‘ प्रचण्ड क्रान्तिबाट थाकेर दक्षिणपन्थी संशोधनवादमा पतन भए ‘

२०७३ जेष्ठ २४ गते, सोमबार

काठमाडौं, २४ जेठ । नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सीपी गजुरेल गौरवले ‘जनयुद्धका मुख्य पात्रहरुमध्ये तत्कालीन नेतृत्व प्रचण्ड क्रान्तिबाट थाकेर दक्षिणपन्थी संशोधनवादमा पतन भइसकेको ठोकुवा गरेका छन । उनीसँग हाम्रातिरबाट केही साथीहरु पनि मिसिन पुगे’ गौरवले भने ‘माओवादी केन्द्र माओवादीहरुबीचको एकता नभई संशोधनवादी केन्द्र हो ।’ क्रान्तिकारी विचार बोकेकाहरु क्रान्तिकारी विचारधारामै रहेको गौरवको दाबि छ । ‘बादलहरु जनतालाई धोका दिएर माओवादको घेराबाहिर पुगिसकेका छन् धेरै भन्नु छैन’ गौरवले भने । गौरवले क्रान्तिकारी कम्युनिष्टबीच धु्रवीकरण र कार्यगत एकता अनिवार्य भएको समेत बताएका छन् । राजधानीको अनामनगरस्थित संवाद डबलीमा जनगणतान्त्रिक सम्पर्कद्वारा नेकपा माओवादी नेता ईश्वरी दाहाल ‘असारे काका’द्वारा ‘संघर्षका पाइला’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै नेता गौरवले जनयुद्धका मुख्य पात्रमध्ये केहीले क्रान्तिको विचार, झण्डा त्याग गरेर दक्षिणपन्थी संशोधनवादमा पतन भइसकेको बताएका हुन् ।
कार्यक्रममा कम्युनिष्ट न्यूक्लिअस नेपालका नेता डा. ऋषिराज बरालले नेपालमा क्रान्ति सम्पन्न सशस्त्र तरिकाबाट हुने बताएका छन् । ‘नेपालमा क्रान्ति सम्पन्न गर्न सशस्त्र विधिबाट मात्र सम्भव छ’ उनले भने ‘हतियारबन्द बिनाको क्रान्ति कसैले नसोचे हुन्छ ।’ जनयुद्धका ‘नायक’हरु क्रान्तिकारी विचार र कार्यदिशाबाट पछाडि हटिसकेको बताउँदै जनयुद्धको बाँकी म्यान्डेट पूरा सशस्त्र क्रान्तिकै बाटो अवलम्बन गरिनुपर्नेमा उनले दिए ।
संघर्ष क्रान्तिको बाटोबाटै नयाँ जनवादी व्यवस्था स्थापना गर्न सकिने उनको धारणा छ । ‘त्यसैले यतिबेला देशमा क्रान्तिकारी र दक्षिणपन्थी अवसरवादीबीच तीव्र रुपमा ध्रुवीकरण चलिरहेको छ । कम्युनिष्ट न्यूक्लिअस यसैको परिणाम हो’ उनको भनाई थियो । पुस्तक सार्वजनिक नेकपा माओवादी स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला, नेकपा (क्रान्तिकारी माओवादी)का उपाध्यक्ष गजुरेल, समालोचक एवं कम्युनिष्ट न्यूक्लिअस नेपालका केस डा. बरालले संयुक्त रुपमा गरेका थिए । ‘संघर्षका पाइला’ एउटा पुस्तक मात्र नभएर नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका एक अथक योद्धाको जीवनगाथा भएको वास्तोलाले बताए ।
‘मैले नेपाली कम्युनिष्ट आन्दोलनमा जे जति गरेँ, जे देखेँ, जस्तो भोगेँ, त्यसलाई जस्ताकोतस्तै यो किताबमा उतारेको छु, यो पढेपछि टिप्पणी र सुझाव प्राप्त भए अर्कोपटक राम्रो गर्ने प्रयास रहनेछ’ असारे काकाले भने । नयाँ पुस्तालाई केही छोडेर जाने सम्झेर पुस्तकको लेखेको उनको भनाई छ । नेताले सधैं अरुका मात्र बोल्दैनन् गर्दैनन्, आपूmले गरेको र बोलेको कुरा जनतामाझ् छोड्नुपर्छ भन्ने सोचबाट पुस्तक लेखेको उनले बताए ।
कार्यक्रममा नेकपा माओवादीका पोलिटब्यूरो सदस्य एवं केन्द्रीय जनपरिष्द प्रमुख सन्तोष बुढा, अनिल शर्मा ‘विरही’, कम्युनिष्ट न्यूक्लिअस नेपालका संयोजक हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु