प्रचन्डलाई प्रश्न – को नायक ? को गद्दार ? – विवशकुमार सेजुवाल

२०७३ जेष्ठ ११ गते, मंगलवार

सुन्थे समय धेरै बलवान छ । आज यो पनि अनुभूती गरिरहेको छु कि समय कति निष्ठुरी र कति वेइमानी पनि हुँदो रहेछ । सायद मान्छेले कल्पना गर्न नसक्लान कि मेरो समय कतिखेर कस्तो हुन्छ भन्ने । यो भेउ मान्छेमा हुँदो हो त सबै कुरा हुनुभन्दा अगावै सोच्न सकिन्थ्यो होला । तर, जीवनमा त्यस्तो हुँदो रहेनछ । त्यो समय मेरो पढ्ने र लेख्ने समय थियो । आफैले आफ्नै जीवनको सार्थक निर्णय गर्ने समय थिएन त्यो । त्यो उमेरमा हामीले जे गर्नुपर्यो, त्यो अरुका लागि कल्पना नै गर्न नसकिने कुरा हो । अरुबेला वा अरु देशमा हुँदो हो त त्यो समय अभिभावकका काखमा पुल्पुलिएर विद्यालयमा कखरा सिकिदो हो । तर, समयले त्यो अवसर हामीलाई दिएन । म यस्तो समयमा हुर्किए, जतिबेला देश एउटा भीषण लडाइँमा थियो । निरंकुश शासन व्यवस्थाका विरुद्ध जनताले जीवनमरणको निर्णायक लडाइँ लड्नुपरिरहेको थियो । समयले मलाई अरु छुट दिएन । हामी सबै जनताको मुक्तियुद्धमा हामिनुपर्यो । सायद त्यो युगको आवश्यकता थियो । त्यो समयको माग थियो । त्यो जीवनको बाध्यता थियो । जुन नगरेर न त देश न त जनताको जीवन बदलिन सम्भव थियो । त्यसैले त्यो आवश्यकताबोध भएर वा बालकपनले होस् मनले थाम्न सकेन र म सामेल भएँ एउटा महान यात्रामा । त्यो यात्रा यस्तो यात्रा थियो, जहाँ सयौ वर्षमा पनि गर्न नसकिने सुख–दुःख–कष्टका अनुभूति, अनुभव र शिक्षा हासिल गरियो । आज समय बदलियो । त्यो समय रहेन । त्यो संकल्प हरायो । त्यो सोच, विचार र जीवनपद्धति हराए एकाएक । रह्यो त केवल स्मृति ।
समय आफ्नै गतिमा कुदिरहेको छ । यसलाई न त रोक्न सकिन्छ, न त थाम्न सकिन्छ । कहिलेकाही लाग्छ कि यो सपना त होइन ? कहिल्यै भुल्न नसकिने, छोड्न नसकिने यात्रा आज किन छोडियो ? इतिहासमा भएका केही यस्ता दृष्टान्तहरुलाई केलाउँदै नेपालमा नयाँ सन्देश दिनका लागि गरिएका संकल्प र प्रतिबद्धताहरुमा कसरी यति सजिलै धमिरा लाग्यो ? कुनै स्पष्ट जवाफ भेटिदैन । कहिलेकाही यो होइन जस्तो लाग्छ । तर, पत्यार नलागेर के गर्नु ? यथार्थता हाम्रा सामु छ । कहिलेकाही सोच्छु म ती दिनहरुतिर फर्केर । त्यो समयले आज हामी आफैलाई कताकता गिज्जाइरहेको झै लाग्छ ।
हामीले देश बदल्ने, समाज बदल्ने र व्यवस्था बदल्ने संकल्प लिएका थियौं । मानिसको जीवन बदल्ने अठोट गरेका थियौं । मानिसहरुलाई सपना देखाएका थियौं । तर, विडम्वना हाम्रो जीवन र देशको व्यवस्था नफेरिर हाम्रो आन्दोलन नै बदलियो । संसार बदल्न भनि हिडेको एउटा यात्रीले एक दसकको अन्तरालमा उसले आफ्नो हुलिया बदल्यो । ऊ अहिले गुमनाम जस्तै भएको छ । यो कस्तो ? यो कस्तो युग ?
