एनसेलमाथि जनकारबाही सुरु

२०७३ जेष्ठ २९ गते, शनिबार

काठमाडौं, २९ जेठ । राज्यलाई कर तिर्न अटेर गर्दै आइरहेको नीजि क्षेत्रको मोवाइल फोन सेवा प्रदायक कम्पनी एनसेलमाथि जनकारबाही सुरु भएको छ । यसै क्रममा गोरखाको अश्राङ गाविस–७ ठामडाँडामा रहेको एनसेलको मोबाइल टावर र मोरङको याङसिला, धनकुटाको उत्तरी क्षेत्रमा रहेका टावरमा आगजनी गरी ध्वस्त पारिएको छ । उपभोक्तासँग लुट मच्चाएर राज्यलाई कर नतिरेको भन्दै एनसेलको टावर ध्वस्त पारिएको माओवादीले बताएको छ ।
माओवादीले एनसेललाई भ्रष्ट दलाल कम्पनी भन्दै सल्यानको जैतपानी र दाङको लक्ष्मीपुरको चौगरा र लमही नपाको श्रीगाउँमा अवस्थित टावरमा पनि आगजनी गरेर ध्वस्त पारेको छ ।
भ्रष्ट, दलाल र राष्ट्रघातीलाई जनकारवाहीको पहिलो निसानामा राखिने भनी माओवादीको भनाई सार्वजनिक भएको केही दिन बित्न नपाउँदै कर छल्दै आएको एनसेलको विभिन्न स्थानमा टावरमाथि आक्रमण शुरु भएको हो । लाभ कर र पुँजी कर गेर एनसेलले राज्यलाई ३९ अर्ब रुपैयाँ बुझाउन बाँकी छ । सो कर असुल्न संसदको अर्थ समितिले समेत सरकारलाई यसै हप्ता बैठकले निर्णय नै गरेर निर्देशन दिइसकेको छ । कर नतिरे कम्पनीको इजाजत नै खारेज गरिदिने चेतावनी दिइसकिएको छ ।
करिब महिना दिनपहिले सुनसरीमा उपभोक्ताले एनसेललाई कर तिराउन कम्पनीको सिमकार्ड बहिष्कार अभियान नै चलाइसकेका छन् । तैपनि सरकार मौन छ । यस्तैबेला एनसेलको भौतिक संरचनामाथि क्षति पुर्याउने घटना शुरु भएको हो ।
भ्रष्टाचारी, दलाल–सामन्त, कालोबजारी, तस्कर तथा राष्ट्रघातीलाई सरकारले कारवाही गर्न नसक्दा सर्वसाधारण चरम शोषणमा परिरहेको भन्दै नेकपा माओवादीले जनताको राजनैतिक अधिकार र जनजीविका विषयमा एजेण्डसहित संघर्ष चलाइरहेको छ ।

प्रतिक्रियाहरु