देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीमा

२०७३ जेष्ठ १२ गते, बुधबार

काठमाडौं, १२ जेठ । चिनियाँ कम्पनीको लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीको बेणीमनिपुर गाविसको बेलुवामा स्थापना भएको छ । उद्योग सन्चालन हुने स्थान नवलपरासीको दुम्कीबासबाट १३ किमी उत्तर चुरेको फेदीमा पर्दछ । चिनियाँ सिमेन्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने गरी होङ्सी शिवम् सिमेन्ट उद्योग स्थापना भएको हो ।
होङ्सी शिवम् सिमेन्ट उद्योगसम्बन्धी जानकारी दिन लगानी बोर्डले परासीमा मंगलबार आयोजना गरेको अन्तरक्रियामा उद्योगकाबारेमा जानकारी गराइएको थियो । ‘यो वर्ष जग्गा व्यवस्थापनको काम थालिएको छ । दुईसय बिघा जग्गा आवश्यक पर्ने भएकाले यो वर्ष जग्गा व्यवस्थापनको काममा खटिएका छौं’–होङ्सी शिवम् सिमेन्टका प्राविधिक शिवरत्न अटलले भने–‘बाटो र विद्युत्काबारे सरकारसँग कुरा भइरहेको छ ।’ ‘उद्योगलाई दैनिक ५० देखि ८० मेगावाट विद्युत् आवश्यक पर्छ’–उनले भने–‘हामीले जग्गाको व्यवस्थापनलाई स्थानीयबासीको समन्वयमा तीव्रता दिएका छौं । एक सय बिघा प्राप्त भइसकेको छ, बाँकी खोज्दैछौं ।’ तीन वर्षमा उत्पादन बजारमा ल्याउने गरी कामलाई उद्योगले अगाडि बढाएको छ । यो उद्योगमा होङ्सीको ७० प्रतिशत लगानी र शिवम् सिमेन्टको ३० प्रतिशत लगानी रहेको छ ।
दैनिक दुई हजारले रोजगार पाउने भएकाले उद्योग स्थापनासँगै स्थानीयबासी खुसी भएका छन् । नवलपरासी क्षेत्र नम्बर–३ का सांसद कृष्ण पौडेलले उद्योग स्थापनाले समृद्धिको आधार खोल्ने बताएका छन् ।
पाल्पाको ज्यामिरेबाट कच्चापदार्थ (क्लिंकर) ल्याउने र यहाँ सिमेन्ट उत्पादन हुँदा अहिलेको बजारमा ३० प्रतिशत आपूर्ति गर्छ ।
‘स्वदेशमै उत्पादन भइरहेको सिमेन्टले अहिले ७० प्रतिशत बजार ओगटेको छ बाँकी ३० प्रतिशत यसको उत्पादनले आपूर्ति गर्छ’–होङ्सी शिवम् सिमेन्टका प्राविधिक अटलले भने–‘देशभित्रको बजारलाई पूर्ति गरेपछि बाहिर पनि पठाउन सकिन्छ ।’
सुरुको वर्ष ६ हजार मेट्रिकटन उत्पादन भएपनि दोस्रो चरणबाट १२ हजार मेट्रिकटन दैनिक सिमेन्ट उत्पादन हुने उनले बताए । ओपीसी र पीपीसी दुबै सिमेन्ट यहाँ उत्पादन हुन्छ । सिमेन्ट उद्योगले गाउँको अनुहार नै फेरिने भएको स्थानीयबासी घनश्याम गिरीले बताए ।
नवलपरासी क्षेत्र नम्बर–२ का सांसद जीवन श्रेष्ठले ठूला परियोजनालाई सरकार र स्थानीयबासीको सहयोग हुने भएकाले ढुक्क भएर कामलाई अगाडि बढाउन आग्रह गरे ।
क्षेत्र नम्बर–४ का सांसद बैजनाथ चौधरीले समृद्धिको आधार उद्योग–कलकारखाना भएकाले सरकारले लगानीको वातावरण बनाउने काम गरेको बताए ।
‘यो सरकार लगानीको वातावरण बनाउँछ, उद्योगी काममा लाग्नुपर्छ’–सांसद चौधरीले भने ।
लगानी बोर्डका सहसचिव रवि भट्टराईले उद्योगको स्थापनाबाट हुने फाइदाकाबारेमा बताएका थिए ।
‘लगानी बोर्डको काम उद्योगपतिको समस्या समाधान गर्ने र लगानी भित्र्याउने हो त्यसमा प्रधानमन्त्रीको निर्देशन पनि छ, हामी काममै लागेका छौं’–उनले भने–‘जिल्लाका जनप्रतिनिधि र स्थानीयबासीको सकारात्मक भावनाले हामीलाई उत्साहित बनाएको छ ।’ – विद्रोही गिरी/पुरुषोत्तम सुवेदी (रासस)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु