथा चार गोली बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटी, क्षेत्रीय प्रहरी कार्यालय दिपायल, अञ्चल प्रहरी कार्यालय कैलाली र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त अनुसन्धानद्वारा सो हतियार बरामद गरिएको हो । करिब ११ दिनपछि प्रहरी छानबिनको अन्तिम तयारीमा रहेको छ ।
प्रहरीले शङ्काका भरमा पक्राउ गरी एक पटकका निम्ति छाडेको थियो । विशेष अनुसन्धान र सुराकीका भरमा शिक्षक चन्दका गतिविधिलाई प्रहरीले जाँच गरी पुनःअनुसन्धानका लागि पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै अनुसन्धान गर्दा शिक्षक चन्दले हत्या गरेको स्वीकार गरेका छन् ।
यसअघि अभियुक्त चन्द साउदकै घरमा डेरा गरी बसेको बुझिएको छ । विसंं २०५६ देखि अध्यापन गर्दै आएका शिक्षक चन्दले के कति कारणले हत्या गरेको हो भन्ने जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले राससलाई जानकारी दिएको छ ।
अभियुक्त चन्दबाट बरामद गरिएका हतियार समेत छानबिन भइरहेको छ । हत्यामा प्रयोग गरिएका पेस्तोल र रिभल्भरलाई हरिहर उमावि पछाडि वनमाराको झाडीमा प्रहरीले फेला पारेको थियो ।
बैतडी घर भएका चन्द पचनालीस्थित हरिहर उमाविमा अध्यापन गराउँदै आएका थिए । कक्षा १० सम्म साउदलाई पढाएका शिक्षक विद्यार्थीकै हत्यारा कसरी भए भन्नेबारे जिल्ला प्रहरी कार्यालयले आज अपराह्न ३ बजेतिर पत्रकार सम्मेलन गरी जानकारी दिइने प्रहरी उपरीक्षक दिल्लीराज विष्टले बताउनुभयो ।
गत जेठ २८ गते पचनाली गाविस तलकोटमा आफ्नै घरको भान्सामा चाउचाउ पकाइरहेकी साउदलाई पछाडिबाट गोली प्रहार गरिएको थियो । कैलाली बहुमुखी क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत साउद एक हप्ताको बसाइका निम्ति घरमा एक्ली भएकी आमालाई भेट्न आएकी थिइन् ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु