बन्दी सिविरबाट प्रदेशीलाई चिट्ठी

२०७३ जेष्ठ ९ गते, आईतवार

प्रिय मित्र विर्ख बहादुर लिम्बू,
सिमाना पारी तिमिलाई त्यहाँ सन्चै होला । मेरो त खबर बेहाल छ यहाँ । सायद तिमिले थाहा पायौ होला, म जेल भित्र छु यार, त्यो पनि ज्यानमारा मुद्दामा । मैले मान्छे मारेको छैन साथी तै पनि कानुनले मेरो हातमा हठकडी लगाएर यो चिसो छिंडीमा थुनेर राखेको छ ।
तिमी हामीले सङ्गै लडेर ल्याएको गणतान्त्रिक नेपालको कानुनले मलाई जेल हालेको छ मित्र । के यहि हबिगत भोग्नु पर्छ भनेर हामीले रगत बगाएका थियौं त ? मेरो फोक्सोमा गोलीले पीडा दिईरहेको छ । टाउकोमा लागेको बमको छर्रा उस्तै छ । पुलिसलाई म माथी गोली प्रहार गर्न आदेश दिने नेता अहिले मन्त्री भएको छ । जेल सजाय त उसलाई हुनु पर्थ्यो जो आजको दिन ल्याउन जसरी हामी कम्मर कसेर लागेका थियौं, हाम्रो विरुद्धमा उ पनि कम्मर कसेर दमनमा उत्रेको थियो । हिजो हामीलाई स्वातन्त्र रुपले दमन गर्योा, आज हामी लडेर ल्याएको गणतन्त्रमा म जेल छु । उ मन्त्री भएको छ । न्यायको आँखा छोपिएको छ मित्र यहाँ । उ स्वातन्त्र रुपमा सरकारी पजेरोमा चडेर सिंहदरबार धाइरहेको छ ।
जलजला लेकमा गोठमा बसिरहेको मेरो बुवालाई माओवादीको आरोप लगाई हत्या गरेको याद छ तिमिलाई ? गाउँको मुखियाको छोरोले सुराकी गरेको थियो होइन ? पुलिस उसैको अघि पछि लागेर गोठमा पुगेको थिएन ? यहि हो मित्र, गणतन्त्र, संघीय, धर्म निरपेक्ष, शान्ती र समृद्धि नेपाल निर्माणको अभियानमा तगारो बन्न आएका मुखियाको छोरोलाई पार्टीको योजना अनुरुप सफाय गरेको अभियोगमा १५ बर्ष अगाडीको राजनीतिक बिषयले आज मलाई गणतन्त्र नेपालको अदालतले अपराधी बनाएको छ । हामीले ल्याएको यहि ब्यबस्था भित्रको अदालतले आज मेरो यो अबस्था बनाइदिएको छ ।
हिजो नयाँ नेपाल निर्माणका लागि भनी रगत पसिना बगायौ । आज म जेल छु । तिमी प्रवासमा छौ । सङ्गै लडियो थुप्रै मोर्चाहरुमा । तिमीलाई अयोग्य बनाए । त्यसैले आज देश छोड्न बाध्य भयौ । कयौं पटक धुलो चटाएको सेनामा जब समायोजन हुने बेला भयो तब मेरो छाती नाप्न खोजियो, मित्र मेरो आत्मसम्मानले स्विकार गर्न सकेन त्यसैले स्वैच्छिक अबकाश लिएर फर्किए । मुक्तीको लागि भनि जिवनको उर्बर शक्ति युद्धमा अर्पण गरियो । बिचैमा पढाइ छोडियो । जब एक दिन रोजिरोटीको लागि कुनै बेला संगै लडेको कमरेडलाई काठमाडौ आई फोन गरेको थिएँ, म छाङ्गावाट खसेको जस्तै भए । उहाँले चिन्नु भएन । पछि फोन गर्नु होला भनेर फोन राख्नु भयो । काठमाडौ कहिलै आएको थिएन । आएको छु भन्नको लागि, एक पटक थानकोट आक्रमणमा एक पटक आएको थिएँ । त्यो बाहेक काठमाडौमा मेरो पाइला परेको होइन ।
धेरै पटक फोन गरे पछि अन्ततोगत्वा भेट्ने समय दिनु भयो । भेट भयो । सोध्नु भयो, के काम पर्यो भाई ? मनमा चोट पर्योर । हिजो कमरेड भन्न सिकाउने उही मान्छेले काठमाडौ छिरे पछि कमरेड साइनो बिर्सिनु भएछ । मैले आफ्नो अबस्था बताए । जागिरको लागि सहयोग गर्नु हुन्छ कि भनी आशा पेश गरे । अर्को झट्का पर्योआ मलाई । थाहा छ त्यो के हो ? उसले मेरो पढाई सोध्यो यार । मेरो कक्षा सोध्यो । शिक्षा सोध्यो । यो भन्दा ठूलो यातना अरु के हुन सक्छ मित्र ? म घायक भए । म दुखे । यस्तो दिन पनि आउला भनेर कहिलै सोचेको थिएन । मैले मेरो उर्वर यौवन स्मरण गरे । आज यो अबस्था पनि आउला भन्ने हेक्का पाएको भए म अध्ययनलाई जोड दिन्थे । आज कसैको पाउ समाउनु पर्ने अबस्था आउने थिएन । त्यही मसङ्ग प्रमाणपत्र खोज्ने/सोध्ने मान्छे नै थियो, जसले आजको शिक्षालाई बुर्जुवा शिक्षा भन्यो । बुर्जुवा शिक्षा अव्यबहारिक हुन्छ भन्यो, आज त्यही मान्छेले कति सजिलै सोध्न सक्यो, कति पढेलेखेका छौ ? हामी बिचैमा पढाइ रोकेर युद्धमा होमिएको बिर्सिसकेछ । तिमी पनि त पाचै कक्षा त पढेका थियौ । सुनेको थिएँ, खाडीमा कुल्ली काम गरिरहेका छौ भन्ने कुरा । यो हाम्रो अबस्था यहाँको राज्य ब्यबस्थाले कहिलै देखेन । देख्ने पनि छैन सायद ।
पहिले जस्तो छैन गाउँ अहिले । लाल इलाकाहरु प्रतिक्रान्तीमा ढले । कम्युन ढले । सहकारीहरु ढले । पहिले जनयुद्ध प्रति गाउँलेहरुको जुन भरोशा थियो, अहिले त्यो छैन । गाउँ जांड, रक्सी र जुवाको आहालमा डुबेको छ । नौ जवानहरु सबै अरब पसे तिमी जस्तै सयकडा पाँचमा ऋण निकालेर । जनयुद्धले भटकाएको पुरानो बुर्जुवा सस्कृती फेरि जुरमुराएको छ । अचेल बनपाखाहरुमा जनवादी गित बज्दैन । हिन्दी गित बज्छ । सबै भन्दा खराब कुरो त यो छ कि, काठमाडौ पसेको जिम्माल गाउँ छिरेको छ । अचेल उसको दादागिरी चलिरहेको छ गाउँमा । प्रशासन उसको हातमा चलेको छ । सयकडा पाँचमा ऋण दिन्छ । फेरि गाउँलेको लालपुर्जा खोस्न थालेको छ । थाहा छ ? त्यही मान्छेले आफ्नो छोरो मारेको आरोपमा मुद्दा हालेको थियो र उसको इसारामा चल्ने प्रशासनले मलाई गिरफ्तार गरेको थियो । मित्र, म हत्यारा होइन । म आस्थाको बन्दी हु । अहिलेको न्यायालयले मलाई जेल कोचेको छ । हिजो आफुलाई जनताको लागि लडिएको भन्ने गरिन्थ्यो ।
अब फेरि युद्ध लडिरहेको छु तर यो युद्ध आफ्नै लागि लडिरहेको छु । फेरि जुरमुराउनु पर्छ जस्तो लाग्छ मित्र । प्रदेशमा कति बस्छौ ? तिमिमा पनि आस्था मरेको छैन होला, त्यसैले पार्टीको बिदेश बिभागको मोर्चामा पनि काम गरिरहेका छौ भन्ने कुरा सुनेको थिएँ । खुसी लाग्यो । तर तिमी फर्किनु पर्छ । यहाँको जिम्मेवारी लिनु पर्छ । अधुरो कुराहरु धेरै छन् जसलाई हामीले पूरा गर्नु छ । जनताको न्याय, मुक्ती र स्वातन्त्रको लागि अब नउठी भएन । अधुरो सपना पूरा गर्नकै लागि पनि हामी उठ्नै पर्छ । यदि फेरि पनि हामी नउठ्ने हो भने सामन्तीहरुले गाउँ फेरि कब्जा गर्ने छन । जनताको मुक्तीको लागि ज्यानको माया मारी लडेका योद्धाहरुलाई छानी छानी जेल पठाइने छ जसरी म पठाइएको छु ।
कति थुन्न सक्छ थुन्छ । मेरो हातमा हट्कडी कसे पनि मेरो आस्थालाई लगाम लाउन सक्ने छैन । कालो कोठरीमा बन्दी बनाए पनि मेरो बिचारलाई रोक्न सक्ने छैन । मेरो भौतिक शरिरलाई यातना दिएर ठिलोठिलो पारे पनि मेरो चेतनालाई कुल्चिन सक्ने छैन । म आशामा बाचिरहेको छु । एकदिन यो अँध्यारो कोठावाट म बाहिर निस्किने छु र अहिलेको बुर्जुवा अदालतको विरुद्धमा आफ्नै जनअदालत खडा गर्ने छु र न्यायाधीशको जस्तै कुर्चीमा बसेर फेरि सामन्त, दलाल, नोकरशाहीहरुको विपक्षमा फैसला गर्ने छु । म बन्दी सिविर भित्र छु तै पनि गलेको छैन । थाकेको छैन । मेरो प्रिय मित्र कति बस्छौ प्रदेशमा ? एक पटक आफ्नो मातृभुमीलाई फर्केर हेर जहाँ तिम्रो खाचो छ । तिम्रो हिम्मतको जरुरत छ । जन्जिरले बाधिएको नेपाल आमालाई मुक्त गर्न तिमी जस्तै बहादुर छोराको आबस्यक्ता छ । के तिमी फर्केर आउछौ ? खुल्ला आकाशमा परेड खेल्न आउछौ ? अबस्य आउने छौ । इतिहासले फेरि एक पटक तिम्रो माग गरिरहेको छ । तिमी पक्कै आउने छौ । मलाई आशा छ । तिमी आउने छौ । यहि आशाका साथ अर्को पत्रमा भेट्ने वाचा गर्दै कलम बन्द गर्दछु ।
उहीँ तिम्रो साथी,
पृथीछक बुढा
केन्द्रिय कारागार, काठमाडौ नेपाल ।

प्रतिक्रियाहरु