कोस्टा रिकामा ज्वालामुखी विष्फोट

२०७३ जेष्ठ ८ गते, शनिबार

काठमाडौं, ८ जेठ । मध्य अमेरिकी मुलुक कोस्टा रिकामा ज्वालामुखी विष्फोट हुँदा ३ हजार मिटरको उचाईसम्म धुँवा र खरानी निस्कन थालेको छ । यसका कारण सयौ नागरिक अस्पताल जान बाध्य भएका छन् । उनीहरुलाई स्वास लिन समस्या भएको बताइएको छ। साथै खरानीका कारण छालासम्बन्धी समस्यासमेत देखिएको छ। ज्वालामुखी विष्फोटका कारण विद्यालयहरुसमेत बन्द गराइएको छ।
कोस्टा रिकामा आउने केही हवाई उडान रोकिएको छ । कतिपयको मार्ग परिवर्तन गरिएको अधिकारीहरुले बताएका छन्। तुरियाल्बा ज्वालामुखीदेखि करिब ४५ किलोमिटर दूरीमा राजधानी सैन जोसबासीका अनुसार घर र कारमा समेत खरानी थुप्रिएको छ। कोस्टा रिकाको राष्ट्रिय विपद आयोगले फोक्सो र छालाको सुरक्षाका लागि सर्वसाधारणलाई मास्क र चुस्त कपडा लगाउन सुझाव दिएको छ। ज्वालामुखी विशेषज्ञ गोंजालेजले भने–गत ६ वर्षमा यो सबैभन्दा ठुलो विष्फोट थियो । कोस्टा रिकामा एक दर्जन ज्वालामुखी छन् । तर अधिकांश सुसुप्त अवस्थामा छन् । – एजेन्सी

प्रतिक्रियाहरु