चिनियाँ सेनाका उपप्रमुख चियान्क्वो नेपाल आउँदै

२०७३ जेष्ठ २० गते, बिहीबार

काठमाडौँ, २० जेठ । नेपाली सेनाको निमन्त्रणामा चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख एडमिरल सुन चियान्क्वो जेठ २४ गतेदेखि तीनदिने नेपाल भ्रमणमा आउने भएका छन् । उपप्रमुख चियान्क्वोले आएकै दिन रक्षामन्त्री भीम रावल र रक्षासचिव महेश दाहालसँग भेटवार्ता गर्नेछन् । दुवै पक्षले शिष्टाचार भ्रमण भने पनि यो भ्रमण दुईपक्षीय सैनिक सहायतामा केन्द्रित हुनेछ ।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले दुई देशका सेनाबीच आपसी हित अभिवृद्धि गर्ने अभिप्रायले भ्रमण तय भएको बताए । तत्कालीन सेनापति छत्रमानसिंह गुरुङका पालामा चिनियाँ सेनाका तत्कालीन प्रमुख जनरल छन वांग्देपछि यो चिनियाँ सेनाका तर्फबाट भएको अर्को उच्चस्तरीय भ्रमण हो ।
वर्तमान सरकार यथावत् रहेको अवस्थामा आगामी अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने तयारी गरिरहेको सन्देश राजनीतिक क्षेत्रमा प्रवाह भइरहँदा सैनिक उच्च अधिकारीको यो भ्रमणलाई त्यसकै पूर्वतयारीका रूपमा लिइएको छ ।
सैनिक स्रोतका अनुसार उनले चीन सरकारको सहयोगमा निर्माण भइरहेको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणमा जाने इच्छा व्यक्त गरेका छन् । विमानस्थलपछि उनलाई बुद्ध जन्मस्थल तिलौराकोट पनि अवलोकन गराइनेछ । उपप्रमुख सुन सिंगापुरको भ्रमण पूरा गरी त्यतैबाट नेपाल आउने जानकारी नेपाली सेनालाई प्राप्त भएको सैनिक स्रोतले बतायो ।
उपप्रमुख सुन र नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीबीच जेठ २७ गते सैनिक मुख्यालयमा औपचारिक वार्ता तय भएको बताइएको छ ।

प्रतिक्रियाहरु