प्रचण्ड प्रधानमन्त्री प्रपन्च रच्दै : भट्टराई

२०७३ जेष्ठ २२ गते, शनिबार

काठमाडौं, २२ जेठ । पूर्वप्रधानमन्त्री एवम नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भित्रभित्रै प्रधानमन्त्री बन्ने दौडमा लागेको बताएका छन् । आज बनेपामा सदाचार विकास र समृद्धिका लागि वैकल्पिक राजनैतीक आवश्यकता विषयक कार्यक्रममा संयोजक भट्टराईले बाहीरीरुपमा प्रधानमन्त्री नबन्ने इच्छा नभएको बताउनै प्रचण्ड भित्रभित्रै प्रधानमन्त्री बन्ने प्रयासमा लागिरहेको बताएका हुन् । ‘मलाई इच्छा छैन भन्नुहुन्छ भित्रभित्रै प्रधानमन्त्री बन्ने तयारीमा लाग्नुभएको छ’, उनले प्रचण्डलाई इंगित गर्दै भने, ‘खान्न खान्न लोकाचार पाए पछि माना चार ।’ नाइँ नाइँ भन्दै उहाँ तयारीमा लागिरहनु भएको छ ।’ सत्ता केन्द्रीत राजनीतिले सरकारको स्थायित्व नहुँदा मुलुक धेरै पछि परेको बताउँदै भट्टराईले संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। ‘जबसम्म मुलुकको कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गरिँदैन, तबसम्म कहिल्यै देशले स्थायी सरकार पाउँदैन । त्यसकै कारण मिश्रित नतिजाले ६–६ महिनामा सरकार परिवर्तन हुन्छ ।’ उनले संविधान संशोधन गरी देशको मुख्य कार्यकारी प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट ल्याउनुपर्नेमा जोड दिए । ‘पछारिँदै उठ्दै गर्छ एमाले, चुनाव जित्न ल्याएको लोकप्रिय बजेट प्रचारमुखी र कार्यकर्ता पोस्नलाई हो’, उनले सरकारको नेतृत्व गरिरहेको एमालेलाई लक्षित गर्दै भने ‘बजेटले क्षणिक सन्तुष्टि दिएपनि दीर्घकालीन र उत्पादनमुलक छैन । भएको बाँडेर सक्ने पुरानै प्रवृत्ति हो, उत्पादन गर्ने होइन ।’
कार्यक्रममा बोल्दै डा. भट्टराईल दुई ध्रुवमा विभाजित बन्दै गएको बामपन्थी र उत्तरपन्थीको राजनैतिक धार तथा कांग्रेस र कम्युनिष्टको विचारबाट माथि उठ्न आग्रह समेत गरे । ‘अब राजनैतिक मुद्दा होइन विकासको मुद्दा उठाउने पार्टीको खाँचो छ’, डा भट्टराईले भने, ‘हामीले भारत र चीनलाई चुनौती दिने भन्दा उनीहरुबाट आर्थिक विकासका लागि सहयोग लिनुपर्छ ।’ कार्यक्रममा एमाले, माओवादी र कांग्रेसबाट नयाँ शक्तिमा प्रवेश गरेकालाई डा. भट्टराईले स्वागत गरेका थिए ।

प्रतिक्रियाहरु