विपक्षीको सामना गर्ने सहमति

२०७३ जेष्ठ १७ गते, सोमबार

काठमाडौँ, १७ जेठ । सत्ता साझेदार प्रमुख दुई दल नेकपा ९एमाले० र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका–संसद्मा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ ।
एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज प्रम निवास बालुवाटारमा भएको भेटवार्तामा नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको हुँदा बजेटको कार्यान्वयनमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले दिनुभएको जानकारीअनुसार शीर्ष नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सघन रुपमा कुराकानी भएको थियो ।
सरकारले यही १५ गते नयाँ बजेट सार्वजानिक गरेको थियो । बजेट हावादारीमा आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकाले यसलाई व्यवस्थापिका–संसद्मा कडा रुपमा विरोध गर्ने जनाएको छ । सदनमा बजेटमाथिको छलफल आजदेखि सुरु हुँदैछ ।
“प्रतिपक्षीले सदनमा बजेटका विषयमा राख्ने विरोधलाई सत्ता साझेदार दुई दल मिलेर संयुक्त रुपमा सामना गर्ने विषयमा उहाँहरुबीच कुराकानी भयो”, उहाँले भन्नुभयो । बजेटमा समावेश विषय समग्रमा राम्रो भएको सत्ता साझेदार ती दुई दलको आइतबार बसेको छुट्टाछुट्टै संसदीय दलको बैठकले निष्कर्षसमेत निकालेको थियो । – रासस

प्रतिक्रियाहरु