उपराष्ट्रपतिको चीन भ्रमण जेठ २८ देखि

२०७३ जेष्ठ २२ गते, शनिबार

काठमाडौँ, २२ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुन आगामी साता चीन भ्रमणमा जाने भएका छन् । युनान प्रान्तको कुन्मिङमा ३० गतेदेखि सुरु हुने ‘चौथो चाइना—साउथ एसिया एक्स्पो’ तथा ‘२४ औं चाइना एक्स्पोर्ट तथा इम्पोर्ट फेयर’ मा सहभागी हुन उपराष्ट्रपति पुन चीन जान लागेका हुन् ।
भ्रमणदलमा उपराष्ट्रपतिको सचिवालयका पदाधिकारी १४ जना र परराष्ट्रका तीन अधिकारी गरी १७ जना रहनेछन् । यद्यपि उपराष्ट्रपतिको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छैन । ‘भ्रमणमा जाने निश्चित भइसकेको छ । तर मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्छ होला’, उपराष्ट्रपतिका प्रेस सहयोगी मनोज घर्तीले अन्नपूर्णसँग भने ।
साताव्यापी कुन्मिङ भ्रमणका क्रममा उपराष्ट्रपतिले चिनियाँ उपप्रधानमन्त्री या उपराष्ट्रपतिमध्ये एकजनासँग भेट्नेछन् । अघिल्लो महिना नेपाल भ्रमणमा आएको युनान प्रान्तका जनकंग्रेसका उपाध्यक्षसहितको चिनियाँ प्रतिनिधिमण्डलले उपराष्ट्रपति पुनलाई ‘चौथो चाइना—साउथ एसिया एक्स्पो’ का लागि निमन्त्रणा दिएको थियो ।
हालैका वर्षमा दक्षिण एसियासँगको सम्बन्ध थप प्रभावकारी बनाउन चीनले नेपाल, भारत, बंगलादेशलगायत दक्षिण एसियाली मुलुकका नेता, व्यापारिक संघसंस्था र उच्चपदस्थ सरकारी अधिकारीसँग अन्तरक्रिया गर्दै आएको छ । चीनले कुन्मिङ सहरलाई दक्षिण एसियाली मुलुकसँगको सम्बन्ध अघि बढाउन उपयुक्त ढोकाका रूपमा अघि बढाएको छ ।
चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ रणनीतिअनुसार एसियाका चार मुलुक बंगलादेश, चीन, भारत र म्यानमारलाई रेल, सडक र समुद्री मार्गमार्फत जोडेर आर्थिक विकासमा सहकार्य गर्ने तथा चीन र दक्षिण एसियाबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने रणनीतिअनुसार उत्तरी छिमेकी चीनले कुन्मिङ एक्स्पो आयोजना गर्दै आएको छ ।
बंगलादेश, चीन, भारत र म्यानमारबीचको प्रस्तावित आर्थिक करिडोर निर्माण अघि बढाउने विषयमा एक्स्पोका अवसरमा छलफल हुनेछ । उक्त आर्थिक करिडोरलाई ‘बिसिआइएम इकोनोमिक करिडोर’ भनिन्छ ।
चीनले नेपाल, भारत, बंगलादेशलगायत दक्षिण एसियाली मुलुकका नेता, व्यापारिक संघसंस्था र उच्चपदस्थ सरकारी अधिकारीसँग ‘बिसिआइएम करिडोर’ निर्माण अघि बढाउने विषयमा अन्तरक्रिया गर्ने प्रभावकारी मञ्चका रूपमा एक्स्पोलाई अगाडि बढाएको छ ।
प्रस्तावित आर्थिक करिडोरमा नेपाललाई समेत सहभागी गराउने पक्षमा चीन देखिएको छ । ‘चीनको कुन्मिङ, बंगलादेश, म्यानमार र भारत हुँदै चीन जोडिने उक्त इकोनोमिक करिडोरमा नेपाल समेटिनुपर्छ भन्ने चीनको चाहना छ । भारतको कलकत्तासम्म विस्तार हुने इकानोमिक करिडोरलाई नेपाल हुँदै फेरि कुन्मिङसम्म जोड्दा यसले चीन, भारत र नेपाललाई आर्थिक फाइदा पुग्छ । यसबारे नेपाल सरकारसँग कूटनीतिक तहमा संवाद भएका छन्’, चीनको सिचुवान विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक डाई यिनहोङ्ले काठमाडौंमा हालै आयोजित एक अन्तरक्रियामा भनेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वर्ष सम्पन्न चीन भ्रमणका क्रममा भारत र चीनबीच उक्त ‘बिसिआइएम आर्थिक करिडोर’ अघि बढाउने विषयमा सहमति भएको थियो । त्यस्तै नेपाल, भारत र चीनबीच अलग्गै आर्थिक करिडोर निर्माण गर्नेबारेसमेत सोही भ्रमणमा सहमति भएको थियो । उपराष्ट्रपति पुनले उक्त एक्स्पोलाई सम्बोधन गर्नेछन् । – अन्नपूर्ण पोस्टवाट

प्रतिक्रियाहरु