‘बेपत्ताहरु पत्ता लगाउने काम संघर्षले मात्र गर्छ’

२०७३ जेष्ठ ७ गते, शुक्रबार

काठमाडौं । नेकपा माओवादीका नेता सन्तोष बुढामगरले राज्यद्वारा बेपत्ता नागरिकको खोजी संघर्षले मात्र गर्न सक्ने बताएका छन् । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता सन्तोषले जनयुद्धकालमा राज्यबाट पक्राउ गरी बेपत्ता पारिएका योद्धाहरु पत्ता लगाउन नै निम्ति एकीकृत जनक्रान्तिको जन्म भएको बताए । ‘आन्दोलनले मात्र बेपत्ता योद्धाहरुको खोजी गर्न सक्छ, यसको विकल्प छैन’ उनको भनाई थियो । एकीकृत जनक्रान्तिमा सहभागी भएर मात्र बेपत्ता योद्धाहरुको सत्यतथ्य अवस्था पत्ता लागउने नेता सन्तोषले बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले सम्पूर्ण बेपत्ता नागरिकको खोजी गर्न आयोगको तर्फबाट सक्दो प्रयास भइरहेको बताए । तर आयोगका कर्मचारीबाट असहयोग भइरहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा बेपत्ता छानबिन आयोगका सदस्य मानबहादुर खड्काले पीडितहरुले बेपत्ताहरुको खोजबिन तथा छानबिन कार्यमा दबाब दिनुपर्ने बताए । पीडितहरुको तर्फ राज्यमाथि ठूलै दबाबको आवश्यकता छ । छानबिन आयोगमै आएर दबाब दिए सरकारलाई प्रेसर पर्छ’ उनले भने ।
त्यस्तै अधिवक्ता एकराज भण्डारीले राज्यले छोरा विपिन भण्डारीको बेपत्ता पारेको डेढ दशक बितिसक्दा पनि यथार्त अवस्थाबारे राज्यले जानकारी दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे । ‘छोरालाई राज्य गायब पारेको ढेड दशक पुग्न लाग्यो, केही पत्तो छैन, कस्तो अवस्थामा छन् ? राज्यले जानकारी तुरुन्त दिनुपर्यो’ भण्डारीले आक्रोशित हुँदै भने । बेपत्ता नागरिकको खोजी गरिदिनु मानव अधिकार अयोग र सम्वद्ध संगठनहरुसँग उनले माग गरे ।
उनले द्वन्द्वकालीन मुद्दालाई राजनीतिक तरिकाबाट हल गर्नुपर्ने बताए ।
कार्यक्रम २०५६ साल जेठ ७ गते तत्कालीन माओवादी नेता दण्डपाणि न्यौपाने, मिलन नेपाली, विद्यार्थी नेता विपिन भण्डारीलाई तत्कालीन सरकारले राजधानीबाट पक्राउ गरी बेपत्ता पारिएको थियो । सोही दिनको स्मरणस्वरुप जेठ ७ गतेलाई बेपत्ता स्मृति दिनको रुपमा सम्झिँदै आइरहेका छन् । न्यौपाने, नेपाली, भण्डारीलगायत त्यो दिन पक्राऊ गरिएका दर्जन राजनीतिकर्मीहरु अझै बेपत्ता अवस्थामा छन् ।
त्यस्तै नेपाली कांग्रेस नेतृ पुष्पा भुसालले बेपत्ता खोजी गर्न बनेको अहिलेको कानून फितलो रहेको बताइन् । अन्तरिमकालको भन्दा अहिलेको कानून निकै फितलो छ, यसले सत्यतथ्य पत्ता लगाउँछ जस्तो मलाई लाग्दैन’ भुसालले भनिन् । बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन आफू लागिरहेको बताइन् ।
मानवधिकार चरण प्रसाईँले नेपालमा मानवअधिकार राज्य पक्षबाट धेर भएको बताएका छन् । तत्कालीन विद्रोहीभन्दा राज्य पक्षबाट धेर मानव अधिकार हनन भएको पाइएको उनको भनाई छ । सोही कारण बेपत्ताहरुको खोजी गर्न सरकारले तदरुकता नदेखाएको आरोप लगाउँदै राज्यले चाहेमा बेपत्ताहरुको अवस्था पत्ता लगाउन कठिन नहुने प्रसाईको भनाई छ ।
राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालका अध्यक्ष अशोक रोकायले बेपत्ता आफन्तहरुको अवस्था पत्ता नलागेसम्म आन्दोलन जारी रहने कार्यक्रममा बताए । कार्यक्रममा बेपत्ताहरुको आफन्तहरुको सहभागी रहेको थियो ।

प्रतिक्रियाहरु