देउवा र महराको एकै स्वर

२०७३ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले एकै मञ्चबाट एकै बोली बोलेका छन । उनीहरुले एकै स्वरमा सरकारको आलोचना गरेका छन् ।देउवा र महराले एकै मञ्चबाट गोलीभन्दा बोली शक्तिशाली रहेको अनुभवसमेत बाँडेका छन ।
कांग्रेस सभापति देउवाले गोलीभन्दा बोली शक्तिशाली भएकाले माओवादीहरु दश बर्षे हिंसात्मक बाटो परित्याग गरी शान्ति वार्तामा आउन बाध्य भएको बताएका छन् । नेपाल नागरिक समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको आज राजधानीमा उद्घाटन गर्दै देउवाले बल र आन्दोलनबाट नभई बोलीबाटै निकास सम्भव भएकाले आन्दोलन छाडेर वार्ताबाट समाधान खोज्न आन्दोलनरत दलहरुलाई सुझाव दिए । सुशासन कायम गर्नु राज्यको दायित्व हुने भन्दै देउवाले सुशासनको लागि नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले सहमतिको सरकार केका लागि भन्ने आफूले नबुझेको भन्दै प्रतिपक्षबिनाको सरकारको औचित्य नहुने प्रष्ट पारे । संविधान कार्यान्वयन गर्न सबै दलको सहमति हुँदासमेत सरकार संविधान कार्यान्वयन नगर्ने षड्यन्त्रमा लागेको उनको आरोप छ ।
माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले संविधान कार्यान्वयनमा सबै राजनीतिक दल केन्द्रित हुनु पर्ने बताए । सरकार जनताको काम गर्न अक्षम रहेको भन्दै वर्तमान सरकारबाट मुलुकले निकास नपाउने पनि बताए । आफूहरुले दश बर्ष गोलीमा समय खेर फालेको स्मरण गर्दै महराले बोलीबाट मात्र मुलुकले निकास पाउने स्वीकार गरे । शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउन र संविधान कार्यान्वयनमा ल्याउन नागरिक समाजले सरकारलाई दवाब दिनुपर्ने भन्दै महराले संविधान कार्यान्वयनबाट मात्र मुलुकको निकास सम्भव हुने बताए ।
नागरिक समाजका अगुवाहरुले भने सबै राजनीतिक दलको साझा धारणाबाट मात्र समस्याको सामाधान गर्न सकिने भन्दै समझदारीका लागि आफूहरुले खवरदारी गर्ने बताए । कार्यक्रममा सभापति देउवाले नागरिक अगुवाहरुलाई सम्मानित गरेका थिए ।

प्रतिक्रियाहरु