यात्रा बदलियो । मुक्ति युद्धका रामकहानीहरु केही समयका लागि स्थगित जस्तै भएका छन् । तर, मेरो सहयात्रीले स्थगित भएको आभास दिने छैनन । किनकि सपना र मुक्ति हामी सबैको साझा हो । समाज परिवर्तनको लक्ष्य बोेकेर हिडेका नायक भनेर सम्वोधन गरिएका पात्रहरु गुफाभित्रको बाघ झै लुकिरहेका छन् । ती गद्दार नायक हाम्रो सपना र हाम्रो लक्ष्यको चौतारीमा सामेल हुने हिम्मत गर्न सक्ने छैनन् । उनीहरु आफैलाई थाहा छ जँघार तर्न सक्दैनौ भन्ने । त्यसैले कठिनाई झेलेर मनमा हाँसो छर्न र ओठमा मुस्कान देखाउन कहाँ सजिलो हुन्छ र । यो यात्रा त बहादुरहरुको रोजाइ हो । बहादुरले मात्र लक्ष्यमा पुग्ने साहस राख्दछ । गद्दार र धोकेवाज त केवल खहरे खोलाको पानी हुन । जोसँग विश्वास छ उही चुचुरोमा पुग्छ । तर, अझै मरेको छैन आशाको दियो । केही मान्छेहरुको मन मर्दैमा समग्र यात्रा रोकिने कदापी छैन । केही मान्छेहरुले बाटो बिराउँदैमा, केहीले रुप फेर्दैमा, कोही कसैले यात्रामा विश्राम लिँदैमा हाम्रो मुक्तिको यात्रामा विराम लागेको छैन ।
कहिलेकाही म आफैले आफैलाई महान् ठान्छु । त्यो सानो उमेरमा नै म यी समग्र ऐतिहासिक परिघटनासँग परिचित हुन पुगेँ । छोटो उमेरमा नै लामो इतिहासको एउटा च्याप्टरमा आफ्नो नाम लेख्न सफल भएँ । त्यसकारण म आपूलाई भाग्यमानी ठान्छु । मलाई रत्तिभर पुछुतो छैन आफ्नो इतिहासप्रति । अलिकति पनि ग्लानी छैन । बरु गौरव छ । गर्व लाग्छ आफूले निभाएका भूमिकाप्रति र देखेको सपनाप्रति । अनि त्यो संकल्प जुन मैले सानो उमेरमै गरेको थिए, त्यसप्रति आज पनि म उत्तिकै प्रतिवद्ध छु ।
हो अवश्य पनि परिस्थिति मोडिएको छ । यात्रा फरक रुपमा अगाडि बढेको छ । संघर्षको बाटो बदलिएको छ । मुक्ति यात्राको गन्तव्य रोकिएको छैन । हामीले देखेको सपनामा कुनै धमिरा लागेको छैन । गन्तव्य प्रष्ट छ । लक्ष्य स्पष्ट छ । हिजो यो यात्रामा जोडिदा जस्तोसुकै परिस्थिति आए पनि आफ्नो यात्राप्रति गद्दारी नगर्ने भनेर खाएको कसम अझै भुलेका छैनौ हामीले । हो, केही मान्छेहरु भागेका छन् यात्राबाट । कोही आत्मसमर्पणको टोकरीमा मिल्काइएका छन् । उनीहरुले आफ्नै अस्तित्व र सुन्दर सपनालाई धितो राखेर जेनतेन आफ्नो व्यक्तिगत जीवन गुजारा चलाइरहेका छन् । तर, विडम्वना जुन मानिसहरु त्यो आफ्नो इतिहासप्रति गद्दारी गर्दैछन् । लक्ष्यप्रति विश्वासघात गर्दैछन् । र, समयलाई धोका दिँदैछन् । उनीहरुसँगै देशले धोका खाँदैछ । उनीहरुको गद्दारी र धोकाको शिकार आज सिंगो देश बनेको छ । इतिहासले धोका खाएको छ ।
क्रान्तिकारीको मनले हार्न मानेको छैन । ती सपनाहरु त एउटा फूलको थुङ्गा हुन् । सुकेका छैनन । खाली ओइलिएका जस्तै मात्र देखिएका हुन् । एक दिन मौसम बदलिनेछ । बादल फाट्नेछ । घाम लाग्नेछ । र, कालो अन्धकारलाई चिर्दै सारा संसारभरि उज्यालो छाउनेछ । त्योसँगै हाम्रा सपना जिवित हुनेछन् । सदासदाका लागि जीवन्त बाँचिरहनेछन् ।
