द्वन्द्वकालका दोषीले माफी पाउँदैनन्

२०७३ जेष्ठ २३ गते, आईतवार

काठमाडौँ, २३ जेठ । सत्य निरुपण तथा मेलमिलाप अयोगका अध्यक्ष सूर्यकिरण गुरुङले द्वन्द्वका क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घनका घटनाका दोषीले माफी पाउन नसक्ने बताएका छन् । सिन्धुली जिल्लाको अवस्थाका बारेमा जानकारी लिन सिन्धुलीमाढी आएका आयोगका अध्यक्ष गुरुङले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् । द्वन्द्वका घाउलाई जति पाल्यो त्यति खतरा हुने भएकाले आयोग मार्फत द्वन्द्वका घाउको सही उपचार गर्न सके मात्र नेपालमा राजनीतिक पार्टीहरुले भनेजस्तो आर्थिक सामाजिक क्रान्तिको सम्भावना रहेको गुरुङको भनाइ थियो । नेपालले मानवअधिकारका सवालमा विभिन्न अन्तर्राष्ट्रिय सन्धिमा सम्झौता गरेकाले पनि द्वन्द्वकालीन घटनाका दोषीले माफी नपाउने उनको भनाइ छ ।
यदि राजनीतिक दबाबमा दोषीले माफी पाए पनि अन्तर्राष्ट्रिय कानुनको नजरबाट मुक्ति नपाउने र सबै दोषीहरु कर्णेल कुमार लामाको अवस्थामा पुग्ने भएकाले दोषीले कुनै हालतमा माफी नपाउने अध्यक्ष गुरुङले बताए ।
अहिले द्वन्द्वकालीन घटनाका दोषी अन्तर्राष्ट्रिय समुदायको त्रासमा रहेको र यदि द्वन्द्वकालीन घटनाका सवालमा सत्य निरुपण तथा मेलमिलाप आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन नभएमा नेपालको शान्ति प्रक्रियालाई सफलतापूर्वक टुङ्ग्याउन नसकिने उनले बताए । द्वन्द्वकालीन समयमा भएका रामेछापको दोरम्बा, चितवनको बादरमुढे र कपिलवस्तुमा भएका घटनाको सन्दर्भमा आयोगले निष्पक्ष तवरले अध्ययन गरेको भन्दै अध्यक्ष गुरुङले यी र यस्ता घटनाका दोषीलाई कुनै पनि हालतमा माफी दिन नसकिने र कारबाहीका लागि सरकारसमक्ष सिफरिस गरिने बताए ।

प्रतिक्रियाहरु