उत्तर कोरियाले फेरि अर्काे ‘क्षेप्यास्त्र परीक्षण गर्नसक्ने’

२०७३ जेष्ठ २९ गते, शनिबार

काठमाडौँ, २९ जेठ । उत्तर कोरियाले फेरि अर्काे क्षेप्यास्त्र परीक्षण गर्नसक्ने अनुमान दक्षिण कोरियाली सन्चारमाध्यमले गरेका छन् । ती सन्चारमाध्यमले उत्तर कोरियाले पछिल्लो समयमा फेरिपनि अर्काे यस्तै परीक्षण गर्नसक्ने सूचनाहरु प्राप्त भइरहेको शुक्रबार जनाएका छन् । दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले पनि केही हप्ताअघि यस्तो आशंका व्यक्त गरेकी थिइन् । उनले उत्तर कोरियाली सरकारले पछिल्लो समयमा दिने गरेको आणविक परीक्षणको धम्कीबाट त्यस्तो अवस्था देखिएको बताएकी थिइन् । उत्तरले आणविक शक्तिको धम्की दिने गरेको भन्दै उनले भनेकी थिइन्–‘यस्तो धम्कीले हामी कुनैपनि हालतमा डराउँदैनौं, हामीलाई यस्ता आणविक परीक्षणका विगतका धम्कीहरुले पनि केही गर्न सकेको छैन ।’ आणविक परीक्षणको शृंखला नै चलाएको उत्तर कोरियाले पछिल्लो समयमा दक्षिण कोरियालाई चीसो पस्ने गरेको छ ।
उत्तरको आणविक परीक्षणका कारण यी दुई छिमेकी एक–आपसमा पछिल्लो समयमा विवादमा पर्ने गरेका छन् । अहिलेपनि उत्तर कोरियाले आणविक परीक्षणको तयारी गरिरहेको सूचना आफूले पाएको दक्षिणका सन्चारमाध्यमहरुले जानकारी दिएका हुन् ।
दक्षिण कोरियाले उत्तर कोरियासँग अघि बढाउन लागेको शान्तिको प्रयासलाई उत्तरले असफल तुल्याइदिएको पनि दक्षिण कोरियाली राष्ट्रपतिले बताएकी थिइन् । उनले उत्तरले हालैमात्र आफ्नो पार्टीको सातौं राष्ट्रिय कंग्रेसका अवसरमा आफूलाई एक आणविक राष्ट्रकारुपमा परिचित नै गराएको दाबी पनि गरिन् ।
शान्तिवार्ता एवं दुई देशबीचको समझदारीको एजेन्डालाई उत्तरले कहिल्यै पनि प्राथमिकतामा नराखेकोले पछिल्लो समयमा यसको सम्भावना पनि हराएको उनले बताइन् । उत्तर कोरियाले यसै वर्षमात्र बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षणहरु गर्दै आएको छ । यस्ता परीक्षणहरुले उत्तर कोरियाकाविरुद्धमा विश्वव्यापीरुपमा विरोध पनि हुने गरेको छ ।- रासस/एपी

प्रतिक्रियाहरु