वर्ड भिजनमाथि जनकारबाही

२०७३ जेष्ठ ३० गते, आईतवार

काठमाडौं, ३० जेठ । नेकपा माओवादीले गएराती नुवाकोटमा रहेको अन्तराष्र्टिय संस्था वर्ड भिजनको कार्यालयमा आगजनी गरेको छ । आगजनीबाट वर्ड भिजनको कार्यालयमा क्षति पुगेको छ भने एउटा गाडी जलेर नष्ट भएको छ । मध्यराती माओवादीका कार्याकर्ताहरुले विदुर–४ बट्टार बजारस्थित कार्यालय रहेको घरभित्र पसेर संस्थाको बा १३ च २४३६ नंबरको गाडीमा आगो लगाइदिएका हुन् । उक्त आगलागीसँगै कार्यालयकोसमेत केही भाग जलेर क्षति पुगेको छ । कार्यालयको सुरक्षार्थ बसेका सुरक्षा गार्डका अनुसार दुई–तीन जनाको संख्यामा आएका उनीहरुले आफूहरु माओवादीका कार्यकर्ता भएको जनाउँदै आगो लगाएर त्यहाँबाट हिडेका थिए । आगलागीबाट एक करोड बराबरको नोक्सान भएको भनिएपनि क्षतिको यकिन विवरण भने आउन सकेको छैन ।
यसैबीच नेकपा माओवादीले यस घटनाको आधिकारिक रुपमा जिम्मा लिएको छ । भूकम्पपीडित जनतालाई ललिपप देखाएर ठगी गर्ने यस्ता विदेशी संस्थालाई आफ्नो पार्टीले कारबाही गरेको उक्त पार्टीका एक नेताले बताए । ‘नेपालमा दिनप्रतिदिन बढ्दो विदेशी हस्तक्षेपलाई निस्तेज गर्न गरिएको हमला हो, ति नेताले टेलिफोन सम्पर्कमा भने, ‘सामाजिक सेवाको नाममा जनतामाथी लादिएको हस्तक्षेप हामीलाई मान्य छैन । यसका विरुद्ध माओवादी जस्तोसुकै कदम उठाउन पनि तयार छ ।’

प्रतिक्रियाहरु