जब म कहिलेकाहि गाउँघरमा घेटघाटमा जाने गर्छु । गाउँमा साना साना नानी बाबुदेखि जेष्ठ नागरिकसम्म भलाकुसारी गर्ने मेरो उहिलेदेखिको वानी छ । गाउँमा गएका बेला म सबैसबैसँग समय बिताउँछु । बुढापाकाले सबै परिवर्तित शासन काल देखेका छन् । पञ्चायत, राणा शासन, निर्दलीय पञ्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र, आदि सबै शासनको भागेदार भएका छन्– ती बुढापाकाहरु । जति शासन फेरिए पनि ती बुढा पाकाहरुको मनमा उज्यालो किरण कहिल्यै छाएन । शासन फेरिँदै गए । तर उनीहरुको न त जीवन फेरियो, न त सपना नै । पञ्चायत आयो । राणा शासन आयो । निर्दल आयो र बहुदल आयो । सबै सबै आए । अनि गए । तर, माओवादीको एकलौटी सत्ता हेर्न पाएको भए कस्तो हुन्थ्यो ? एउटा महान सपना छ ती बुढापाकाहरुको । बेला बेलामा मलाई घच्घच्याउँछन् । बुढापाकाले मलाई मेरो नाम किटेर कहिल्यै बोलाउँदैनन् । ऊ त्यो माओवादी कान्छो भन्छन् । घरको सबैभन्दा कान्छो भएकोले ती बुढापाकाहरुले मलाई प्रायः कान्छे भनेरै बाउलाउँछन् । नामको सट्टा मलाई आजीवन माओवादीको उपनाम जोडिएका छन् । माओवादी नाम जोडिनुका पछाडि धेरै सुन्दर सपना जोडिएका छन् । त्यो गाउँघरमा जुन सपना हामीहरुले नै देखायौं । हामीहरुले नै आशाको दियो बाल्यौ । सुन्दर भविष्यको चित्र कोर्यौ । सुन्दर संसारको चित्र उघार्यौ । त्यसैले हामीहरु माओवादी भयौ । हामी जातका माओवादी, नामका माओवादी र थरका माओवादी भएर समाजमा स्थापित भएका छौं । यो सबै सबै मुक्ति युद्ध र अद्वितीय बलिदानले दिएका उपहार हुन । त्यसैले यसमा गर्व लाग्छ ।
उमेर पनि धेरै कहाँ भएको छ र । कष्ठ पो धेरै भोगियो । यो देशको शान्तिसँग मेरो विरासत जोडियो । यो देशमा शान्ति जस्तै देखिएको छ । यो देशको परिवर्तनसँग मेरो विरासत जोडियो र यो परिवर्तन जस्तै देखिएको छ । जोसँग शान्ति अग्रगमन र परिवर्तनको सपना गाँसेर मैले यात्रा थाले उही शान्ति जस्तै …. परिवर्तन जस्तै…. देखिने सत्ताको नायक भएर उभिएको छ । मैले जीवनमा खुराफाती गर्न कहिल्यै सिकिन । सकिन । किनकि म थवाङसँग जोडिएको पात्र हुँ । जुनि कम्यून, जो एकताको प्रतिक हो । त्यही सन्देश बोकेर हिडेको यात्री हुँ । जीवनको डेढदशक यस्तै यस्तैमा बित्यो । हिजो जतिबेलासम्म हाम्रा अगाडि गर्विला अनुहारहरु लम्किरहेका थिए र हामी तिनका पदचापहरु पछ्याइरहेका थियौं । ती महान नायक हुन् । जसले समग्र मानव जातिको मुक्तिका खातिर जीवनको न्यौछवार गरे, ती महान नायक हुन् । कहिकतै पनि जीवनको सम्झौता गरेनन् । बरु स्वीकार गरे मृत्यु । जहिले पनि खुकुरीको धारमा हिडे र जीवनलाई समर्पण गरे मुक्ति यात्रामा । ती मन नायक हुन्, ती अठोट नायक हुन् । ती पात्र नायक हुन् । ती सोच नायक हुन् । त्यो प्रवृति नायक हो । महान हो । आज तिनै मध्ये केही पात्रहरु फेरि इतिहासतिरै फर्केका छन् । फेरि इतिहासलाई जवरजस्त पछाडि धकेल्ने प्रयत्न गर्दैछन् । जो आफ्नो गौरवपूर्ण इतिहासप्रति घृणा समेत गर्न थालेका छन् । ती सबै गद्दारहरु हुन् । प्रचण्डले युद्धकालमा इतिहासका केही पात्रहरुमाथि प्रश्न उठाउँदै कहिले निकै गाली गरे । कहिले केही पात्रहरुलाई नायक पनि भने । नेपाली कम्युनिस्ट आन्दोलन होस वा विश्व कम्युनिस्ट आन्दोलनका केही पात्रहरुलाई उनले गद्दारको संज्ञा दिए । इतिहासका ती पात्रहरुलाई गद्दारको संज्ञा दिँदै उनले आफूहरु नेपाली क्रान्तिको बाटो कुनै हालतमा पनि नछाड्ने र यहाँबाट नभाग्ने वकितम दिइरहे । तर, के उनीसँग जवाफ छ आखिर को गद्दार ? अनि को नायक ?

प्रतिक्रियाहरु